Connect with us

SOCIAL

भक्तपुर अस्पतालमा वृद्धको मुत्यु : कोरोना भाइरस संक्रमण पुष्टि

Avatar

Published

on

भक्तपुर । भक्तपुरमा शुक्रबार पुनः एकजनामा मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भक्तपुर नगरपालिका ३ मंगलाछें निवासी ८२ वर्षीय वृद्धको मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
निमोनिया भएका उनलाई उपचारको लागि बिहीबार भक्तपुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहीबार उनको मृत्यु भएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन् ।
मृत्युपछि गरिएको कोरोना भाइरस परीक्षणको शुक्रबार आएको रिपोर्टमा पोजिटिभ आएको उनले बताइन् ।
मृतक वृद्धको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै उनको सम्पर्कमा आएका चिकित्सकसहित ६ जनालाई क्वारेन्टाइनमा राखिएको मेसु डा. गौतमले जानकारी दिइन् । उनका अनुसार उनीहरुको कोरोना परीक्षणको लागि स्वाबसमेत संकलन गरिएको छ ।
यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनको संख्या ५ पुगेको छ ।
यसअघि शुक्रबार नै मध्यपुर थिमि नपा ३ गट्ठाघर निवासी ६४ वर्षीया महिलामा पनि मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
घरमै बेहोस भएपछि तत्काल उपचारको लागि मध्यपुर थिमि नपा ३ गट्ठाघरस्थित नागरिक अस्पताल लगिएकोमा उनको बाटैमा मृत्यु भएको थियो ।
अस्पतालमा ल्याइपु-याइँदा नै मृत्यु भएकाले शंका लागी परीक्षण गराउँदा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालका नायब मेडिकल निर्देशक डा.अशोक राईले जानकारी दिए ।
यसअघि सूर्यविनायक नपाका दुई महिला र एक पुरुष गरी ३ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ ।
सूर्यविनायक नपा १ की ६१ वर्षीया महिलाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो । सूर्यविनायक नपा ८ का ७३ वर्षीय संक्रमित पुरुषको काठमाडौंको मेडिकेयर अस्पतालमा र ५३ वर्षीया महिलाको काभ्रेको धुलिखेल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
शुक्रबारसम्म भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय २९ पुगेको छ ।
त्यस्तै बिहीबारसम्म ७२ जना कोरोना भाइरस संक्रमणलाई जितेर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । बिहीबार भक्तपुर अस्पतालबाट चारजना र खरिपाटीस्थित आइसोलेसन सेन्टरबाट ८ जना गरी १२ जना डिस्चार्ज भएका थिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!