Connect with us

SOCIAL

निर्माण सुरु भएको ४ महिनापछि भक्तपुर अदालतको भवनको जग शिलान्यास

Avatar

Published

on

भक्तपुर जिल्ला अदालतको नयाँ भवनको जग शिलान्यासको ताम्रपत्र अनावरण गर्दै सर्वोच्चका न्यायाधीश मीरा खड्का । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । निर्माण कार्य सुरु भएको करिब ४ महिनापछि बिहीबार बल्ल भक्तपुर जिल्ला अदालतको नयाँ भवनको शिलान्यास गरिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काले बिहीबार एक कार्यक्रमबीच भक्तपुर जिल्ला अदालतको आधुनिक भवनको शिलान्यास गरेकी हुन् ।
भवन निर्माण ठेक्का केसी–शर्मा–समानान्तर जेभीले हात पारेको हो । जसको ठेक्का रकम भ्याटसहित एक अर्ब ३६ करोड ६७ लाख ९० हजार ४ सय ८२ रुपैयाँ रहेको छ । गएको असोज ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले असोजकै १९ गतेदेखि अदालत भवन निर्माण सुरु गरेको थियो । सम्झौताअनुसार २ वर्ष अर्थात २०७९ साल असोज १५ गतेभित्र भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।
हालसम्म १३.५ प्रतिशत भौतिक निर्माण प्रगति भएको कन्सल्टेन्ट इञ्जिनियर प्रकाश ढुंगानाले जानकारी दिए ।
जसअनुसार भवनको जगको आधार ढलान सम्पन्न भइसकेको छ । भवनमा हुने ४ वटा लिफ्टमध्ये प्रमुख लिफ्टको लागि खनिएको खाल्डोमै न्यायाधीश खड्काले बिहीबार जग शिलान्यास गरेकी छन् ।
त्यस्तै घर तथा भवनको जग शिलान्यास गर्दा काँचो इँटाको प्रयोग गरिन्छ तर बिहीबार न्यायाधीश खड्काले जग शिलान्यास गर्दा पाकेको चाइनिज इँटाको प्रयोग भएको छ ।
उनले जग शिलान्याससँगै भवन निर्माणसम्बन्धी ताम्रपत्रसमेत अनावरण गरिन् ।
कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरुको मन्तव्य राख्ने व्यवस्था थिएन । जसअनुसार कन्सल्टेन्ट इञ्जिनियर ढुंगानाले भवनको प्राविधिक पक्षबारे जानकारी दिए । भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश गोपालप्रसाद बाँस्तोलाले धन्यवाद ज्ञापन गर्दै सम्झौताअनुसार २ वर्षमै अदालतले नयाँ भवन पाउने विश्वास व्यक्त गरे ।
उनले भक्तपुर दरबार क्षेत्रस्थित साँघुरो भवनबाट कठिन सेवा दिँदै आएका आफूहरुलाई बन्दै गरेको नयाँ भवनले उत्साहित बनाएको बताए ।
‘अहिले भक्तपुर दरबार क्षेत्रस्थित साँघुरो भवनबाट कठिन सेवा दिँदै आएका छौं’, मुख्य न्यायाधीश बाँस्तोलाले भने, ‘त्यसैले बन्दै गरेको नयाँ भवनले हामीलाई उत्साहित बनाएको छ । अबको दुई वर्षभित्रै नयाँ भवनबाट सेवा प्रवाह गर्न पाउने आशामा छौं ।’
उनले अहिलेसम्म भौतिक प्रगति लक्ष्यभन्दा बढी रहेको सुनाए ।

भक्तपुर नगरपालिकाले वडा नं. ९ मा सञ्चालन गरेको तुमचो दुगुरे चोखा जग्गा एकीकरण आयोजनाभित्रको ६ रोपनी १४ आना जग्गाभित्र जिल्ला अदालतको भवन निर्माण भइरहेको हो । उक्त भवनमा ४ वटा लिफ्ट र दुई वटा -यामको व्यवस्था हुनेछ । कूल सात तल्ला हुने भवनको सुरुको अन्डरग्राउन्ड दुई तलामा पार्किङको व्यवस्था हुनेछ । पहिलो तलामा सर्वसाधारण सेवाग्राहीको लागि ५० वटा कार र ८० वटा मोटरसाइकल तथा दोस्रो तलामा न्यायाधीश तथा कर्मचारीहरुको लागि १५ वटा कार र २४ वटा मोटरसाइकल पार्किङ गर्न सकिने कन्सल्टेन्ट इञ्जिनियर ढुंगानाले जानकारी दिए ।
‘भवनमा कूल २ सय ४२ वटा कोठा हुनेछन् । जसमा १४ वटा इजलास हुनेछन्’, उनले थपे, ‘७० जना क्षमताको तालिम कक्ष र २ सय ५० जना क्षमताका हलसमेत उक्त भवनभित्रै हुनेछ ।’
भवनसँगै २ सय जना क्षमताको क्यान्टिनसमेत बन्ने इञ्जिनियर ढुंगानाले बताए ।

भक्तपुर दरबार क्षेत्रस्थित पुरानो भवन साँघुरो भएपछि अदालतले तुमचो दुगुरे चोखा जग्गा एकीकरण आयोजनाभित्रको करिब ११ रोपनी क्षेत्रफलको दुई कित्ता जग्गा खरिद गरेको थियो ।
सोही जग्गामा अहिले पहिलो चरणमा जिल्ला अदालतको आधुनिक भवन निर्माण भइरहेको हो । पहिलो चरणमा अदालतको मुख्य भवन र दोस्रो चरणमा अदालतका न्यायाधीशलगायतको लागि क्वार्टर निर्माण हुने भक्तपुर अदालतले जनाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!