Connect with us

SOCIAL

अविरल वर्षाले उर्लियो हनुमन्ते

Published

on

हनुमन्ते खोलामा आएको बाढीले डुबाएको भक्तपुर नपा ७ स्थित हनुमानघाट । तस्बिरहरु : इन डेप्थ

कोरिडोरले खोला साँघुरियो : बस्तीमा खोला होइन खोलामा बस्ती पस्यो

भक्तपुर । अविरल वर्षाले हनुमन्ते खोलामा पानीको सतह बढेको छ । हनुमन्ते खोलामा आएको बाढीले खोला दायाँबायाँका होचा क्षेत्र डुबाएको छ ।
अहिलेसम्म हनुमन्ते खोलाको बाढी बस्तीमा नपसेको भक्तपुर प्रहरीले जनाएको छ ।
तर वर्षा हुने क्रम नरोकिएकाले बस्तीमा बाढी पस्ने जोखिम बढेको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले बताइन् ।
उनले हनुमन्ते खोलामा आएको बाढीले डुबानमा पर्नसक्ने सम्भावित क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको जानकारी दिइन् ।
‘हनुमन्ते खोलामा आएको बाढीले डुबानमा पार्न सक्ने सम्भावित क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गर्दै आएका छौं’, प्रहरी उपरीक्षक थापाले भनिन्, ‘सुरक्षाकर्मीहरु पनि उद्धारको लागि तम्तयार छौं ।’
यसवर्ष हनुमन्ते कोरिडोर निर्माणले प्रत्येक वर्ष डुबानमा पर्ने मध्यपुर थिमि नपा ९ राधेराधे क्षेत्र जोगिएको छ । कोरिडोरले खोला साँघुरिँदा भक्तपुर नगरपालिकाको सल्लाघारीदेखि माथिको क्षेत्रमा भने बढी डुबाएको छ ।


कोरिडोर निर्माण नहुँदा भक्तपुर नपा १ स्थित सल्लाघारी, ३ वडास्थित बाराही स्थान, मंगलतीर्थ, वडा नं. ४ स्थित राम मन्दिर, वडा नं. ५ स्थित चुपीँघाट, शिवालय, वडा नं. ७ स्थित भीमसेनस्थान र हनुमान घाट क्षेत्र सधैं डुबानमा पर्दै आएका छन् । यस वर्ष यी क्षेत्रमा अघिल्लो वर्षको तुलननमा पानीको सतह बढेको स्थानीय बताउँछन् ।
‘गएको वर्षभन्दा यस वर्ष हनुमानघाटमा हनुमन्ते खोलाको पानीको सतह बढ्यो’, स्थानीय रामप्रसाद दुवालले भने, ‘बाढीले माटोबालुवा बगाएर ल्याउँदा खोलाको सतह पनि बढिरहेको छ । वर्षा नरोकिँदा पानीको बहाव पनि बढेको छ ।’
उनले वर्सेनि खोलाको सतह बढे पनि कसैले खोला सोर्ने काम नगर्दा हरेक वर्ष पवित्र हनुमानघाट क्षेत्र डुबानमा पर्दै आएको गुनासो गरे ।
हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर नपा ७ भीमसेनस्थानस्थित सिद्धि स्मृति अस्पताल, भक्तपुर नपा १ सल्लाघारीस्थित इवामुरा अस्पताल पनि वर्सेनि डुबानमा पर्दै आएको छ । राममन्दिरस्थित शान्ति निकेतन मावि, राम मन्दिर र सत्तल, बाराहीस्थानस्थित लामोपाटी, मंगलतीर्थलाई पनि हनुमन्तेले वर्सेनि डुबाउँदै आएको छ ।
राममन्दिर पूर्व र बाराहीस्थान पश्चिमस्थित सर्वसाधारणको धानबाली पनि हनुमन्ते खोलामा आउने बाढीले वर्सेनि डुबाउँदै आएको छ ।
‘पहिले जस्तो खोला फराकिलो नहुँदा हनुमन्तेको बाढी धानबालीमा पस्न छोडेको छैन’, भक्तपुर नपा ३ बाराहीस्थानका हरिभक्त सुवालले भने, ‘मान्छेले खोला साँघु¥याएकाले प्रत्येक वर्ष खोलाको बाढी धानबालीमा पसेर डुबाउँछ ।’
हनुमन्ते कोरिडोरको नाउँमा खोला साँघु-याउने काम हुँदा पनि भक्तपुरको माथिल्लो क्षेत्र डुबानमा पर्दै आएको उनको भनाइ थियो ।
‘पहिले हनुमन्ते खोला मनहरा र बागमती जस्तै फराकिलो थियो’, उनी थप्छन्, ‘पहिले सर्वसाधारणले खेत जोगाउन र बढाउन खोला साँघु-याए । अहिले हनुमन्ते कोरिडोरको नाउँमा फेरि खोला साँघु-याउने काम भयो ।’
खोलाको जग्गामा कोरिडोर बनाउँदा खोला बस्ती र खेतखलिहानमा पसेको उनको तर्क थियो ।

