Connect with us

SOCIAL

कहीं नभएको जात्रा मध्यपुर थिमि नपामा !

Published

on

सामाजिक सुरक्षाभत्ता माग गर्दै बुधबार मध्यपुर थिमि नपा घेराउ गर्दै ज्येष्ठ नागरिक । तस्बिरहरु : इन डेप्थ

सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिक धर्नामा

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा यहाँका ज्येष्ठ नागरिकहरुले घेराउ गर्दै धर्ना दिएका छन् । दसैंअघि नै दिनुपर्ने सामाजिक सुरक्षाभत्ता तिहार र छठ पर्व सकिँदा पनि नपाएको भन्दै उनीहरुले बुधबार नगरपालिका कार्यालय घेराउ गर्दै धर्नामा बसेका हुन् ।
अग्रज समाज नेपालको पहलमा ज्येष्ठ नागरिकहरुले नगरपालिका कार्यालय घेरेका छन् । उक्त अवसरमा उनीहरुले छिटोभन्दा छिटो आफूहरुलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउन माग गरेका छन् ।
नपाले सामाजिक सुरक्षाभत्ता उपलब्ध नगराएसम्म संघर्षका कार्यक्रम जारी रहने समाजका अध्यक्ष महाप्रसाद पराजुलीले चेतावनी दिए ।
उनले बिहीबार पनि नगरपालिका घेराउ जारी रहने सुनाए ।
बिहीबारको लागि ज्येष्ठ नागरिकहरुले टाउकोमा कात्रो बाँधेर एकोहोरो शंख फुक्ने कार्यक्रम तय गरिएको उनको भनाइ थियो ।
देशभरका नगरपालिका र गाउँपालिकाले दसैंअगावै सामाजिक सुरक्षाभत्ता वितरण गरे पनि मध्यपुर थिमि नपाले अहिलेसम्म भत्ता वितरण गर्न सकेको छैन । नपाले आफ्नो क्षेत्रका ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगता भएकाहरुलाई चालू आर्थिक वर्षको साउनदेखिको सामाजिक सुरक्षाभत्ता वितरण गरेको छैन ।
नपाका मेयर मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालबीचको विवादले गर्दा ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिहरु सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका हुन् ।
नपाले चालू आर्थिक वर्षको चौमासिक भत्तावापत करिब ३ करोड रुपैयाँ वितरण गर्न बाँकी छ ।


ज्येष्ठ नागरिकहरुले नपा घेराउ गर्नुअघि नगर प्रमुखलगायतलाई भेटेर छिटोभन्दा छिटो भत्ता उपलब्ध गराउन ध्यानाकर्षण गरेका थिए । ध्यानाकर्षणसँगै गएको शनिबार संघर्षका कार्यक्रम तय गर्न ज्येष्ठ नागरिकहरुको भेला आयोजना गरिएको थियो ।
उक्त भेला भएकै बेला मेयर श्रेष्ठले प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठमार्फत सोमबारसम्म भाखा मागेका थिए । मेयर श्रेष्ठले सोमबारभित्र नपामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने र त्यसलत्तगै सामाजिक सुरक्षाभत्ता वितरण थाल्ने वचन दिएका थिए ।
मेयरले २ दिनको भाखा मागेकामा ज्येष्ठ नागरिकहरुले एकदिन थपेर मंगलबारसम्म समय दिएको समाजका अध्यक्ष पराजुलीले जानकारी दिए । भेलाले मंगलबारसम्म नपामा नयाँ प्रमुख प्रशासकीय अधिकृत नआए बुधबारदेखि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको र सोही आधारमा बुधबार नपा घेराउ गरिएको उनले बताए ।
उनले ज्येष्ठ नागरिकहरुको संविधानप्रदत्त अधिकार हनन गर्ने अधिकार जनप्रतिनिधि र कर्मचारीहरुलाई नभएको भन्दै आवश्यक परे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!