Connect with us

SOCIAL

सडक बत्ती जोड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

Published

on

प्रतीकात्मक तस्बिर

भक्तपुर । जिल्लाको भक्तपुर नगरपालिका २ इटापाकोमा सडक बत्ती जडान गर्ने क्रममा एक्कासी करेन्ट लाग्दा मंगलबार एकजना मजदुरको ज्यान गएको छ । थप एक मजदुर गम्भीर घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दोलखाको मेलुङ गाउँपालिका ५ घर भई हाल भक्तपुर नपा २ व्यासी बस्ने २३ वर्षीय रामकुमार बुढाथोकीको घटनास्थलमै मृत्यु भएको थियो । सिन्धुलीको कमलामाई नगरपालिका ११ घर भई काठमाडौंको बल्खुमा बस्ने २७ वर्षीय विक्रम मोक्तान भने गम्भीर घाइते भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
मजदुरहरुले भक्तपुर नपाले ठेक्का दिएको सडक बत्ती जडान गर्ने कार्य गर्दै आएका थिए ।
उनका अनुसार मृतक बुढाथोकी करेन्ट लागेर खम्बामै अड्किएका थिए । मोक्तान भने करेन्ट लागेर सडकमा पछारिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
उनका अनुसार गम्भीर घाइते मोक्तानलाई थप उपचारको लागि कीर्तिपुर अस्पताल काठमाडौं पठाइएको छ ।
मंगलबार दिउँसो घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली बिजुलीको लाइन काट्न लगाई एम्बुलेन्ससहित घटनास्थलमा पुगेको भक्तपुर प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक गिरीले मजदुरहरुले सडकबत्ती जडान गर्न नेपाल विद्युत प्राधिकरणको सिमेन्टको खम्बामा अर्को धातुको खम्बा जडान गर्ने क्रममा अचानक नांगो तारमा छुन पुग्दा घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जानकारी दिए ।
काठमाडौंंको सानो भ-याङस्थित टप्सन इनर्जी प्रालिले सडक बत्ती जडान गर्ने भक्तपुर नपाको ठेक्का पारेको थियो । टप्सन इनर्जीबाटै खटिएका मजदुरहरु मंगलबार उक्त घटनामा परेको प्रहरीले जनाएको छ ।

कुनै जानकारी छैन : भक्तपुर केन्द्र

नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रले भने आफ्नो मातहतको खम्बामा भक्तपुर नपाले सडक बत्ती जडान गर्दै गरेकोबारे कुनै जानकारी नभएको बताएको छ ।
केन्द्रसँग स्वीकृति लिनुपथ्र्यो तर भक्तपुर नपाले केन्द्रसँग समन्वयसम्म नगर्दा उक्त दुःखद घटना भएको केन्द्रले जनाएको छ ।
‘हामीलाई जानकारी नै नदिइकन भक्तपुर नपाले एकलौटी ढंगले कार्य ग¥यो’, केन्द्र स्रोतले भन्यो, ‘हामीसँग समन्वय गरेको भए यो दुःखद घटना हुने थिएन ।’
उसले सडक बत्ती जडान गर्न प्रसारण लाइन भएको त्यत्रो माथिसम्म पुग्नुपर्ने आवश्यकतै नभएकोसमेत बतायो ।
‘मजदुरहरुमा आत्मविश्वास थियो कुन्नि प्रसारण लाइनसम्मै पुगेर सडक बत्ती हाल्नै पर्ने थिएन’, केन्द्र स्रोतले थप्यो, ‘घटना हेर्दा काममा लापरवाही भएको देखियो ।’

४ सय ५० वटा सडक बत्ती जडान हुने

भक्तपुर नपाले आफ्नो नगर क्षेत्रमा ४ सय ५० वटा सडक बत्ती जडान गर्ने योजना अघि सारेको छ । सोही योजनाअनुसार टप्सन इनर्जीले करिब एक करोड ३ लाख रुपैयाँमा ठेक्का पाएको हो ।
ठेक्काअनुसार पहिलो चरणको काम हुँदै गर्दा मंगलबार उक्त घटना भएको छ । सम्झौताअनुसार भक्तपुर नपा १ सल्लाघारी हनुमन्ते खोला पुलदेखि सल्लाघारी पुरानो बाटो चोक हुँदै इटापाको, हाकुफल्चा, व्यासी, महाकाली, देकोचा, कमलविनायक, च्याम्हासिंह, जगाती, आदर्श, कालाँचा हुँदै भुलान्चासम्म सडक बत्ती जडान हुनेछ ।
त्यस्तै सल्लाघारी च्वङ्गा गणेशदेखि सैनिक आवासीय महाविद्यालय, दूधपाटी, इताछें हुँदै दरबार क्षेत्रस्थित खौमा ध्वाकासम्म सडक बत्ती जडान हुने सम्झौतामा उल्लेख छ ।
उक्त सम्झौताअनुसार भक्तपुर नपा २ व्यासीस्थित नपा कार्यालयदेखि भक्तपुर दरबार क्षेत्रस्थित जिल्ला प्रशासन कार्यालयसम्म सडक बत्ती जडान हुनेछ ।

४ सय खम्बा प्राधिकरणकै प्रयोग हुने

एलईडी बत्ती बल्ने उक्त सडक बत्ती बाल्न विद्युत प्राधिकरणको मात्रै ४ सयभन्दा बढी खम्बा प्रयोग हुने नपा स्रोतले जानकारी दिएको छ ।
‘जडान हुने ४ सय ५० सडक बत्तीमध्ये करिब ४ सय वटा खम्बा नेपाल विद्युत प्राधिकरणको प्रयोग हुनेछ’, स्रोतले भन्यो, ‘बाँकी करिब ५० वटा खम्बामात्रै नपाले आफ्नै खर्चमा व्यवस्था गर्नेछ ।’
४ सय ५० वटा सडक बत्ती जडान गरिँदा मासिक ५० केभीए विद्युत खपत हुने बताइएको छ । जसको शुल्कमात्रै एकलाखभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।
भक्तपुर नपाले ४ सय ५० वटा सडक बत्ती बाल्न १२ वटा सर्किटको प्रयोग गर्ने र १२ वटै ठाउँबाट ती सडक बत्तीको नियन्त्रण हुने व्यवस्था गरिएको छ ।
नपाले सडक बत्तीको लागि आवश्यक मिटरको व्यवस्था गर्न भने नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रसँग कुरा गरेको बुझिएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!