Connect with us

SOCIAL

भक्तपुरको तलेजुमा बलिसहितको पूजा पुनः सुरु

Avatar

Published

on

भक्तपुर दरबार क्षेत्रस्थित तलेजु आगमछेंभित्र रहेको विश्वरुपको मन्दिर । तस्बिर : इन डेप्थ

भक्तपुर । कोरोना भाइरस संक्रमण तथा व्यवस्थापन गर्न भनी भक्तपुर तलेजु आगमछेंभित्र रोकिएको बलिसहितको पूजा श्रीपञ्चमीदेखि पुनः सुरु भएको छ ।
श्रीपञ्चमीको दिन ७ वटा बोका, एउटा राँगो र एउटा भाले हाँसको बलिसहितको थापूजा सम्पन्न भएको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
उनका अनुसार कोरोना भाइरस संक्रमणका कारण रोकिएको बलिसहितको पूजा श्रीपञ्चमीको दिन पहिलोपटक गरिएको हो । तलेजुभित्र वर्षभरिमा ३० वटा थापूजा सम्पन्न गरिन्छ । यी ३० वटै थापूजामा बलि अनिवार्य छ तर गएको चैतदेखि माघसम्म भएका था पूजामा बलि दिइएन ।
‘कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न भनी अघिल्लो चैतदेखि तलेजु आगमछेंभित्र हुने सम्पूर्ण पूजा औपचारिकतामा मात्रै सीमित गर्दै आएका थियौं’, मूल नाइके जोशीले भने, ‘श्रीपञ्चमीमा पहिलोपटक बलिसहितको थापूजा भएको छ । अब तलेजुभित्र बलि अनिवार्य भएका थापूजामा नियमित बलि दिइने भएको छ ।’
कोरोना भाइरस संक्रमणको कारण भक्तपुर तलेजु आगमछेंमा बिस्काजात्रा, चैते दसैं र बडादसैंमा समेत बलिरहित पूजा सम्पन्न गरिएको थियो । मूल नाइके जोशीका अनुसार भक्तपुर आगमछेंमा दसैंअवधिभर ५४ बोका, ३२ राँगो र ३२ वटा हाँसको बलि दिइने परम्परा रहँदै आएको छ । तलेजुमा विशेष गरेर दसैंको सप्तमी, अष्टमी र नवमी गरी तीन दिन उक्त बलिसहितको पूजा गरिन्छ ।
कोरोना भाइरस संक्रमणका कारण बिस्का जात्रा र दसैंबीचका एकदर्जन थापूजासमेत विनाबलि सम्पन्न गरिएको थियो ।
थापूजाका तलेजु आगमछेंका राजोपाध्याय, जोशी र कर्माचार्यतर्फका पुजारी नाइकेहरु सहभागी हुन्छन् । त्यस्तै तलेजुका रकमीहरुमध्ये सुवाल, दथेपुथे, राजभण्डारी, मुनंकर्मी, शाही तथा खड्गीसँगै नकींहरु थापूजामा सहभागी हुन्छन् ।

२ वटा थापूजा लोप हुँदै

मूल नाइके जोशीका अनुसार ३० वटा थापूजामध्ये तलेजु बाहिरको निजी गुठीको तर्फबाट हुने दुइटा थापूजा लोप हुने अवस्थामा पुगेका छन् । यी दुई थापूजा २०४० सालपछि पुनः हुन सकेको छैन ।
तलेजुलाई आफ्नो आगमछें मान्ने निजी गुठीको तर्फबाट यी थापूजा हुने परम्परा रहेको छ । सर्वसाधारणको निजी गुठीमा विवाद हुँदा यी थापूजा रोकिएको मूल नाइके जोशी बताउँछन् ।
उनले रोकिएका दुइटा थापूजा पुनः सुचारु गर्न भक्तपुर तलेजुको तर्फबाट पहल भने भइरहेको जानकारी दिए ।
‘रोकिएका दुइटा थापूजा पनि पुनः सुचारु गर्न पहल गरिरहेका छौं’, मूल नाइके जोशीले भने, ‘सर्वसाधारणको निजी गुठीले रोकिएको थापूजा पुनः सुरु गर्न चासो व्यक्त गरेका छन् ।’
उनले तलेजुका रकमीहरुको आयस्ता घट्दै गएसँगै अरु थापूजासमेत कुनै पनि बेला रोकिनसक्ने सम्भावना बढेको सुनाए ।
रकर्मीहरुले ३०-४० वर्षदेखि गुठी संस्थानबाट पाउने रकम तथा आयस्ता नबढेको तर पूजा खर्च भने निरन्तर बढ्दा पूजा नै सञ्चालन गर्न नसकिने अवस्था आएको गुनासो गरे । त्यसैले बजारमा मूल्यवृद्धि भएसँगै गुठी संस्थानले पनि आफूहरुलाई उचित रकम तथा आयस्ताको व्यवस्था गरिदिनुपर्ने उनीहरुको माग रहेको छ ।
काम र समयअनुसारको ज्याला वा तलबको व्यवस्था भए तलेजुभित्रका सम्पूर्ण नित्यपूजा तथा थापूजाले निरन्तरता पाउने उनीहरुको जिकिर रहेको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!