Connect with us

SOCIAL

‘नेवाः संस्कार र चिकित्सा ज्योतिष’ विमोचित

Avatar

Published

on

ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थद्वारा लिखित पुस्तक ‘नेवाः संस्कार र ज्योतिष चिकित्सा’ विमोचन गरिँदै । तस्बिर : इन डेप्थ

भक्तपुर । ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थद्वारा लिखित ‘नेवाः संस्कार र चिकित्सा ज्योतिष’ पुस्तक सार्वजनिक गरिएको छ । ज्योतिष पेसा सँगैसँगै लेखन कार्यलाई निरन्तरता दिँदै आएका डा. कायस्थको यो आठौं कृति हो ।
उक्त कृतिको एक समारोहबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलगायतले विमोचन गरेका छन् ।
अध्यक्ष बिजुक्छेले ज्योतिषशास्त्रलाई विज्ञान नमान्दा धेरैमा यसबारे अन्धविश्वास भएको उल्लेख गरे ।
ज्योतिषशास्त्र नेपालका विश्वविद्यालय तथा विद्यालयको उपेक्षामा परेको समेत उनले बताए ।
‘ज्योतिषशास्त्र गणित, नक्षत्र र अनुभवमा आधारित विषय हो’, अध्यक्ष बिजुक्छेले भने, ‘त्यसैले ज्योतिषशास्त्रलाई विद्यालय र विश्वविद्यालयको पाठ्यपुस्तकमा समेट्नुपर्छ ।’
ज्योतिषशास्त्र विषय चाखलाग्दोसमेत रहेकाले विद्यार्थीहरु पढ्न उत्साहित हुने उनले विश्वास व्यक्त गरे ।
उनले ज्योतिषशास्त्रसँगै खगोलशास्त्रसम्बन्धी पढाइलाई पनि हाम्रो विश्वविद्यालयहरुले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
अध्यक्ष बिजुक्छेले नेपालका धेरै विषयमा जान्न, बुझ्न विदेशी भाषाको पुस्तकको सहारा लिनुपर्ने अवस्था हुनु दुर्भाग्य भएको स्पष्ट पारे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले कला–संस्कृति, धर्म–संस्कार र साहित्यले नै नेपालको उन्नयन गर्न सकिने बताए ।
उनले नेपाल र नेपाली आफ्नै धर्तीमा भएका धेरै कुराबारे बेखबर रहेको दृष्टान्त सुनाए ।
बागमती प्रदेशकी सांसद सृजना सैंजूले पुस्तकमा नेवाः संस्कारलाई चिकित्सा विज्ञानसँग जोडेर व्याख्या गरिएको बताइन् ।
फलित ज्योतिषको ज्योतिष र रोग विषयमा विद्यावारिधि गरेका लेखक कायस्थले विविध शास्त्रहरुको अध्ययन गरी चिकित्सा ज्योतिषलाई नेवाः संस्कारसँग जोडेर पुस्तक लेखेको सुनाए ।
लेखक कायस्थका यसअघि ज्योतिषशास्त्रसम्बन्धी नै ‘नवग्रह र ज्योतिष’, ‘ज्योतिष र रोग’ तथा ‘मल्लकालीन संवत र ज्योतिष विज्ञान’ भन्ने पुस्तक प्रकाशित भइसकेका छन् । त्यस्तै उनका ‘दुर्गापूजा विधि’, ‘लक्ष्मीपूजा विधि’, ‘देवी स्त्रोत्रमाला’ र ‘कवच मन्त्र’ पुस्तक पनि बजारमा उपलब्ध छन् ।
लेखक कायस्थले ‘तन्त्रयोग र ज्योतिष’ तथा ‘वास्तु विज्ञान र ज्योतिष’ भन्ने पुस्तक प्रकाशनको निम्ति तयारी रहेको जानकारी दिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!