Connect with us

SOCIAL

मन्त्री र सांसदको पहलमा मजदुरहरु गन्तव्यतिर

Published

on

मजदुरहरुलाई घर पठाउन भक्तपुर पुगेका ऊर्जामन्त्री वर्षमान पुनसँगै भक्तपुरकी प्रजिअ हुमकला पाण्डे तथा सुरक्षा निकायका प्रमुख । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुरका इँटाभट्टासँगै भक्तपुर पूर्व काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाबाट घर जान भनी भक्तपुर पुगेका मजदुरहरुलाई गन्तव्यमा पुग्न ऊर्जामन्त्री वर्षमान पुन आफै आइतबार भक्तपुर पुगेका छन् ।
भक्तपुरका इँटाभट्टामा पश्चिम नेपालको रोल्पा, रुकुम, सल्यान, दाङलगायतका जिल्लाबाट आएका मजदुरहरु कार्यरत छन् । त्यस्तै काभ्रेका इँटाभट्टामा सुदूर पश्चिम बर्दिया जिल्लादेखि आएर काम गरिरहेका छन् ।
तर सरकारले देशव्यापी लकडाउन घोषणा गरेपछि ती मजदुरहरु घर फर्किन पाएनन् । इँटाभट्टामा पनि काम सकिँदै आएपछि ती मजदुरहरुलाई अहिले घर पुग्ने हतारो छ ।
इँटाभट्टामा काम नभएपछि खान नपाइने तथा बस्न नपाइने चिन्तामा उनीहरु दिनरात नभनी पैदलै आफ्नो गन्तव्यतर्फ लागिरहेका छन् । यसरी घर जाने क्रममा भक्तपुरको जगातीमा रोकिएका सयौं मजदुरहरुलाई घर फर्किन सहजीकरण गर्न आइतबार ऊर्जामन्त्री पुन आफै भक्तपुर पुगेका हुन् ।
उनको सहजीकरणमा आइतबारमात्रै ११ वटा बसमार्फत मजदुरहरुलाई उनीहरुको गन्तव्यतर्फ पठाइएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बाहिर जिल्लाबाट भक्तपुरमा अलपत्र भएका मजदुरहरुलाई सहजीकरण गरेर गन्तव्यमा
पु-याइरहेको जानकारी दिइन् ।
उनका अनुसार आइतबारमात्रै ऊर्जामन्त्री पुन, प्रदेशमन्त्री सालिकराम जमरकट्टेल, स्याङजाका सांसदहरुको सहजीकरणमा भक्तपुरमा अलपत्र परेकाहरुलाई उनीहरुको गन्तव्यमा पु-याइएको थियो ।
भक्तपुरमा रहेका तर आफ्नो गन्तव्यमा जान सवारीसाधन भएकाहरुलाई उनीहरुको गन्तव्यमा पु¥याउन प्रहरी प्रशासनले सहजीकरण गरिरहेको प्रजिअ पाण्डेले बताइन् ।
‘सकेसम्म लकडाउनमा जोजहाँ छन्, त्यही सुरक्षित रहन सरकारले निर्देश गरेको छ’, उनले भनिन्, ‘तर यहाँ बस्दा समस्या हुने र घर जान चाहने सवारीसाधन भएकाहरुलाई सम्बन्धित माननीय र स्थानीय तहहरुको समन्वयमा गन्तव्यमा पु-याउन सहजीकरण गर्दै आएका छौं ।’
आफ्नो घरतर्फ हिँडेका सर्वसाधारणलाई रोक्दा खाने, बस्ने, शौचालयलगायतको समस्या हुने भएकाले उनीहरुलाई गन्तव्यमै पु-याउनुपर्नेमा जोड दिइएको छ । साथै उनीहरुको कारण कोरोना भाइरस संक्रमण हुन सक्ने र खाने, बस्नेलगायतका समस्याले जनस्वास्थ्यसम्बन्धी अर्को महामारी फैलन सक्ने भएकाले सहजीकरण गरेर उनीहरुलाई गन्तव्यमै पु-याउनु राम्रो हुने भक्तपुर प्रहरी प्रशासनको बुझाइ रहेको छ ।

घर जान नपाएका मजदुरहरु आक्रोशित

मन्त्री पुन तथा अन्य सांसदहरुले आआफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रका मजदुरलाई मात्रै घर फर्काउन सहजीकरण गरेपछि अरु जिल्लाबा मजदुरहरु अहिले आक्रोशित भएका छन् । उनीहरुले आफूहरुलाई पनि सुरक्षित घर जाने व्यवस्था मिलाइदिन उनीहरुले माग गरेका छन् ।
‘मन्त्री र सांसदको जिल्लाका मात्रै मजदुर र जनता ?’, एक मजदुरले प्रश्न गरे, ‘हामी चै केही होइन ? हामीहरु घर जान नपाउने ?’
उनले आफूहरुलाई पनि सुरक्षित घर पठाउने व्यवस्था नगरेर सडकमा ओर्लने चेतावनी दिए । उनका अनुसार अझै भक्तपुरका इँटाभट्टामा मात्रै सात आठ हजार मजदुर छन् । उनीहरु लकडाउन घोषणाको कारण घर फर्किन पाएनन् । साथै इँटाभट्टामा काम बाँकी भएकाले पनि चाहेर पनि घर जान नपाएको उनीहरुको भनाइ छ ।
मन्त्री र सांसदले पाँचछ सय मजदुरलाई मात्रै घर फर्काएपछि आफूहरुलाई पनि घर जाने व्यवस्था गर्न आग्रह गर्ने मजदुरहरुको संख्या बढेको भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बाले जानकारी दिए ।

भक्तपुरमा अझै आठहजार मजदुर बाँकी

उनका अनुसार भक्तपुरका ६२ वटा इँटाउद्योगमा अझै रुकम, रोल्पा, सल्यान, दाङका आठहजारभन्दा बढी मजदुर बाँकी छन् ।
‘हामीले पटकपटक प्रहरी प्रशासनमा उनीहरुलाई घर जान आवश्यक सहजीकरण गर्न आग्रह गर्दै आएका छौं’, अध्यक्ष ह्योम्बाले भने, ‘तर प्रहरी प्रशासनले लकडाउनमा कोहीकसैलाई यताउता गर्न दिने निर्देशन नभएकोमात्रै भन्ने जवाफ पाउँदै आएका छौं ।’
तर मन्त्री र सांसदहरुले भने लकडाउनमा पनि आफ्ना मान्छेलाई घर पठाउन मिल्ने अरुलाई किन नमिल्ने भनेर मजदुरहरुले इँटा उद्योग व्यवसायीहरुलाई गुनासो गर्न थालेको उनको भनाइ थियो ।
मन्त्री पुन लगायतको सहजीकरणमा आइतबार भक्तपुरका चारवटा इँटाभट्टामा कार्यरत रोल्पालगायतका जिल्लाका मजदुरहरुलाई आठवटा बसमार्फत गन्तव्यमा पठाइएको थियो । त्यसैले बाँकी मजदुरहरुलाई पनि उनीहरुको गन्तव्यमा पठाइनुपर्ने अध्यक्ष ह्योम्बाको माग छ ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी पाण्डेले भने इँटाभट्टामा कार्यरत मजदुरहरुलाई लकडाउनको बेला घर पठाउनेबारे माथिको निर्देशन नभएको सुनाइन् ।
उनले लकडाउनपछि पनि सहजीकरण गरेर गएको चैत १८ गतेसम्म करिब १५ हजार मजदुरहरुलाई गन्तव्यमा पठाउने काम भएको जानकारी दिइन् ।
‘अझै पनि कोही आफ्नो घर जान चाहन्छन् र आफ्नै सवारीसाधन छ भने गन्तव्य जान सहजीकरण गरिरहेका छौं’, उनले भनिन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!