Connect with us

SOCIAL

डलर देखाई २६ लाख ८० हजार लुट्ने ५ जना नियन्त्रणमा

Avatar

Published

on

Web Picture

भक्तपुर । भक्तपुर प्रहरीले अमेरिकी रुपैयाँ डलर देखाई नेपाली रुपैयाँ लुटपाट गर्ने समूहका ५ जनालाई नियन्त्रणमा लिएको छ ।
भक्तपुरका विभिन्न ठाउँबाट अमेरिकी रुपैयाँ डलर देखाएर नेपाली रुपैयाँ लुटपाट गर्ने उनीहरुलाई भक्तपुर प्रहरीले शुक्रबार जिल्लाको मध्यपुर थिमि नपा ९ बोडेबाट नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सिन्धुपाल्चोकको बा-हबीसे नपा ३ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नपा १ ३६ वर्षीय खेलबहादुर तामाङ र ३३ वर्षीय रेलबहादुर तामाङ, सिन्धुपाल्चोकको बा-हबीसे नपा ६ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नपा ९ बस्ने ५६ वर्षीय श्यामबहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीया कान्छी तामाङलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले बिहीबार भक्तपुरका सूर्यविनायक नपा २ बालकोटस्थित रोज भिलेज नजिकबाट काठमाडौं धापासी बस्ने एक व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैयाँ लुटी फरार भएको घटनामा संलग्नहरुको खोजतलास गर्ने क्रममा शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
उनले शुक्रबार आठ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको भए पनि तीनजना लुटपाटमा संलग्न नभएको अनुसन्धानमा देखिएपछि शुक्रबार नै रिहा गरिएको बताए ।
उनका अनुसार उनीहरुको साथबाट २ लाख ४२ हजार ९ सय ३५ नेपाली रुपैयाँ, विभिन्न कम्पनीका ५ थान मोबाइल, २ वटा मोटरसाइकल र डलर भनी झुक्याउन तयार गरिएको कागजको बिटो २ बण्डल बरामद गरिएको छ ।
उक्त समूहले भक्तपुरको मध्यपुर थिमि नपाका चार ठाउँमा २१ लाख ८० हजार लुटपाट गरिसकेको प्रहरी अनुसन्धानको क्रममा पत्ता लागेको छ ।
प्रहरी नायब उपरीक्षक गिरीका अनुसार उक्त समूहले गएको साउन ८ गते मध्यपुर थिमि नपा ९ बोडेबाट ३ लाख, साउन १९ गते मध्यपुर थिमि नपा ५ बाट ४ लाख, भाद्र ३१ गते मध्यपुर थिमि नपा २ बाट ५ लाख रुपैयाँ लुटपाट गरेको थियो ।
त्यस्तै असोज ६ गते मध्यपुर थिमि नपा ९ बोडेबाटै ९ लाख ८० हजार रुपैयाँ लुटापाट गरेको अनुसन्धानको क्रममा खुल्न आएको उनी बताउँछन् ।
अन्तिम पटक बिहीबार सूर्यविनायक नपा २ बालकोटबाट ५ लाख रुपैयाँ लुटपाट गरी फरार रहेका उनीहरु शुक्रबार प्रहरीको फन्दामा परेका छन् ।
प्रहरी नायब उपरीक्षक गिरीले उक्त लुटपाटमा संलग्न भई फरार अन्य व्यक्तिहरुको खोजतलास भइरहेको बताए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!