Connect with us

HEALTH

एचआईभी संक्रमितलाई हातहातमै एआरभी

Published

on

पाल्पाकी एचआईभी संक्रमित महिलालाई एआरभी औषधि उपलब्ध गराउँदै एनएपीएनका कर्मचारी । तस्बिर : एनएपीएन

भक्तपुर । राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल (एनएपीएन) ले एचआईभी संक्रमितको घरदैलो पुगेर हातहातमै जीवनदायिनी एन्टिरेट्रोभाइरल (एआरभी) औषधि वितरण गरेको छ ।
कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउनको समयमा पनि एनएपीएनले घरदैलोमार्फत संक्रमितको हातमा एआरभी पु-याएको हो ।
एनएपीएनका अध्यक्ष राजेश दिदियाले ७६ जिल्लामा रहेको संस्थाको सञ्जालले औषधि अभाव भएका एक हजार दुईसयभन्दा बढी संक्रमितलाई हातहातमा उक्त औषधि पु-याइएको जानकारी दिए ।
एचआईभी संक्रमितले भाइरसको प्रभाव कम गर्न दैनिक रुपमा एआरभी औषधि सेवन गर्नुपर्छ । औषधि छुटे भाइरसको प्रभाव बढेर संक्रमितको स्वास्थ्यमा असर गर्ने संक्रमितहरु बताउँछन् । सरकारले संक्रमितहरुलाई उक्त औषधि निःशुल्क गरेको छ । तर लकडाउनको कारण जिल्लास्थित एआरटी सेन्टर पुग्न नसकेका संक्रमितलाई एनएपीएनले घरसम्मै पुगेर औषधि वितरण गरेको अध्यक्ष दिदियाले बताए ।
‘लकडाउनअघि संक्रमितहरु १ वा दुई महिनामा एकपटक एआरटी सेन्टर पुगेर औषधि लिएर खान्छन्’, उनले भने, ‘तर लकडाउन भएपछि औषधि नभएका एक हजार दुईसय संक्रमितलाई घरसम्म पुगेर औषधि उपलब्ध गराएका हौं ।’
यसरी एआरभी पु-याउन जानेलाई व्यक्तिगत सुरक्षाका सामग्री उपलब्ध गराइएको उनको भनाइ थियो ।
देशभरका ७७ जिल्लामा ८० वटा एआरटी सेन्टर रहेका छन् । ती सेन्टरबाट अहिले करिब १८ हजार पाँचसय एचआईभी संक्रमितले एआरभी औषधि खाइरहेको एनएपीएनले जनाएको छ ।
एनएपीएनका वरिष्ठ फिल्ड अफिसर प्रकाशनाथ योगीले लकडाउनले गर्दा संक्रमितलाई एआरटीसम्म पुग्न समस्या भइरहेको बताए ।
उनका अनुसार नेपालमा एआरटी औषधिसमेत अभाव हुन थालेको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकूले दुई महिनाको लागि पुग्ने औषधि भएको बताएको उनको भनाइ थियो ।
तर लक डाउन अझै बढ्ने भएपछि संक्रमितहरुमा औषधि नपाउने चिन्ता बढेको अधिकृत योगी बताउँछन् ।
‘पर्याप्त एआरभी औषधि जोहो गर्न राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको ध्यानाकर्षण गर्दै आएका छौं’, उनले भने, ‘केन्द्रले अहिले दुई महिना पुग्ने स्टक भएको र थप औषधि मगाउने प्रक्रियामा रहेको बताएको छ ।’
अधिकृत योगीले लकडाउनका कारण संक्रमितहरुले खाद्यान्नलगायतको अभावसमेत भोग्न बाध्य भइरहेको जानकारी दिए ।
नेपालमा ३२ हजार सात सय ३५ जना एचआईभी एड्स संक्रमित रहेको अनुमान गरिएको छ । जसमा पुरुष २० हजार दुई सय ९४ र महिला १२ हजार पाँच सय ६१ जना रहेका छन् । त्यस्तै एक हजार एक सय ९१ जना बालबालिका रहेका छन् ।
नेपालमा दैनिक दुई जना नयाँ एचआईभी संक्रमित थपिने गरेको केन्द्रको तथ्यांक रहेको छ । त्यस्तै करिब एक हजार पाँचसय जनाको एचआईभी/एड्सको कारण ज्यान जाने गर्छ । एचआईभी एड्सकै कारण वर्षमा ३३ जनाको ज्यान जाने केन्द्रको तथ्यांक रहेको छ ।
नेपाल सरकारकाले सन् २०२० भित्र ९० प्रतिशत संक्रमितको पहिचान, ९० प्रतिशतलाई एआरटीको पहुँचमा ल्याउने र ९० प्रतिशतलाई एआरटीमा टिकाइराख्ने लक्ष्य लिएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!