Connect with us

SOCIAL

गाडी चालक र महिला जनप्रतिनिधिको पहिलो रिपोर्ट ‘नेगेटिभ’

Published

on

File Photo

भक्तपुर । कोरोना भाइरस संक्रमण पुष्टि भएका भक्तपुरका तेस्रो र चौथो व्यक्तिको पहिलो चरणको रिपोर्ट नेगेटिभ आएको छ ।
काठमाडौं महानगरपालिकाको सफाइ गाडीका चालक भक्तपुर नगरपालिका ५ योसिंखेल निवासी ४२ वर्षीय पुरुष र भक्तपुर नपा ९ वडा की महिला सदस्य ४२ वर्षीया जनप्रतिनिधिको पहिलो चरणको कोरोना भाइरस परीक्षण नेगेटिभ आएको हो ।
उनीहरुको पहिलो परीक्षण नेगेटिभ आएसँगै भक्तपुर कोरोना भाइरस संक्रमणका दृष्टिले सुरक्षित देखिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।
उनले भक्तपुर नपाको वडा नं ५ र ९ का स्थानीयमै कोरोना भाइरस संक्रमण देखिएकाले यहाँ समुदायस्तरमै संक्रमण फैलिइसकेको अनुमान गरिएको स्पष्ट पारे ।

समुदायमा फैलिएको छैन संक्रमण

तर वडा नं. ५ का संक्रमितका परिवार र उनको सम्पर्कमा रहेकाहरुको कोरोना परीक्षण नेगेटिभ आएपछि संक्रमण अनुमान गरिए जस्तो समुदायमा फैलिनसकेको पाइएको भन्दै प्रहरी उपरीक्षक प्रधानले खुसी व्यक्त गरे ।
‘भक्तपुरका पछिल्ला दुई संक्रमितको पहिलो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ’, उनले थपे, ‘तेस्रो संक्रमितको परिवार र उनको सम्पर्कमा रहेकाहरुको रिपोर्ट पनि नेगेटिभ नै आयो । यस आधारमा भक्तपुर कोरोना भाइरस संक्रमणका दृष्टिले अहिलेसम्म सुरक्षित देखिएको छ ।’
चौथो संक्रमित भक्तपुर नगरपालिका वडा नं. ९ की महिला सदस्यको परिवार र उनको सम्पर्कमा रहेका १९ जनाको कोरोना परीक्षणको रिपोर्ट भने आइसकेको छैन । ती १९ जनाको परीक्षणको रिपोर्ट पनि नेगेटिभ आए भक्तपुरका स्थानीयमा देखापरेर पनि समुदायमा कोरोना भाइरस संक्रमण फैलिनसकेको पुष्टि हुने प्रहरी उपरीक्षकको भनाइ छ ।

संक्रमणको स्रोत अन्योल

उनका अनुसार भक्तपुरका संक्रमितहरुको संक्रमणको स्रोत भने अझै फेला परेको छैन । पहिलो संक्रमित सुनसरीबाट भक्तपुर आएकी थिइन् । दोस्रो संक्रमित भक्तपुरको चाँगुनारायण नपा १ स्थित सरस्वतीखेलमै बस्दै आएका सशस्त्र प्रहरीका जवान हुन् । उनको कुनै यात्रा विवरण (ट्राभल हिस्ट्री) छैन । साथै दुवै संक्रमितको परिवार तथा उनीहरुको सम्पर्कमा आएकाहरुमा संक्रमण पुष्टि हुन सकेन ।
तर तेस्रो र चौथो संक्रमित भक्तपुरकै स्थानीय थिए । त्यसैले उनीहरुमा समुदायबाटै संक्रमण भएको अनुमान गरिएको थियो । जुन अनुमान पछिल्लो रिपोर्टले अनुमानमात्रै पुष्टि भएको छ ।
तेस्रो र चौथो संक्रमितको कोरोना भाइरस संक्रमणको अन्तिम परीक्षणमात्रै बाँकी छ । अन्तिम परीक्षण पनि नेगेटिभ आएपछि उनीहरुले कोरोना भाइरसलाई जितेको पुष्टि हुनेछ र पहिलो र दोस्रो संक्रमित जस्तै उनीहरु पनि डिस्चार्ज हुनेछन् ।
हाल तेस्रो र चौथो संक्रमितको उपचार क्रमशः काठमाडौंको सतुंगलस्थित सशस्त्र प्रहरी अस्पताल र ललितपुरको लगनखेलस्थित पाटन अस्पतालको आइसोलेसनमा भइरहेको छ ।

भक्तपुर नगर प्रमुखलगायतको रिपोर्ट ‘नेगेटिभ’

त्यस्तै भक्तपुर नपाका प्रमुख, उपप्रमुखलगायत करिब एकसय जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
भक्तपुर नपाले सुरुमा गरेको आरडीटी परीक्षणमा एक वडा सचिव र अर्की सफाइ मजदुरको रिपोर्ट पोजिटिभ आएको थियो । आरडीटी परीक्षणमा पोजिटिभ आएपछि भक्तपुर नपाले आफ्ना सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा सफाइ मजदुर गरी करिब दुईसयजनाको पीसीआर प्रविधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गरेको थियो ।
जसमध्ये बुधबारसम्म एकसय जनाको रिपोर्ट नेगेटिभ आएको भक्तपुर प्रहरीका प्रमुख प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।
उनका अनुसार भक्तपुर नपाले गरेको पीसीआर परीक्षणमै उक्त नपाको वडा नं ९ की ४२ वर्षीया महिला वडा सदस्यमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
सुरुमा आरडीटी पोजिटिभ आएका वडा सचिव र सफाइ मजदुरको पीसीआर रिपोर्ट पनि नेगेटिभ आइसकेको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!