कहाँ पुग्यो हनुमन्ते कोरिडोर

हनुमन्ते खोला साँघु-याएर कोरिडोर निर्माणको लागि दायाँबायाँ लगाइएको टेवा पर्खाल ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिले हनुमन्ते खोलामा करिडोर निर्माण प्रक्रिया सुरु गरेको हो  । समितिले डीपीआर तयार गरी २०७६ साल असार २७ मा हनुमन्ते करिडोर निर्माणको ठेक्का सम्झौता गरेको थियो ।
उक्त ठेक्काअनुसार भक्तपुर नपाका सल्लाघारीस्थित पुलदेखि तल मध्यपुर थिमि नपा ३ गट्ठाघर पुलसम्म हनुमन्ते खोलाको दायाँबायाँ टेवा पर्खाल लगाउने काम सम्पन्न गरिएको छ । तीनचरणमा भएको यस कार्यअन्तर्गत बीचबीचमा तीनचार ठाउँमा करिब दुईदुई मिटर पर्खाल लगाउन बाँकी रहेको छ ।
करिडोरको दायाँबाँया २०–२० मिटरको सडक हुने डीपीआरमा उल्लेख छ । जसमा ११–११ मिटर सडक र बाँकी ९–९ मिटरको हरियाली बन्ने समितिका आयोजना प्रमुख योगेन्द्र चित्रकारले बताए । त्यस्तै खोलाको सतहबाट साढे दुई मिटर अग्लो टेवा पर्खाल बन्ने उनले जानकारी दिए ।
उनका अनुसार कोरिडोर सल्लाघारीदेखि ललितपुरको बालकुमारीसम्म एकतर्फी करिब १० किलोमिटर तथा दुईतर्फी गरी २० किलोमिटर निर्माण गरिनेछ । उक्त करिडोरमा हनुमन्ते खोलाको पानी बग्ने भाग २० मिटर तथा दायाँबाँया करिडोर २०–२० मिटर गरी कूल ६० मिटर चौडाको करिडोर निर्माण हुने भएको उनी बताउँछन् ।
तर कोरिडोर बन्ने केही ठाउँमा स्थानीयको निजी जग्गा भएको क्षेत्रमा कोरिडोर बन्न सकेको छैन । मध्यपुर थिमि र सूर्यविनायक नपा सीमा क्षेत्रमा विवाद हुँदा पनि कोरिडोर निर्माण प्रभावित हुँदै आएको आयोजना प्रमुख चित्रकारले सुनाए ।

दायाँबायाँ अतिक्रमण बढेर साँघुरिएको हनुमन्ते खोला ।

‘निजी जग्गा परेको र खोलाको विवादित क्षेत्रमा मध्यपुर थिमि र सूर्यविनायक नपाले समस्या समाधान नगरेसम्म कोरिडोर निर्माण पूरा हुन सक्दैन’, उनले थपे, ‘नपाले समस्या सुल्झाए निजी जग्गाको मुआब्जा दिएर पनि कोरिडोर बनाउन सकिन्छ ।’
जग्गा विवादले गट्ठाघरको ट्रस पुलभन्दा मुनि कोरिडोरको कुनै काम गर्न सकिएको छैन । यहाँदेखि खोला पनि धेरै साँघुरो छ । त्यसैले माथि फराकिलो ठाउँबाट आएको बाढी अटेसमटेस भएर तल बग्दा सूर्यविनायक नपाको बालकोट क्षेत्र सधैं डुबानमा पर्दै आएको छ । त्यहाँ ललितपुरबाट बग्दै आउने गोदावरी र कर्मनाशा खोलाको समेत पानी मिसिने भएकाले बस्ती डुबाउने गर्दै आएको छ ।
आयोजना प्रमुख चित्रकारले खोलाको सीमा विवादको कारण हनुमन्ते र मनहरा, हनुमन्ते र गोदावरी तथा हनुमन्ते र कर्मनाशा खोलाको दोमानमा कोरिडोरको काम गर्न सकिएको छैन ।
करिडोर निर्माणअन्तर्गत टेवा पर्खाल लगाउने, खोला किनारामा बाटो बनाउने, हरियाली कायम गर्ने र डुबान क्षेत्रको संरक्षण गर्ने भने पनि यी काम हुन नसकेको स्थानीयको आरोप छ । दुई वर्षभित्रमा निर्माण पूरा गर्ने लक्ष्य रहेको हनुमन्ते करिडोर निर्माणको एक वर्ष पूरा भएको छ ।

कस्तो छ सुरक्षाकर्मीको तयारी ?

वर्षायाममा हुने प्राकृतिक विपत्ति पहिरो र हनुमन्ते खोलामा आउने बाढीबाट हुनसक्ने क्षतिबाट जोगिन र जोगाउन यहाँको सुरक्षाकर्मी तम्तयार अवस्थामा रहेको छ । नेपाली सेना र सशस्त्र प्रहरीसँगको सहकार्य र समन्वयमा विपत्तिविरुद्ध तयारी गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक थापा बताउँछिन् । आवश्यक उद्धार सामग्रीसँगै सुरक्षाकर्मी तम्तयार अवस्थामा रहेको उनले स्पष्ट पारिन् ।
भक्तपुर सुरक्षाकर्मीसँग हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेर डुबाए उद्धार गर्न तीनवटा डुंगाको व्यवस्था छ । उक्त डुंगा चलाउन सक्ने तालिम प्राप्त जनशक्तिको व्यवस्था गरिएको छ । त्यस्तै खोलाको डिल कटान र ततबन्ध भत्किएर बाढी बस्तीमा पसे तत्काल उद्धार गर्न एकहजार पाँच सय बोरामा बालुवा भरेर तयारी अवस्थामा राखिएको उनको भनाइ छ । त्यस्तै ढुंगाको पर्खाल लगाउन आवश्यक पर्ने तार जालीको पनि प्रवन्ध गरिएको सुरक्षा निकायले जनाएको छ ।
‘हामीले हनुमन्तेलगायतका खोलाहरुको नियमित गस्ती गर्दै आएका छौं’, प्रहरी उपरीक्षक थापाले भनिन्, ‘बाढीको बहाव बढेलगत्तै सुरक्षाकर्मी परिचालनको लागि तयारी अवस्थामा रहन्छौं ।’
भक्तपुरमा हनुमन्ते खोलामा बाढीको बहाव बढे नबढेको जानकारी दिने अलार्म सिस्टमको व्यवस्था गरिएको छ । उक्त सिस्टमअनुसार पानीको तह बढ्नेबित्तिकै रिभर कन्ट्रोलले सुरक्षाकर्मीलाई जानकारी दिन्छ । सोही जानकारीको आधारमा सुरक्षाकर्मी खटिने प्रवन्ध मिलाइएको छ ।

बस्ती खोलातिर जाँदा डुबान

संस्कृतिकविद्हरुले नदी सभ्यता भुलेर खोलातिर बस्ती बसाल्दा डुबानको समस्या भोग्नुपरेको बताउँछन् । उनीहरुका अनुसार नदी सभ्यताअनुसार मानिस न खोलाबाट नजिक बस्छन् न त खोलाबाट टाढा ।
‘मानिसका हरेक सांस्कृतिक कर्मकाण्ड, पर्वलगायत सबै खोलासँगै जोडिएका छन् । त्यसैले मानिस खोलाबाट टाढा बस्दैनन्’, संस्कृतिकर्मी ओमप्रसाद धौभडेल भन्छन्, ‘मानिस खोलामा आउने बाढीबाट पनि अनभिज्ञ छैनन् । त्यसैले खोलाको नजिक पनि बस्दैनन् । तर अहिले खोला किनारमै बस्ती बसेका छन् ।’
उनले भक्तपुरका पुराना सहर तथा बस्ती हनुमन्ते सभ्यताकै परिणाम भएको सुनाए । त्यसैले यहाँका पुराना सहर तथा बस्तीमा कहिल्यै हनुमन्तेले दुःख दिएको तथा धनजनको क्षति भएको कुनै इतिहास नभएको उनले स्पष्ट गरे ।

के हो त हनुमन्ते सभ्यता ?

