Connect with us

SOCIAL

मध्यपुर थिमि नपा २ कै महत्वाकांक्षी योजना सुरु

Avatar

Published

on

मध्यपुर थिमि नपा २ मा ढल निर्माण तथा सडक स्तरोन्नतिको उद्घाटन कार्यक्रमका सहभागी । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. २ को महत्वाकांक्षी योजना अघि बढेको छ । वडाकै सबैभन्दा ठूलो ढल व्यवस्थापनसम्बन्धी योजना अघि बढेको हो ।
वडा कार्यालयबाट पुरानो नालान्द स्कूल जाने बाटोको स्तरोन्नति र ढल निर्माण कार्य अघि बढेको वडा अध्यक्ष राम थापामगरले जानकारी दिए ।
उनका अनुसार उक्त योजनाको लागि ४९ लाख ९९ हजार ७ सय २१ रुपैयाँको लगत इस्टिमेट गरिएको छ । जसमध्ये ३९ लाख ९९ हजार ७ सय ७७ रुपैयाँ नगरपालिकाले व्यहोर्ने उनी बताउँछन् ।
उनक अनुसार स्थानीय उपभोक्ताहरुले भने ९ लाख ९९ हजार ९ सय ४४ रुपैयाँको योगदान गर्नुपर्ने छ ।
नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर नआउँदै उक्त योजना अघि बढाउन खोजिएको थियो । जसअनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणले बजेट विनियोजनसमेत गरेको वडा अध्यक्ष थापामगर बताउँछन् ।
तर बाटो खोल्ने तथा सीमाङ्कनमै विवाद भएपछि काम पूरा हुन नसकेको उनको भनाइ थियो ।
‘काठमाडौं उपत्यका विकास प्राधिकरणले बजेट विनियोजन गरे पनि काम गर्न सकेन’, उनले भने, ‘बाटो खोल्ने तथा सीमाङ्कनमै स्थानीयबीच विवाद भयो । केही काम हुन सकेन ।’
तर अहिले सबै स्थानीयको सहमति लिएर बाटो खोल्ने तथा ढल हाल्ने कार्य अघि बढेको उनले स्पष्ट पारे ।
‘करिब ५ सय मिटर बाटोमा ढल हालेसँगै सडक स्तरोन्नति गरेर कालोपत्रे गर्नेसम्मको योजना रहेको छ’, वडा अध्यक्ष थापामगरले भने ।
सोमबार एक कार्यक्रमबीच उक्त सडक स्तरोन्नति तथा ढल राख्ने कार्यको सुभारम्भ गरिएको थियो । उक्त कार्यको उद्घाटन नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिका पूर्वसभापति एवं मध्यपुर थिमि नपाका मेयर उम्मेदवार अष्टकुमार कवे र मध्यपुर थिमि नपाकी उपमेयर अञ्जनादेवी मधिकर्मीले संयुक्त रुपमा गरेका थिए ।
उक्त अवसरमा उनीहरुले विकास निर्माणमा स्थानीयले अवरोध गर्नेभन्दा सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याए । स्थानीयलाई असुविधा हुने भए सुविधायुक्त बनाएर विकास निर्माणका योजना अघि बढाउनुपर्ने उनीहरुको धारणा थियो ।
उक्त क्षेत्रमा निरन्तर बस्ती विस्तार भइरहेको छ । नयाँ वस्ती विस्तारसँगै स्थानीयलाई मुख्य सडकसम्मको पहुँचमा समस्या भएको पीडितहरु वडावासीहरुले गुनासो पोखे ।
वस्तीमा घर बढेसँगै ढल निकास नहुँदा बस्ती डुबानमा पर्ने तथा फोहर पानी व्यवस्थापनमा समस्या रहेको उनीहरुको भनाइ थियो । तर ढल निर्माण तथा सडकको स्तरोन्नतिले आफूहरुको समस्या समाधान हुने उनीहरुले विश्वास व्यक्त गरे ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!