Connect with us

SOCIAL

सल्लाघारीका मिनी ट्रक चालकको आरडीटी पोजिटिभ

Published

on

भक्तपुर । जिल्लाको भक्तपुर नगरपालिका १ सल्लाघारी बस्दै आएका एक मिनी ट्रक चालकको द्रूत विधि परीक्षण (आरडीटी) मा कोराना भाइरस पोजिटिभ देखिएको छ ।
रामेछाप स्थायी घर भएका उनी भक्तपुरमा रहेका विभिन्न गोदामबाट सामान ढुवानी गर्ने मिनिट्रकका चालक रहेको भक्तपुर प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा शनिबार बिहान गरिएको आरडीटी परीक्षणको ती चालकको कोरोना भाइरस पोजिटिभ देखिएको पुष्टि गरे ।
आरडीटीमा कोरोना भाइरस पोजिटिभ देखिएपछि उनलाई भक्तपुरको च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रबाट सीधै काठमाडौंको टेकु अस्पताल लगिएको छ । टेकुमै उनको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको प्रहरी उपरीक्षक प्रधानले बताए ।
‘भक्तपुर नपाको जनस्वास्थ्य केन्द्रमा आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि तत्कालै टेकु अस्पताल पठाएका छौं’, उनले भने, ‘टेकुमा पीसीआर प्रविधिबाट कोरोना परीक्षणपछि त्यहींको आइसोलेसन वार्डमा राखिएको छ ।’
त्यस्तै चालकले डेरा गरी बसेको घरलाई पनि सिल गरिएको प्रहरी उपरीक्षक प्रधानले बताए । चालकको यात्रा विवरण र उनको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने कार्यसमेत भइरहेको उनी बताउँछन् ।
बैशाख ३० गते कोरोना भाइरस संक्रमण पुष्टि भएका भक्तपुरको चाँगुनारायण नपा २ दुवाकोटस्थित सरस्वतीखेलका सशस्त्र प्रहरी जवानको स्थायी घर पनि रामेछाप नै रहेको छ । त्यस्तै काठमाडौं महानगरपालिकामा काम गर्ने सूर्यविनायक नपा ६ पाण्डोबजार निवासी ३६ वर्षीय सफाइ मजदुरको पनि आरडीटी परीक्षण पोजिटिभ देखिएको थियो ।
संक्रमण पुष्टि भएकासँगै आरडीटी पोजिटिभ भएका व्यक्तिहरु धमाधम देखिन थालेपछि जिल्लावासीमा त्रास बढेको छ । आफ्नो घर वरपर एम्बुलेन्सको आवाज आउँदामात्रै पनि कोरोना भाइरस संक्रमित लिन आएको हो कि भन्ने भान जिल्लावासीलाई पर्न थालेको छ ।
भक्तपुरमा कोरोना भाइरसका संक्रमित देखिएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमै जिल्लामा कफ्र्यु लगाउन यहाँका सुरक्षा निकाय र केही नगरपालिकाका प्रमुखहरुले माग गरेका थिए । बैठकमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुरसँगै उपत्यकाभित्रका जिल्लामा कफ्र्यु लगाउने अधिकार आफूहरुलाई नभएको बताएपछि भक्तपुर प्रवेश गर्ने सम्पूर्ण नाका सिल गर्ने निर्णय गरिएको थियो ।
त्यस्तै लकडाउनलाई कडा पार्ने उक्त समितिको निर्णयानुसार अहिले यहाँका नगरपालिकाहरुले आआफ्नो नगर क्षेत्रमा स्वयंसेवक नै खटाएर सर्वसाधारणलाई घर बाहिर ननिस्कन र अत्यावश्यकबाहेक अन्य पसल आदि नखोल्न आग्रह गर्दै आएका छन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!