प्रहरी कर्मचारीमा संक्रमण देखिएपछि भक्तपुर परिसरका सबै सेल्फ क्वारेन्टाइन
भक्तपुर । भक्तपुरका चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेको छ । जसमध्ये दुई जना भक्तपुरका स्थानीय हुन् भने दुई जना भक्तपुर बाहिरका रहेका छन् ।
स्थानीयमध्ये महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत यहाँको चाँगुनारायण नपा ५ छालिङ निवासी ३२ वर्षीय प्रहरी कर्मचारी र भक्तपर नपा ६ भोलाछेंका २२ वर्षीय युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कुवेतबाट नेपाल फर्केकी २२ वर्षीया महिला र ललितपुरको टीकाथली घर भएका एक युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
उनका अनुसार कुवेतबाट नेपाल फर्केपछि भक्तपुरको चाँगुनारायण नपा ७ खरिपाटीस्थित क्वारेन्टाइनमा रहेकी २२ वर्षीया महिलाका कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । त्यस्तै टीकाथलीस्थित युवा उपचारको लागि भक्तपुर आउँदा उनको कोरोना भाइरस परीक्षण गर्दा पोजिटिभ आएको उनको भनाइ थियो ।
महानगरीय प्रहरी परिसर भक्तपुरको सञ्चार शाखामा कार्यरत ३२ वर्षीय युवामा कोरोना भाइरस पुष्टि भए परिसरका सबै प्रहरी अधिकृत तथा जवानहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै सञ्चार शाखाका सबैलाई उक्त शाखामै क्वारेन्टाइन बनाएर राखिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
उनका अनुसार हल्का ज्वर र खोकी लागेपछि चारदिन अघि कोरोना परीक्षण गरिएका ती प्रहरी कर्मचारीमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।
कोरोना परीक्षणको लागि नमुना संकलनपछि होम क्वारेन्टाइनमा राखिएका उनमा पोजिटिभ देखिएपछि बिहीबार बिहानै पाटन अस्पतालको आइसोलेसनमा पठाइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
‘संक्रमितलाई पाटन अस्पतालको आइसोलेसनमा पठाएका छौं’, उनले भने, ‘उहाँले काम गर्ने सञ्चार शाखालाई क्वारेन्टाइन बनाएर उनको कन्ट्याक्टमा आएकाहरुको पहिचान गरेर कोरोना परीक्षणको लागि नमुना संकलन गर्ने कार्य अघि बढाएका छौं ।’
उनका अनुसार सञ्चार शाखा परिसरका अन्य शाखाहरुसँग छुट्टिए पनि परिसरमा कार्यरतहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
त्यस्तै भक्तपुर नपा ६ भोलाछेंका २२ वर्षीय युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएलगत्तै बिहीबार बिहानै उनको घर क्षेत्र सिल गरिएको छ । चार दिनअघि भक्तपुर अस्पतालमा उपचार गर्ने क्रममा ती युवाको कोरोना भाइरस परीक्षण गरिएको थियो । संक्रमण पुष्टि भएसँगै उनलाई उपचारको लागि काठमाडौंको टेकु अस्पतालको आइसोलेसनमा पठाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
कुवेतबाट फर्केकी २२ वर्षीया महिला र टीकाथलीका युवालाई पनि टेकु लगिएको छ ।
यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या १० पुगेको छ । जसमध्ये चार जना उपचारपछि घर फर्केका छन् ।