Connect with us

SOCIAL

डोलेश्वरमा साउनका शनिबार र सोमबार नियमित रक्तदान

Published

on

डोलेश्वर महादेव मन्दिर परिसरमा गरिएको रक्तदान । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर परिसरमा साउन महिनाको प्रत्येक शनिबार र सोमबार नियमित रक्तदान गरिएको छ ।
साउन महिनालाई भगवान शिवको महिना मानिन्छ । साउनमा पनि विशेष गरी सोमबार र शनिबार बढीभन्दा बढी सर्वसाधारण शिव मन्दिर पुग्ने गर्छन् ।
यसैलाई ध्यानमा राखेर स्थानीय तौडोल छाप बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तौडोल छाप सामुदायिक वन उपभोक्ता समूहले उक्त रक्तदान गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाको प्राविधिक सहयोगमा भइरहेको रक्तदानमा शनिबार १९ जनाले आफ्नो रगत दिएको तौडोल छाप बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेश्वर बोहराले जानकारी दिए । उनका अनुसार शनिबार डोलेश्वर मन्दिर पुगेका १३ जना पुरुष र ६ जना महिला गरी १९ जनाले आफ्नो रगत दिएका थिए ।
गएको सोमबार भने ३३ जनाले रगत दिएको संस्थाले जनाएको छ ।
कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउनपछि भक्तपुरमा रगत अभाव हुँदै आएको छ । भक्तपुर रेडक्रसस्थित रक्तसञ्चार सेवामा रगत अभाव भएको जानकारी आएपछि कोरोना भाइरस संक्रमणका बाबजुद रक्तदानलाई निरन्तरता दिँदै आएको संस्थाका सचिव दीपेन्द्रकुमार थापाले जानकारी दिए ।
‘भक्तपुर रेडक्रसले रगत अभाव नै भएको जानकारी दिएकाले सामाजिक दूरीसँगै आवश्यक जनस्वास्थ्य सुरक्षा अपनाएर रक्तदान गरेका हौं’, उनले भने, ‘गत वर्ष पनि रक्तदान गरेकाले यस वर्ष रोक्न पनि सकेनौं ।’
रक्तदानमा सहभागी हुने रक्तदातालाई विनालाइन डोलेश्वर महादेवको दर्शन गर्ने सुविधा भने प्रदान गरिएको छ ।
सचिव थापाले उक्त रक्तदान कार्यक्रम साउन महिनाको शनिबार र सोमबारसँगै भाद्र ६ गतेसम्म सञ्चालन हुने जानकारी दिए । भाद्र ६ गते डोलेश्वर महादेव मन्दिरलाई भारतको उत्तराखण्डस्थित केदारनाथको शीर भाग घोषणा गरिएको दिन हो । उक्त दिन रक्तदानको समापन कार्यक्रम गरिने उनले सुनाए ।
रक्तदान कार्यक्रमलाई केदारनाथको शीर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले समेत सहयोग गरेको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!