Connect with us

SOCIAL

नंखेलको बाँसघारीमा सडक दुर्घटना : एकको मृत्यु, ३ घाइते

Avatar

Published

on

तेल बोकेको ट्यांकरको ठक्करले कुच्चिएको हात्ती गाडी । तस्बिरहरु : महानगरीय प्रहरी परिसर भक्तपुर

भक्तपुर । अरनिको राजमार्गको भक्तपुरस्थित सूर्यविनायक नगरपालिका ९ नंखेलको बाँसघारीमा तेल बोकेको ट्यांकर र पानीको जार बोकेको हात्ती गाडी एकापसमा जुध्दा एकको मृत्यु भएको छ । त्यस्तै अरु तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बिहीबार भक्तपुरको जगातीबाट काभ्रेको साँगातर्फ जाँदै गरेको बा ३ ख ५३२२ नम्बरको तेल बोकेको ट्याङ्कर र विपरीत दिशाबाट आइरहेको बा २१ च ८८०५ नम्बरको पानीको जार बोकेको हात्ती गाडी एकापसमा ठोक्किइएको थियो ।
उक्त दुर्घटनामा परी हात्ती गाडीका चालक झापाको अर्जुनधारा नपा २ बस्ने २६ वर्षीय मिलन मगरको मृत्यु परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
उनका अनुसार हात्ती गाडीका सहचालक मोरङको अमरदह गाउँपालिका ८ घर भई हाल काठमाडौं जोरपाटी बस्ने १५ वर्षीय विवेक राजवंशी घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
त्यस्तै हात्ती गाडीमा सवार काभ्रेको साँगा घर भएकी २२ वर्षीया सृजना तामाङ र उनका १९ महिने छोरा मेडिज तामाङ घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
उनका अनुसार सडक दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले घाइते सबैलाई उद्धार गरी भक्तपुर नपा १ सल्लाघारीस्थित डा.इवामुरा मेमोरियल अस्पताल पु-याएको थियो । अस्पतालमा उपचार हुँदाहुँदै हात्तीगाडीका चालक मगरलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

ठक्कर खाएपछि धान खेतमा पल्टिएको तेल बोकेको ट्यांकर ।

उनका अनुसार दुर्घटनापश्चात तेल बोकेको ट्यांकरका चालक फरार छन् । फरार चालकको खोजतलास जारी रहेको भक्तपुर प्रहरीले जनाएको छ । उक्त ट्यांकर सडकबाट धान खेतमा पल्टिएको छ । ट्यांकरको ठक्करले हात्ती गाडीको अगाडिपट्टि चालक बस्ने भाग नराम्ररी कुच्चिएको छ ।
दुर्घटना भएको दुइटै सवारीसाधन महानगरीय प्रहरी वृत्त जगाती ल्याउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!