Connect with us

HEALTH

कृषि तालिम केन्द्रमा क्वारेन्टाइन स्थल

Published

on

भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ बोडेस्थित कृषि तालिम केन्द्र । वेभ तस्बिर

भक्तपुर । सरकारले भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा ५० शय्याको क्वारेन्टाइन स्थल निर्माण प्रक्रिया अघि बढाएको छ ।
विदेशबाट आएका नेपालीहरुलाई सुरक्षित राख्न कृषि तालिम केन्द्र थप क्वारेन्टाइन स्थल निर्माण थालिएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले खरिपाटीस्थित क्वारेन्टाइन स्थलकै स्टान्डर्डमा कृषि तालिम केन्द्रमा अर्को क्वारेन्टाइन निर्माण अघि बढेको जानकारी दिए ।
यसअघि भक्तपुरकै चाँगुनारायण नगरपालिका ७ खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा १७५ शय्याको क्वारेन्टाइन स्थल निर्माण गरिएको थियो । उक्त क्वारेन्टाइनस्थलमा चीनको वुहानबाट उद्धार गरेर ल्याइएका १७५ जनालाई राखिएको थियो । त्यस्तै ती नेपालीहरुलाई उद्धार गरेर ल्याइएको नेपाल एअरलाइन्सको चालकदललगायत १८ जनालाई चाँगुनारायण नपा ६ नगरकोटस्थित खानेपानी तथा सरसफाइ तालिम केन्द्रमा निर्माण गरिएको क्वारेन्टाइन स्थलमा राखिएको थियो ।
यी दुई क्वारेन्टाइनस्थलको सफल सञ्चालनलाई आधार मानेर बोडेस्थित कृषि तालिम केन्द्रमा थप ५० शय्याको क्वारेन्टाइनस्थल निर्माण कार्य अघि बढाइएको हो ।
प्रहरी उपरीक्षक प्रधानका अनुसार खरिपाटीस्थित क्वारेन्टाइन स्थलमा विदेशबाट आएका ९६ जनालाई राखिएको छ । नगरकोटस्थित क्वारेन्टाइनस्थल भने अहिले खाली छ ।
‘आवश्यक परे नगरकोट क्वारेन्टाइन स्थललाई २५ शय्याभन्दा बढी पु-याउन सकिन्छ’, उनले भने, ‘तैपनि बोडेस्थित कृषि तालिम केन्द्रमा पनि ५० शय्याको क्वारेन्टाइनस्थल तयारी अवस्थामा राख्ने गरी काम अघि बढेको छ ।’
उनका अनुसार विदेशबाट आएका भक्तपुरका एकसय २० जनाको पहिचान भइसकेको छ । आवश्यक परे उनीहरुलाई समेत क्वारेन्टाइनमा राख्नुपर्ने हुनसक्ने उनले स्पष्ट पारे ।
भक्तपुरमा अहिलेसम्म कसैलाई कोरोना भाइरस संक्रमण भएको पाइएको छैन । कोरोना भाइरस संक्रमणको जस्तो लक्षण देखिएर आइसोलेसनमा राखिएका दुईजनाको रिपोर्ट नेगेटिभ आएपछि घर फर्काइसकिएको छ ।
त्यस्तै घरमै क्वारेन्टाइनमा बसिरहेका तर ज्वर आउने तथा रुघाखोकी लागेकाहरुको परीक्षणमा समेत कोरोना भाइरस नेगेटिभ आएको भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिए ।
उनका अनुसार भक्तपुरबाट रिपोर्ट पठाइएकामध्ये हालसम्म १५ जनाको कोरोना भाइरस संक्रमण नेगेटिभ आएको हो ।
भक्तपुर अस्पताललाई हब अस्पताल मानेर भक्तपुरका १० वटा अस्पताललाई सेटलाइट अस्पताल तोकिएको छ । जसअनुसार सर्वसाधारणलाई कोरोना भाइरसको संक्रमण भएको आशंका लागेमा हब तथा सेटलाइट अस्पतालमा गएर स्वास्थ्य परीक्षण गर्न आह्वान गरिएको छ ।
सेटलाइट अस्पताल तोकिएकोमा सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, सिद्धि स्मृति अस्पताल, डा. इवामुरा मेमोरियल अस्पताल, मध्यपुर अस्पताल, काठमाडौं मोडेल अस्पताल दुवाकोट, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, नागरिक सामुदायिक अस्पताल, वीपी नेत्र प्रतिष्ठान अस्पताल र आरोग्य अस्पताल रहेका छन् ।
जिल्लाका यी अस्पतालहरुमा ४६ शय्याको आइसोलेसन वार्ड व्यवस्था गरिएको छ । भक्तपुर अस्पतालमा १० शय्याको आइसोलेसन वार्ड रहेकोमा आवश्यक परे २१ शय्या पु¥याउन सकिने अध्यक्ष सुवालले बताए ।
त्यस्तै अंग प्रत्यारोपण केन्द्र, क्यान्सर अस्पतालमा ४/४, इवामुरामा ६, मध्यपुरमा ८, काठमाडौं मोडेलमा ४, नेपाल कोरिया मैत्रीमा ६, नागरिक र आरोग्यमा ३/३ तथा बीपी र सिद्धि स्मृतिमा १/१ वटा आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!