भक्तपुर काठमाडांै उपत्यकाको मल्लकालीन राजधानी हो । त्यसैले भक्तपुरको मानव विकास हनुमन्ते सभ्यताकै कडी हो । काठमाडौंको बागमती सभ्यताको पूर्व मनहरा नदी सीमा रहेको भक्तपुरको सभ्यताको केन्द्रविन्दु हनुमन्ते खोला हो । हनुमन्ते खोलाको किनारमा बसेको बस्ती, सम्पदा, संस्कार र संस्कृति हनुमन्ते खोलामा आश्रित हुँदै आएका छन् । हनुमन्ते खोलाको मुहान नगरकोटको प्राचीन नाम मण्डपगिरि पर्वतस्थित महादेव पोखरी हो । भक्तपुर घेरिएर बसेका मण्डपगिरि, डोलागिरी, आशापुरीलगायतका पर्वतबाट रसाएर आएका विभिन्न खोलानाला सबै एक भएर हनुमन्ते खोला बन्दछ । भक्तपुर प्रायःजसो चाडपर्व र जात्रा हुने शक्तिपीठ यहीं हनुमन्ते खोला किनारमा छन् । भक्तपुरका बासिन्दाको जन्मदेखि मृत्युसम्मका सम्पूर्ण संस्कार यही हनुमन्ते खोला र यसका सहायक खोलासँग सम्बन्धित छ । काठमाडौं उपत्यकामा भूमि उत्पत्तिदेखि निरन्तर एवं प्राकृतिक रुपमा हनुमन्ते खोला बगिरहेको छ । हनुमन्ते परापूर्वकालदेखि अहिलेसम्म एउटै दिशातर्फ बगिरहेको छ । उसको बाटो फेरियो होला तर महत्व र अस्तित्व फेरिएको छैन । हिजो निर्मल र कञ्चन पानी बग्थ्यो जसले गर्दा हनुमन्ते पवित्र थियो तर अहिले मानव विकास सँगसँगै र आधुनिकताले गर्दा मानिसको मलमुत्र र फोहर कसिंगरले आफू दूषित भएर हनुमन्ते बगिरहेको छ । तैपनि त्यसमा आश्रित मानिसहरुले यसलाई पवित्र र जीवन्त मानिरहकै छन् । अरुले हनुमन्तेको जीवन्तता र निरन्तरतालाई मान्नु र नमान्नुमा उसलाई केही फरक परेको छैन ।
परापूर्वकालमा हनुमन्ते खोलामाथि मानिसले कुनै नकारात्मक असर पु-याएको छैन । त्यसैगरी मानिसलाई पनि हनुमन्तेले असर गरेको इतिहास छैन । पहिलेका मानिस खोलासँग सम्बन्धित भएर बसे पनि खोलामा हुने असरबारे भलीभाँती परिचित थिए । त्यसैले खोलाले दुःख नदेओस् भनेर समतल भूभागमा बालीनाली लगाउँथे र उँचो ठाउँमा बस्ती बसाल्थे । जहाँ उत्पादन हुँदैनथ्यो । जस्तै भक्तपुर नगर, मध्यपुर थिमिको पुरानो नगर, कटुञ्जे, दधिकोटको गाम्चा सबै उँचो ठाउँमा बस्ती बसालेर हनुमन्ते खोलाबाट आफूलाई सुरक्षित बनाउँदै आएका थिए । यो खोलाप्रतिको उच्च सम्मान पनि हो । मानिस खोलाबाट धेरै टाढा पनि छैन र अति नजिक पनि छैन । जसले गर्दा खोला मानिसको पर्दा र मर्दाको साथी बन्दै आयो । कहिल्यै दुःख दिएन र समस्या बनेन तर अहिले खोलासँगै बस्ती बसाएर मानिसले खोलालाई नै उकुसमुकस बनाए । खोला बस्तीमा पसेको होइन, मानिस नै खोलामा पस्न थाले । खोला अतिक्रमण रोकिएन । त्यहीं उकुसमुकुसबाट मुक्ति पाउन खोला बस्तीभित्र पस्यो, घर डुबायो ।
हनुमन्ते खोला भक्तपुरवासीको धार्मिक र सांस्कृतिक महत्व बोकेको खोला हो । त्यसैले खोलालाई दूषित र अतिक्रमण हुन नदिन ठाउँठाउँमा पवित्र घाट र तीर्थस्थल बनाए । यसले खोलाको धार्मिक मूल्य र मान्यतासमेत स्थापित गरेको थियो । तर अहिले हनुमन्ते खोलाको सभ्यता भुलेर खोला अतिक्रमण गरेर बस्ती बस्न रोकिएन । विभिन्न आयोजनाको नाउँमा खोला साँघु-याउने काम भयो । खोला दूषितमात्रै भएन, खोलाको सतहसमेत बढ्दै आएको छ । पहिले खोला १०–१२ फिट गहिराइमा बग्थ्यो तर अहिले मुस्किलले तीनचार फिट गहिरो छ । त्यसैले थोरै पानी पर्दा पनि हनुमन्ते उर्लिन थालेको छ । जसले घाट तथा तीर्थस्थलमात्रै डुब्दैनन् खोला किनारका बस्तीमा पसरे डुबाउँदै आएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!