Connect with us

SOCIAL

लकडाउनमै पाँचतले मन्दिरको जीर्णोद्धार पुनः सुरु

Published

on

लकडाउनकै बीच पाँचतले मन्दिर जीर्णोद्धार कार्य गर्दै कालिगढ । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । सरकारको घोषित लकडाउनकै बीच भक्तपुर नगरपालिकाले पाँचतले मन्दिरको जीर्णोद्धार कार्यलाई पुनः निरन्तरता दिएको छ ।
२०७२ साल बैशाख १२ गते आएको भूकम्प र त्यसपछिका परकम्पले क्षति पु-याएको भक्तपुर नपा ५ टौमढीस्थित पाँचतले मन्दिरको जीर्णोद्धार कार्यलाई पुनः निरन्तरता दिइएको हो ।
भूकम्पले मन्दिरको माथिल्लो तलामा क्षति पु-याएको थियो । भक्तपुर नपाले उपभोक्ता समितिमार्फत गएको मंसिरदेखि उक्त मन्दिरको जीर्णोद्धार कार्य थालेको थियो तर सरकारले विश्वव्यापी फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न भनी गएको चैत ११ गते देशव्यापी लकडाउन घोषणा गरेपछि उक्त जीर्णोद्धार रोकिएको थियो ।
लकडाउन लम्बिएपछि मन्दिरको जीर्णोद्धार कार्य पुनः सुरु गरिएको भक्तपुर नपा सम्पदा शाखाले जनाएको छ ।
त्यसमाथि केही दिनदेखि दैनिक रुपमा भइरहेको वर्षाको पानी मन्दिरभित्र पस्न सक्ने भएकाले जीर्णोद्धार कार्यलाई सुचारु गरिएको हो ।
अहिले मन्दिरको पाँचवटै छानाका झिंगटी झिकिएका छन् । भूकम्पले क्षति बनाएको मन्दिरको सबैभन्दा माथिको तलाको पुनर्निर्माणको काम सबै सकिएको सम्पदा शाखाका इञ्जिनियर सूर्यभक्त खर्बुजाले जानकारी दिए ।
उनका अनुसार माथिल्लो तलामा गजुरमात्रै हाल्न बाँकी छ ।
‘माथिल्लो तलामा गजुर हालिसकेपछि क्रमैसँग बाँकी तलाको छाना छाउने काम हुन्छ’, उनले भने, ‘वर्षाअघि नै छानाको सबै काम सकाउने लक्ष्य रहेको छ ।’
इञ्जिनियर खर्बुजाले मन्दिरको जीर्णोद्धार कार्यमा सीमित सिकर्मी तथा डकर्मीमात्रै खटिएको स्पष्ट पारे ।
भक्तपुर नपाले ६५ लाख १३ हजार तीनसय ५८ रुपैयाँको लगत इस्टिमेट तयार गरी पाँच तले मन्दिर उपभोक्ता समितिमार्फत जीर्णोद्धार सुरु गरेको थियो । नपासँग भएको सम्झैताअनुसार उपभोक्ता समितिले आगामी असोज मसान्तभित्र मन्दिर जीर्णोद्धार सक्नुपर्ने थियो । तर लकडाउनका कारण करिब एकमहिना काम रोकिएको छ ।
भक्तपुर नपाले २०५५ सालमा उक्त मन्दिरको जीर्णोद्धार गरेको थियो । १९९० सालको भूकम्पमा पनि मन्दिरको माथिल्लो तल भत्काएको थियो ।
जिल्ला विपद् व्यवस्थापन समितिमै सम्पदा जीर्णोद्धार तथा पुनर्निर्माणसँगै अरु निर्माण कार्यलाई सामाजिक दूरी कायम गर्ने गरी खुकुलो बनाउने सहमति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले स्पष्ट पारे ।
उनले लकडाउनको कारणमा रोकिएका सम्पदा जीर्णोद्धार, पुनर्निर्माण, सडक, पुल पुलेसा निर्माण कार्यलाई कोरोना भाइरस संक्रमण नहुने सुरक्षात्मक उपाय अपनाएर निरन्तरता दिइने बताए ।
उनका अनुसार ६ वर्षदेखि रोकिएको भक्तपुर–नगरकोट सडकसमेत कालोपत्रे गर्ने कार्यलाई अघि बढाउने तयारी अघि बढाइएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!