Connect with us

SOCIAL

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

Avatar

Published

on

Web Picture

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका १० चित्तपोलस्थित भित्री सडक खण्डमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा शनिबार एक महिलाको मृत्यु भएको छ ।
मृतक महिला छोराले चलाएको मोटरसाइकलको पछाडि बसेकी थिइन् । मोटरसाइकल चालक भने सकुशल रहेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार टिपरको ठक्करले सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका ११ घर भई हाल काठमाडौं हात्तीगौडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्कीको मृत्यु भएको हो ।
टिपरको ठक्करले घाइते भएका उनलाई उपचारको लागि भक्तपुर अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकल चालक मृतकका छोरा ३४ वर्षीय प्रकाश कार्कीलाई भने केही भएको छैन ।
अरनिको राजमार्गबाट भित्री सडक नलिन्चोक हुँदै चित्तपोलतर्फ जाँदै गरेको बा ४ ख ९८१० नम्बरको खाली टिपरले विपरीत दिशाबाट आउँदै गरेको मे ८ प ८३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनाबारे जानकारी भएलगत्तै नलिञ्चोकमा रहेको प्रहरी सहायक निरीक्षक रवीन्द्र थापाको कमाण्डको सीआरभी टोली दुर्घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
उनका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते कार्कीलाई सीआरभी टोलीले तत्काल उद्धार गरी भक्तपुर अस्पताल पु-याएको थियो ।
घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीसमेत खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरेको थियो ।
प्रहरीले टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ बस्ने २३ वर्षीय सुनिल तामाङलाई नियन्त्रणमा लिएको छ । चालकसँगै दुइटै सवारीसाधन जगाती वृत्तमा राखिएका छन् ।
घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!