Connect with us

SOCIAL

संक्रमित जनप्रतिनिधिको परिवारसहित १९ को स्वायब संकलन

Avatar

Published

on

File Photo

भक्तपुर । कोरोना भाइरस पुष्टि भएकी भक्तपुर नपा ९ की ४२ वर्षीया महिला वडा सदस्यको परिवारका तीनजनासँगै उनको सम्पर्कमा रहेका १९ जनाको स्वायब संकलन गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले जेठ ९ गते ती जनप्रतिनिधिलाई कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गरेको थियो । त्यसको भोलिपल्टै उनलाई पाटन अस्पतालको आइसोलेसनमा पठाएर उनी बस्ने भक्तपुर नपा ९ तुमचो क्षेत्रमा सिल गरिएको थियो । उनको परिवारमा श्रीमान, एक छोरा र एक छोरी छन् ।
आइतबार ती संक्रमित जनप्रतिनिधिको सम्पर्कमा आएका १६ जनाको कन्टाक्ट ट्रेसिङ भइसकेपछि १९ जनाको स्वायब संकलन गरिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।
त्यस्तै भक्तपुर नपाका जनप्रतिनिधि तथा कर्मचारीहरुको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भक्तपुर नपाले सुरुमा गरेको आरडीटी परीक्षणमा एक वडा सचिव र अर्की सफाइ मजदुरको रिपोर्ट पोजिटिभ आएपछि गरिएको पीसीआर परीक्षणका ६६ जनाको रिपोर्ट नेगेटिभ आएको भक्तपुर प्रहरीका प्रमुख प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।
भक्तपुर नपाले गरेको पीसीआर परीक्षणमै उक्त नपाको वडा नं ९ की ४२ वर्षीया महिला वडा सदस्यमा कोरोना भाइरस पुष्टि भएको थियो । उनीसँगै पीसीआर गरिएकामध्ये ६६ जनाको नेगेटिभ आएको प्रहरी उपरीक्षक प्रधान बताउँछन् ।
सुरुमा आरडीटी पोजिटिभ आएका वडा सचिव र सफाइ मजदुरको पीसीआर नेगेटिभ यसअघि नै आइसकेको थियो ।
भक्तपुर नपाले आफ्ना जनप्रतिनिधि, कर्मचारी तथा सफाइ मजदुर गरी करिब दुईसयको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरेको जनाएको छ ।
भक्तपुरका संक्रमित चारजनामध्ये सुरुमा पुष्टि भएका २५ वर्षीया महिला र २७ वर्षीय सशस्त्र प्रहरीका जवान भने कोरोना भाइरसलाई जितेर डिस्चार्ज भइसकेका छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM