Connect with us

SOCIAL

बसभित्र सामूहिक बलात्कार घटनामा नयाँ ‘ट्विस्ट’

Avatar

Published

on

महानगरीय प्रहरी परिसर भक्तपुरले शुक्रबार सार्वजनिक गरेको सामूहिक बलात्कारमा संलग्न तीन युवा । तस्बिर : इन डेप्थ

मुख्य अभियुक्त र पीडित किशोरीको बयान बाझियो

भक्तपुर । सार्वजनिक बसभित्र भएको सामूहिक बलात्कार घटनामा नयाँ ट्विस्ट आएको छ । घटनाका मुख्य अभियुक्त प्रहरी नियन्त्रणमा आएपछि घटनामा नयाँ ट्विस्ट आएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मुख्य अभियुक्त र पीडित किशोरीको बयान एकापसमा बाझिएको छ ।
भक्तपुर प्रहरीले उक्त घटनाका मुख्य अभियुक्त २१ वर्षीय दीपेश राईलाई बिहीबार झापाको भद्रपुर नपा ८ बाट नियन्त्रणमा लिएको थियो । झापाकै चन्द्रगढी पृथ्वीनगर नगरपालिका १ बस्ने दीपेशसहित सामूहिक बलात्कारमा संलग्न अन्य दुईलाई भक्तपुर प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।
यसअघि प्रहरीले सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नपा १० घर भएका २२ वर्षीय निरकुमार खड्का र सिन्धुपाल्चोककै जुगल गाउँपालिका ४ पाङताङ घर भएका २१ वर्षीय सूर्य श्रेष्ठलाई असोज १८ गते नियन्त्रणमा लिएको थियो ।
निरकुमार र सूर्यसँगै १७ वर्षीया किशोरी प्रहरीको हात लागेकी थिइन् । किशोरीले त्यसबेला दीपेशले पानीमा लठ्याउने औषधि राखेर आफूलाई बेहोस पारी भक्तपुर ल्याएको बयान दिएकी थिइन् । तर दीपेशले त्यसको ठीकविपरीत बयान दिएपछि अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु नै अचम्भित भएका छन् ।
दीपेशले ती किशोरी रत्नपार्कबाट आफू खलासी भएको गाडीमा आफै चढेर आएको बयान दिएको अनुसन्धान अधिकारीले जानकारी दिए ।
‘रत्नपार्कबाट बानेश्वर पुगेपछि भाडा उठाउने क्रममा ती किशोरीले आफूसँग पैसा नभएको जवाफ दिइन्’, दीपेशले दिएको बयान उद्धृत गर्दै अनुसन्धान अधिकारीले भने, ‘त्यसपछि भक्तपुरको च्याम्हासिंहसम्मै ती किशोरी बसमा आइन् ।’
उनका अनुसार भक्तपुर च्याम्हासिंह पुगेपछि ती किशोरीलाई अर्को बसमा लगेर भोलिपल्ट बिहान १० बजेसम्म करणी गरेको दीपेशले स्वीकार गरेका छन् । दीपेशले उक्त बसको नम्बर भने याद नभएको तर च्याम्हासिंहमा पार्किङमा रहेको बताएका छन् ।
तर पीडित किशोरीले प्रहरीलाई सूर्यविनायकस्थित अपरिचित ठाउँमा पार्किङमा रहेको बसमा दीपेशले आफूलाई बलात्कार गरेको बताएकी थिइन् । उनले काठमाडौंको मूलपानीमा चिनजानको दिदीसँग बस्ने गरेकोसमेत प्रहरीलाई बयान दिएकी थिइन् तर उनलाई मूलपानी क्षेत्रमा दिनभर घुमाउँदा पनि उनले ती दिदी बसेको ठाउँको पहिचान गर्न नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिइन् ।
‘उनले बयानमा भनेजस्तै मूलपानीमा दिनभर घुमाउँदा पनि दिदी बसेको ठाउँको पहिचान गर्न सकिनन्’, उनले भनिन्, ‘तैपनि उनकी आमालाई हामीले सम्पर्क गरिसकेका छौं ।’
उक्त घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले दीपेशसँग पूरा बयान लिन बाँकी रहेको जानकारी दिए । जसले गर्दा ती किशोरीलाई जबरजस्ती करणी गर्नुअघि कुनै प्रलोभन देखाएको नदेखाएकोबारे खुल्न बाँकी भएको उनको भनाइ छ ।
उनका अनुसार दीपेशले आफूले असोज १६ गते दिउँसोदेखि भोलिपल्ट बिहान १० बजेसम्म जबरजस्ती करणी गरिसकेपछि असोज १७ गते बिहान ११ बजे ती किशोरीलाई आफ्ना साथीहरु निरबहादुर र सूर्यलाई जिम्मा दिएको स्वीकारेका छन् ।
निरबहादुर र सूर्यले त्यसदिन बिहान ११ बजेदेखि राति ९ः३० बजेसम्म ती किशोरीमाथि पटकपटक सामूहिक बलात्कार गरेका थिए । उनीहरुले आफ्नो बा ३ ख २६१२ नम्बरको गाडी चाँगुनारायण नपा ९ ताथलीको तव्याखुसी खोला किनारमा पार्किङ गरेर त्यहीं सामूहिक बलात्कार गरेका हुन् ।
गाडीभित्र अबेरसम्म बलात्कार भएपछि उक्त गाडीसँगै पार्किङ गरिराखेका अन्य गाडीका चालक तथा सहचालकले सुइको पाएका थिए । लगत्तै तिनीहरुले प्रहरीलाई खबर गरे । जबरजस्ती करणी भएको जानकारी पाएलगत्तै महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले पीडित किशोरीसँगै निरबहादुर र सूर्यलाई असोज १७ गते नियन्त्रण लिएको थियो ।

दीपेश असोज २० गते झापा फरार

प्रहरी अनुसन्धानका अनुसार दीपेशले घटना सार्वजनिक भएको दुई दिनपछि असोज २० गतेमात्रै भक्तपुर छोडेको देखिएको छ । असोज १७ गते राती किशोरीसँगै निरबहादुर र सूर्यलाई प्रहरीले नियन्त्रणमा लिए पनि उक्त घटना असोज १८ गतेमात्रै सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।
घटना सार्वजनिक भएपछि निरबहादुर र सूर्यले दिएको दीपेशको हुलियाको आधारमा प्रहरीले भक्तपुरभर उनको खोजतलास बढाएको थियो । प्रहरी जहाँतहीं पुगेपछि दीपेशलाई चिन्ने चालक तथा सहचालकले ‘तिमीलाई प्रहरीले खोजिरहेको छ, बच्ने भए भाग’ भनेपछि उनी असोज २० गते बिहानै झापा भागेका थिए । दीपेशले प्रहरीलाई सोही बयान दिएका छन् ।
मुख्य अभियुक्त दीपेश र किशोरीको बयान आपसमा बाझिएपछि अनुसन्धानको सुई पीडित किशोरीतर्फ पनि सोझिएको प्रहरीका अनुसन्धान अधिकारीहरु बताउँछन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM