Connect with us

SOCIAL

बन्न पाएन भैरवनाथको नयाँ रथ

Published

on

आठ दिन नौरातसम्म मनाइने भक्तपुरको बिस्का जात्राको प्रमुख आकर्षण भैरवनाथको रथका यत्रतत्र छरिएका पार्टपुर्जा । तस्बिरहरु : ईश्वरकाजी खाइजू

इतिहासमै पहिलोपटक भैरवनाथको रथ बनेन : तेस्रोपटक बिस्का जात्रा प्रभावित

ईश्वरकाजी खाइजू

भक्तपुर । आठ दिन नौरातसम्म चल्ने भक्तपुरको प्रसिद्ध बिस्का जात्रा बिहीबारदेखि सुरु हुँदैछ । बिस्का जात्राको विधिविधानअनुसार बिहीबार द्य क्वहाँविज्याइगु (देवता तल सवारी हुने) जात्रा हुनेछ । जसअनुसार भक्तपुर नपा ५ टौमढीस्थित मन्दिरमा विराजमान भैरवनाथ उक्त दिन मन्दिरबाट तल ल्याएर प्यागोडा शैलीमा काठैकाठले निर्माण गरिएको तीनतले अजंगको रथमा विराजमान गराइन्छ । ठूल्ठूला चार पांग्रायुक्त उक्त रथलाई अगाडि र पछाडि दुईतिर मोटो डोरीले तानेर गःहिटी पु-याइएपछि बिस्का जात्राको पहिलो दिन सकिने प्रचलन रहेको छ ।
तर यसवर्ष कोरोना भाइरस संक्रमणको सम्भावनालाई ख्याल गरी भैरवनाथको रथ नतान्ने भएको छ । बिस्का जात्राअन्तर्गतका सम्पूर्ण जात्राहरु औपचारिक पूजामा मात्रै सीमित गर्ने निर्णय गरिसकिएको छ । जसअनुसार यस वर्ष बिस्का जात्राको लागि नयाँ रथ बनाउने कार्यसमेत बीचमै रोकिएको थियो ।
भक्तपुर नपाले चैत ४ देखि ८ गतेसम्म भक्तपुर महोत्सव मनाउने निर्णय गरेको त्यसैलाई लक्षित गरेर भैरवनाथको रथसमेत सुरु गरिएको थियो । जसअनुसार रथका चारवटा नयाँ पांग्रा तयार भइसकेको थियो । रथका तीन तलामा रहने छानासमेत तयार भइसकेको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्य बताउँछन् ।
उनका अनुसार यसवर्ष पूरै नभए पनि रथका अधिकांश पार्टपुर्जा नयाँ राखेर रथ बनाउने कार्य अघि बढेको थियो । जसअनुसार बेताल देवता विराजमान हुने बेतसिँ, त्यसलाई च्याप्ने काँसिँको लागि नयाँ काठ ल्याइसकिएको उनको भनाइ थियो ।
‘यस वर्षको बिस्का जात्रामा नयाँ काठ प्रयोग भएको रथ प्रयोग गर्ने लक्ष्य थियो’, गुठी प्रमुख कर्माचार्य भन्छन्, ‘तर कोरोना भाइरसको संक्रमण हुन नदिन भैरवनाथको रथ निर्माण नै बीचमा रोक्नु प-यो । बिस्का जात्रा पनि औपचारिक पूजामा सीमित गर्नुपर्ने भयो ।’
रथ निर्माण रोकिएकाले भक्तपुर नपा ५ टौमढीमा अहिले रथका सम्पूर्ण पार्टपुर्जा यत्रतत्र छरिएका छन् । बनेका चार पांग्रा चारदिशा फर्किएर वेवारिसे अवस्थामा छन् ।
अरु काठ पनि पाँच तले तथा भैरवनाथ मन्दिरको वरिपरि त्यत्तिकै अलपत्र पारिएका छन् ।
अघिल्ला वर्षमा जात्राको अघिल्लो दिनभित्रै ती सम्पूर्ण पार्टपुर्जा जोडिएर सिंगो भैरवनाथ रथ तयार भइसकेको हुन्थ्यो । रथ तयार भएर प्रत्येक छानामा रंगरोगन तथा रातो र सुनौलो कपडाको झल्लर झुन्डाइएको हुन्थ्यो । बेताल बस्ने बेतसिँ पहेंलो रंगले रंग्याइसकेको हुन्थ्यो । चार पांग्रामा महादेवका तीन नेत्र रुपी चित्र कोरिएको हुन्थ्यो । तर यस वर्ष यी कुनै कार्य हुन पाएन । भैरवनाथको रथ नै पूर्ण हुन पाएन ।

इतिहासमै पहिलोपटक भैरवनाथको रथ बनेन

इतिहासविद् तथा संस्कृतिविद्हरुका अनुसार भक्तपुरको बिस्का जात्राको इतिहासमा यसवर्ष पहिलोपटक भैरवनाथको रथ बन्न नपाएको हो । विविध कारणले बिस्का जात्रा रोकिए पनि भैरवनाथको रथ नबनेको भने यस वर्ष पहिलो पटक भएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन् ।
‘बिस्का जात्रा भने यसअघि दुईपटक रोकियो तर भैरवनाथको रथ बन्न रोकिएन’, उनले भने, ‘तर यस वर्ष कोरोना भाइरसको संक्रमण हुने आशंकामा भैरवनाथको रथ नै बन्न पाएन । जुन बिस्का जात्राको इतिहासमा पहिलोपटक हो ।’

कोरोनाको कारण तेस्रोपटक बिस्का जात्रा प्रभावित

संस्कृतिकर्मी धौभडेलले यस वर्ष कोरोना भाइरसको संक्रमणको कारण तेस्रो पटक बिस्का जात्रा प्रभावित हुन लागेको बताए । पहिलो पटक नेपाल संवत् ७४१ र दोस्रोपटक नेपाल संवत् ७८०–७८१ बिस्का जात्रा प्रभावित भएको उनको भनाइ थियो ।
उनका अनुसार नेपाल संवत् ७४१ मा बिस्का जात्राको पहिलो दिन नै तान्ने क्रममा भक्तपुर नपा ५ क्वाछेंमा भैरवनाथको रथ पल्टिएर क्षति ग्रस्त बन्न पुगेको थियो । त्यसबेला पुनः भैरवनाथको रथ बनाउन सम्भव नभएपछि सिंगो बिस्का जात्रालाई औपचारिक पूजामा सीमित गरिएको थियो ।
त्यस्तै नेपाल संवत् ७८०–७८१ मा काठमाडौंका राजा प्रताप मल्लले भक्तपुरमा आक्रमण गरेका थिए । बिस्का जात्राकै क्रममा भएको उक्त आक्रमणको कारण लिंगो ठडिएन । आफ्नो देश रक्षाका लागि सबै भक्तपुर बिस्का जात्राको लिंगो ठड्याउन छाडेर युद्धमा होमिएको इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।
त्यसबेला पनि बिस्का जात्राका बाँकी जात्रा तथा पूजाआजा रोकिएको उनको भनाइ थियो ।
भक्तपुरको मल्ल राजा जगतप्रकाश मल्लको ‘ऐतिहासिक घटनावली’, डा. डिल्लीरमण रेग्मीको ‘मध्यकालीन अभिलेख’ पुस्तक र विभिन्न थ्यासफुहरूमा यस घटनाबारे लिपिबद्ध गरिएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!