Connect with us

SOCIAL

गाथामोग : भ्रम र यथार्थ

Published

on

भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा छ्वाली र नर्कटले बनाइएको गाथामोग दहन गरिँदै । फाइल तस्बिर

ईश्वरकाजी खाइजू
भक्तपुर । आज साउन कृष्ण चतुर्दशी । प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन हिन्दू परम्परामा गाथामोग एवं घन्टाकर्ण पर्व मनाइन्छ । यस पर्वअन्तर्गत छ्वाली तथा नर्कटले बनाइएका गाथामोगलाई जलाइन्छ । तर नेपाली समाजमा गाथामोगबारे धेरै भ्रम रहेका छन् । यस पर्वको ऐतिहासिक, वैज्ञानिक र वातावरणीय महत्वभन्दा भ्रमलाई बढी जोड दिइँदै आएको छ ।

भ्रम


नेपाली समाजमा गाथामोगलाई राक्षस एवं पिचासको संज्ञा दिइन्छ । विशेषतः गाथामोगलाई बालबालिका मारेर खाने राक्षसकोे रुपमा बढी चित्रण गरिएको पाइन्छ । समाजलाई दुःख दिने पात्रको रुपमा चित्रण गरिन्छ । यसरी समाजलाई दुःख दिने तथा बालबालिकालाई खाने भएकाले सजायस्वरुप गाथामोगलाई दोबाटो र चौबाटोमा लगी जलाउने गरिएको विश्वास गरिन्छ । त्यसैले गाथामोगलाई जलाइसकेपछि बालबालिकालाई त्यसको खरानीको टीका लगाइदिइन्छ । त्यसलाई नाघ्न लगाइन्छ । यसो गर्दा बालबालिकामा रहेको डर भाग्ने र रुन्चे लागेको हट्ने जनविश्वास रहेको छ ।

यथार्थ


इतिहासविद् तथा संस्कृतिविद्हरु गाथामोग कुनै पिचास वा राक्षस नभएको बताउँछन् । उनीहरुका अनुसार गाथामोग स्थानीय क्षेत्रमा रहेका भैरव तथा अन्य देवताको प्रतीक हो ।
‘गाथामोग अन्य देवीदेवताको नाम सुन्न नचाहने नास्तिक हुन्’, संस्कृतिकर्मी ओमप्रसाद धौभडेल भन्छन्, ‘गाथामोग सुनलाई भन्दा फलामलाई महत्व दिने र भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने पात्र हुन् ।’
त्यसैले गाथामोग देवदेवीको नाम सुन्नुपर्ला भनी हरहमेशा आफ्ना कानमा ठूलाठूला घण्टा झुण्डाइराख्छन् । यसैले तिनको नाम घण्टाकर्ण भएको हो उनी भन्छन् ।

प्रमाण के भन्छ ?

संस्कृतिकर्मी धौभडेलका अनुसार गाथामोग पर्वलाई अहिलेसम्म भेटिएको प्रमाणमध्ये सबैभन्दा पुरानो गोपाल राजवंशावलीमा गण्ठकर्ण चवदश भनिएको छ । त्यस्तै ने.स. ६९१ मा लेखिएको हितोपदेश ग्रन्थमा पनि गण्ठकर्ण चवदश लेखिएको उनको भनाइ थियो ।
‘ने.स. ७९२ को नेपालभाषाको एउटा गीतमा स्पष्टसँग छ्वालीको घण्टासुर बनाई सेलाउने उल्लेख गरिएको छ’, धौभडेलले भने, ‘ने.स. ८१८ मा भक्तपुर तलेजुस्थित मालती चोकमा भेटिएको एउटा शिलापत्रमा साउन कृष्ण चतुर्दशीलाई स्पष्टसँग गाथामोगल चवदश भनिएको छ ।’

