Connect with us

SOCIAL

कन्ट्याक्ट ट्रेसिङ गर्दै भक्तपुर रेडक्रसका स्वयंसेवक

Avatar

Published

on

कन्ट्याक्ट ट्रेसिङसम्बन्धी अभिमुखीकरणका सहभागी । तस्बिर : नेरेसो भक्तपुर

भक्तपुर । पछिल्लो समय भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ । यहाँ समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिइसकेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका अनुसार पछिल्लो समय संक्रमितको सम्पर्कमा आएकामध्ये ३० प्रतिशतभन्दा बढीमा संक्रमण पुष्टि भइरहेको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको छिटोछरितो पहिचान नहुँदा संक्रमण बढ्दोदरमा रहेको कार्यालयका प्रमुख कृष्ण मिजार बताउँछन् ।
उनले कोरोना भाइरस संक्रमण परीक्षणको लागि स्वाब दिएकाहरु आइसोलेसनमा नबस्दा पनि संक्रमण तीव्र रुपमा फैलिइरहेको स्पष्ट पारे । यस्तो अवस्थामा संक्रमित र तिनको सम्पर्कमा आएकाहरुको पहिचान गरी उनीहरुलाई छिटोभन्दा छिटो आइसोलेसनमा राख्न सकिए समुदायमा संक्रमण फैलिनबाट रोकिने उनको भनाइ थियो ।
भक्तपुरमा कन्ट्याक्ट ट्रेसिङ छिटोछरितो सम्पन्न गरी संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सघाउ पु-याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले स्वयंसेवक परिचालन गरेको छ ।
भक्तपुर रेडक्रसका जिल्ला सभापति मनोजकुमार थापाले भक्तपुरका चार नपामा १६ जना स्वयंसेवक परिचालन गरिएको जानकारी दिए ।
जसमा बढी संक्रमण फैलिएको मध्यपुर थिमि र सूर्यविनायक नपामा पाँचपाँच जना तथा भक्तपुर र चाँगुनारायण नपामा तीनतीनजना खटाइएको उनले बताए ।
‘स्वयंसेवक आफै संक्रमित नहुने गरी आवश्यक स्वास्थ्य सुरक्षा अपनाउने गरी परिचालन गरेका छौं’, जिल्ला सभापति थापाले भने, ‘सकेसम्म संक्रमितको नजिक पर्न नपर्ने विधिबाट कन्ट्याक्ट ट्रेसिङको काम गर्ने व्यवस्था गरेका छौं ।’
कन्ट्याक्ट ट्रेसिङमा खटिएका स्वयंसेवकलाई भक्तपुर रेडक्रसले अभिमुखीकरणसमेत गरेको छ । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख मिजार र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको स्वास्थ्य सेवा विभागका उपनिर्देशक बालकृष्ण सेढाईलगायतले स्वयंसेवकहरुलाई के कसरी कन्ट्याक्ट ट्रेसिङ गर्ने र त्यसको तथ्यांक कसरी अद्यावधिक गर्नेबारे सीप सिकाएका थिए । त्यस्तै स्वयंसेवकहरुलाई कोरोना भाइरस संक्रमणको केस अनुसन्धानबारे समेत जानकारी गराइएको थियो ।
भक्तपुरमा कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापनको लागि रेडक्रस जिल्ला शाखाले कोभिड १९ पूर्वतयारी तथा रेस्पोन्स अप्रेसनसमेत सञ्चालनमा ल्याएको छ । उक्त अप्रेसनअन्तर्गत कोभिड १९ बारे जनचेतना फैलाउने, हात धुने स्टेसन निर्माण तथा सरसफाइका सरसामान वितरण गर्ने गरिएको कार्यक्रमका फोकल पर्सन प्रकाश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार उक्त कार्यक्रमअन्तर्गत यहाँका चारवटै नपामा रहेका रेडक्रसका उपशाखामार्फत संक्रमण देखिएको क्षेत्र तथा टोल वस्तीहरुमा निसंक्रमण (डिस्इन्फेक्सन) गर्ने गरिएको छ ।
‘संक्रमण बढी फैलिएको समुदायमा कोभिड १९ बारे जनचेतनामूलक अभिमुखीकरण कार्यक्रमसमेत गर्दै आएका छौं’, फोकल पर्सन श्रेष्ठले भने ।
भक्तपुरमा सोमबारसम्ममा कोरोना भाइरस संक्रमितहरुको संख्या एकहजार पाँच सय ४६ पुगेको छ । यहाँ आइतबार एकै दिन ९० जना नयाँ संक्रमित थपिएका थिए । जुन अहिलेसम्मको सबैभन्दा बढी हो । सोमबार भने ७४ जनामात्रै नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM