Connect with us

SOCIAL

भैरवनाथ मन्दिरमा ठड्याइयो सुनको लिंगो

Published

on

लिंगो ठड्याइनुअघि भक्तपुर नपा ५ योसिंखेलमा पूजा गर्न जाँदै भैरव नाइकेहरु । तस्बिर : ईश्वरकाजी खाइजू

ईश्वरकाजी खाइजू

भक्तपुर । आठ दिन नौरातसम्म चल्ने भक्तपुरको प्रसिद्ध बिस्का जात्राको चौथो दिन आइतबार भैरवनाथ मन्दिरमा सुनको लिंगो ठड्याइएको छ ।
बिस्का जात्राको मुख्य जात्राअन्तर्गत चौथो दिन मनाइने लिंगो जात्राअन्तर्गत यस वर्ष ५५ हाते काठको लिंगो प्रतीकको रुपमा सुनको लिंगो ठडठ्याइएको भैरव नाइके कृष्णभक्त (माइला) छुकांले जानकारी दिए ।
उनका अनुसार आइतबार साँझ ६ः२८ बजेको शुभसाइटमा काशीको विश्वनाथ तथा बेतालको अगाडि सुनको लिंगो ठड्याइएको छ ।
बिस्का जात्राको विधिविधानअनुसार भक्तपुर नगरपालिका ५ योसिंखेलमा चैत मसान्तको दिन ५५ हातको काठको लिंगो उठाइन्छ तर कोरोना भाइरसको कारण यस वर्ष उक्त लिंगो ठड्याइएन । काठको लिंगोका सट्टा भैरव नाइकेहरुले लिंगो जात्राको प्रतीकको रुपमा सुनको सानो लिंगोमात्रै ठड्याए ।
नाइकेहरुले सुरुमा उक्त सुनको लिंगो बिस्का जात्रा सञ्चालन हुने योसिंखेलमै उठाउने तयारी गरेका थिए । योसिंखेलमा सर्वसाधारणको भीड हुनसक्ने सम्भावनालाई मध्यनजर गरी उक्त सुनको लिंगो भक्तपुर नपा ५ टौमढीस्थित भैरवनाथ मन्दिरभित्रै ठड्याइने भैरव नाइके छुकांले स्पष्ट पारे ।
बिस्का जात्राको इतिहासमै पहिलोपटक सुनको लिंगो ठड्याइएको हो । त्यस्तै पहिलोपटक भैरवनाथ मन्दिरमा लिंगो ठड्याइएको छ ।
‘बिस्का जात्राको विधिविधानअनुसार सुनको सानो लिंगो योसिंखेलमै उठाउने तयारी थियो’, भैरव नाइके छुकांले भने, ‘तर त्यहाँ उठाउँदा सर्वसाधारणको भीड लाग्न सक्ने भएकाले भैरवनाथ मन्दिरभित्रै उक्त लिंगो उठाएका छौं ।’
उनका अनुसार अष्टमातृकाको प्रतीकस्वरुप आठवटा कुम्हाँ काः (पवित्र पहेंलो धागो) मार्फत सुनको लिंगो ठड्याइएको हो । ५५ हात लामो काठको लिंगो उठाउन पनि आठवटा मोटा डोरीको प्रयोग हुन्छ । उक्त लिंगोमा ३५ हात लामो दुइटा हलिंपत्त (विश्वध्वजा) फहराइन्छ ।
उक्त लिंगो उठाउनुअघि भक्तपुर नपा ५ योसिंखेलस्थित लिंगो उठाइने ठाउँमा भैरव नाइकेहरुले पूजा गरेका थिए । त्यस्तै सुनको लिंगो नयाँ भएकाले उक्त लिंगोलाई देवता मानेर जन्मदेखि मृत्युसम्मको १० कर्म पूरा गरिएको भैरव नाइके छुकांले जानकारी दिए ।
उनका अनुसार बिस्का जात्राअन्तर्गत लिंगोको लागि नयाँ काठ प्रयोग भएको प्रत्येकपटक भैरव नाइकेहरुले उक्त लिंगोको पूजा गर्नुपर्छ । त्यस्तै उक्त लिंगोलाई देवता मानेर मानिसको जस्तै जन्मदेखि मृत्युसम्मको दस कर्म पूजा गर्ने प्रचलन रहँदै आएको उनले बताए ।

विश्वनाथले आफ्नै सामुन्ने हेरे लिंगो जात्रा

बिस्का जात्राको किम्बदन्तीअनुसार विश्वमै ख्यातिप्राप्त बिस्का जात्राअन्तर्गतको लिंगो जात्रा हेर्न काशीबाट विश्वनाथ भक्तपुर आउँछन् । काशीबाट महादेवको विश्वरुप विश्वनाथ आफै लिंगो जात्रा हेर्न आएको भक्तपुर दरबारका तान्त्रिक गुरुहरुले सुइको पाउँछन् । विश्वनाथलाई शत्रुहरुको संहारकर्ता देवता मानिन्छ । त्यस्तै उनलाई वर्षा र सहकालको देवता पनि मानिन्छ । त्यसैले भक्तपुर राज्यको विजय र यहाँ निरन्तर वर्षा रु सहकाल प्राप्तिको लागि काशी विश्वनाथलाई भक्तपुरमै राख्न भक्तपुरका राजालाई सुझाइन्छ । सोहीअनुसार राजाले आफ्ना मान्छे पठाउने निधो गर्छन् । तर मानवको रुपमा आएका काशी विश्वनाथलाई चिन्ने कसरी ? तान्त्रिक गुरुहरुले अरु मानिसभन्दा एक हात अग्लो हुने जानकारी दिन्छ । सोहीअनुसार गएका दरबारका मान्छेहरुले काशी विश्वनाथलाई भेट्टाउँछन् । उक्त कुरा काशी विश्वनाथले पनि पत्तो पाउँछन् । त्यसैले उनी जमिनमुनि गाडिएर अलप हुन खोज्छन् । यत्तिकैमा खेत गएर बिस्का जात्रा हेर्न आएका भक्तपुरका किसानले भिरेको हँसिया झिकेर जमिनमा गड्दै गरेका विश्वनाथको शीर छेडन गरी लिन भक्तपुर दरबारका मानिस सफल हुन्छन् । तैपनि छेडन गरिएको काशी विश्वनाथको शीर सातपटकसम्म उफिन्छ । त्यसपछि ‘मलाई भक्तपुरको सातवटा बाटो भएको चोकमा मन्दिर बनाएर राख्नू’ भन्ने आकाशवाणी हुन्छ । सोही आकाशवाणीको आधारमा सातवटा बाटो भएको हालको टौमढीमा भैरवनाथको मन्दिर बनाएर विश्वनाथलाई राखिएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन् ।
सोही किम्बदन्तीअनुसार बिस्का जात्राको इतिहासमा पहिलोपटक काशी विश्वनाथकै मन्दिरभि उनकै लागि सुनको लिंगो उठाउन लागिएको हो ।
‘काशी विश्वनाथ भक्तपुरको बिस्का जात्राको लिंगो जात्रा हेर्न आएको बताइन्छ’, भैरव नाइके छुकां थप्छन्, ‘त्यहीं काशी विश्वनाथको सामुन्ने यस वर्ष लिंगो जात्रामा सुनको लिंगो ठड्याउने भएका हौं ।’
यस वर्ष कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन भन्दै बिस्का जात्रा औपचारिक पूजाआजामा मात्रै सीमित छ । सोहीअनुसार यस वर्ष भैरवनाथ मन्दिरबाट बाहिरिन पाएन । मन्दिरभित्रै सबै विधिविधान पूरा गरिने भैरव नाइके छुकांले जानकारी दिए ।

ठडिएन हात नभएको लिंगो

फाइल फोटो

कोरोना भाइरसको कारण चैत मसान्तको बिहानै ठड्याइनुपर्ने भक्तपुर नपा ४ तालाक्वस्थित हात नभएको ज्याठा गणेशको लिंगो ठडिएन । हात भएको सुनको लिंगो उठ्याइने प्रवन्ध गरिँदा हात नभएको लिंगोजात्रा भने स्थगित गरिएको हो ।
बिहान हात नभएको ज्याठा गणेशको लिंगो ठड्याइसकेपछि मात्रै साँझ योसिंखेलमा हात भएको ५५ हाते लामो लिंगो ठड्याइने चलन यस वर्ष तोडिने भएको छ ।
हात नभएको करिब ५५ हात लामो उक्त लिंगो स्थानीय प्रजापति थरीहरुले मात्रै उठ्याइने चलन रहेको छ । त्यस्तै ढाल्दा पनि प्रजापतिहरु मात्रै सरिक हुने प्रचलन रहेको छ । भूकम्पले ज्याठा गणेश वरिपरिका घरहरु भत्किनुअघिसम्म घरघरका झ्यालभित्रबाट डोरीले तानेर उक्त लिंगो उठ्यान्थ्यो तर घर भत्किएपछि बाहिरैबाट उक्त लिंगो उठाइँदै आएको छ ।
लिंगो ठड्याउन कुलो बनाइएकोले उक्त लिंगो सजिलै ठड्याइँदै आएको थियो तर ज्याठा गणेशको लिंगो जात्राको इतिहासमा यस वर्ष पहिलो पटक उक्त लिंगो नठडिने भएको संस्कृतिकर्मी धौभडेल बताउँछन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!