नवदुर्गामा महादेवको उत्पत्ति

गाथामोग चतुर्दशीको दिन भक्तपुरको नवदुर्गा गणभित्र महादेवको उत्पत्ति हुने जनविश्वास रहेको छ । गाथा (नवदुर्गा गण बन्ने जाति) बाट शिवलिङ्ग स्थापना हुने भएकोले यस दिनलाई गाथामोग च¥हे (चतुर्दशी) भनिएको इतिहासविद्हरुको मत छ ।
बनमालाहरु कुनै कलाकार होइनन् । त्यसैले उनीहरुले यस दिन बनाउने शिवलिंग साँच्चिकै शिवलिंग जस्तो नभई मोग (डल्लेठो) जस्तो बन्छ । यसैको सम्झननास्वरुप यस दिनलाई गाथामोग भनिएको इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।
यस हिसाबले पनि गाथामोग कुनै राक्षस वा पिचास नभई महादेव भएको उनी दावी गर्छन् ।
‘हाम्रो संस्कृतिमा मार्ग कृष्ण चतुर्दशीलाई बाला चतुदर्शीले चिनिन्छ । जसका प्रमुख नायक बालासुर जो शिवकै एक रुप हुन्’, श्रेष्ठ स्पष्ट पार्छन्, ‘चैत कृष्ण चतुदर्शी पिशाच चतुर्दशी हो जसका अधिपति भूतप्रेत पिचास शिवकै गण हो । यता फागुन कृष्ण चुतर्दशी महाशिवरात्री त भगवान शिवकै पूजा आराधना गर्ने दिन हो । त्यसैले श्रावण कृष्ण चतुर्दशीको दिनका नायक गाथामोग पनि शिवकै रुप भएकोमा दुईमत हुन सकिँदैन ।’
उनका अनुसार गाथामोगको आकृति हेर्दा उन्मक्त भैरवसँग मिल्दोजुल्दो छ । जुन उन्मक्त भैरव पनि महादेव नै हुन् ।

वातावरणीय महत्व

असारपछि साउन महिनामा दिनहुँजसो झरी भइरहन्छ । यसले भुसुना, लामखुट्टे जस्ता हानिकारक कीराहरुले सर्वसाधारणलाई दुःख दिन्छन् । यसले मानिसहरु मौसमी बिरामी पनि हुन्छन् ।
यस्ता हानीकारक कीराहरुलाई टोलबस्तीबाट भगाउन छ्वालीलगायत बालेर धुँवा आगो बनाएर बस्तीभन्दा टाढासम्म भगाउन गाथामोग दहन गरिनु वैज्ञानिक भएको संस्कृतिकर्मीहरु बताउँछन् ।
उनीहरुका अनुसार यसै दिन किसानहरुले आआफ्नो घरगोठ र वरपरका ठाउँ सफा गर्छन् । यस दिन गाथामोग बनाउन सर्वसाधारण बाजागाजासहित घरघरमा गएर छ्वाली र पराल माग्न जाने गर्छन् । यसरी माग्न आउनेलाई किसानहरुले आफूले सफा गरेको घरगोठबाट उब्रेको छ्वाली तथा पराल दिएर पठाउँछन् ।
‘असारमा रोपाइँले गर्दा किसानहरुले फुर्सद पाएका हुँदैनन् । घर लथालिंग हुन्छ । लामखुट्टे, भुसुना र अन्य हानीकारक कीराफट्यांग्राले बास गरेको हुन्छ’, संस्कृतिकर्मी धौभडेल थप्छन्, ‘त्यसैले गाथामोग पर्वको दिन घरगोठ र वरपर सफा गरिन्छ । लामखुट्टे, भुसुना र अन्य हानीकारक कीरा फट्यांग्रालाई धुँवा र आगो बालेर बस्तीभन्दा टाढा धपाएर पठाइन्छ ।’
त्यसैले नेपाली समाजमा गाथामोग पर्वपछि लामखुट्टेको संख्या कम हुँदै जाने विश्वास रहेको छ ।

कसरी बनाइन्छ गाथामोग ?


स्थानीय वासिन्दासँग मागेर ल्याइएको छ्वाली र नर्कटको सहायताले गाथामोग बनाइन्छ । नर्कटले बनाइएको हातखुट्टाको आकृतियुक्त अस्थिपञ्जरमा छ्वालीले मोडिन्छ । नांग्लोमा गाथामोगको विशाल डरलाग्दो मुखाकृति कोरिन्छ । कतै माटोको टाउको बनाएर त्यसमा रंग भरिन्छ । कपडाबाट बनाइएका पुतलीहरुको माला लगाइदिन्छ । हरिया ठूला भोगटे र लट्ठीमा पराल बाटेर पुरुष जनेन्द्रीय अंग बनाइन्छ । त्यसमा कपास बाटेरसमेत झुन्ड्याइन्छ । विभिन्न रंगीचंगी कपडा र पटाका सिंगारिएर तयार भएको गाथामोगलाई दोबोटो, चौबाटोमा लगेर दहन गरी पर्व मनाइन्छ ।
गाथामोग दहन गर्न जाँदा गुठी तथा दाफाभजनका सदस्यहरुले बाजागाजा बजाउने तथा अन्यले छ्वाली बालेर सँगसँगै गई विभिन्न अश्लील गालीहरु गर्ने गरिन्छ ।

जात्रापर्वको सुरुवात

नेवारी परम्परामा गाथामोग पर्वसँगै जात्रापर्वहरुको सुरुवात भएको मानिन्छ । जसअनुसार गाथामोगपछि नाग पञ्चमी, चथा (गणेश चतुर्थी) त्यसपछि इन्द्रजात्रा अर्थात पुलुकिसी जात्रा, गाईजात्रा हुँदै दसैंतिहार लस्करै आउँछन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!