Connect with us

SOCIAL

कोभिड १९ नियन्त्रणमा दल र नेता–कार्यकर्ताको भूमिका

Published

on

अधिवक्ता राजकुमार सुवाल
एलएलएम

अहिले कोभिड १९ संक्रमणको प्रभावकारी नियन्त्रण आवश्यक छ । यसमा सरकार र जनताको भूमिका समान हुनुपर्छ । अहिले सुरक्षा निकाय, अस्पताल र डाक्टरलगायतका स्वास्थ्यकर्मीको भूमिका बढी देखिएको छ तर वर्तमान परिस्थितिमा कोभिड १९ को संक्रमणमा सबैको बराबरी भूमिका अपेक्षित छ । हालैको तथ्यांकअनुसार ५ जनामा ४ जना ग्रसित रहेको भन्ने तथ्य शतप्रतिशत ठीक होइन । यो तथ्यांक ९१७ जना सम्भावित संक्रमित व्यक्तिमा परीक्षण गर्दा पुष्टि भएको हो । जबकि यसको गणितीय विवेचना गर्दा नेपालको जनसंख्या ३ करोडलाई मान्दा ०.००३०५६६६७ प्रतिशत व्यक्तिको मात्र कोभिड १९ परीक्षण गरिएको अवस्था छ । परीक्षण शतप्रतिशत हुने अवस्थामा संक्रमितको गणितीय तथ्याङ्क हजारौंमा रहने अनुमान गर्न सकिन्छ । नेपालमा आन्तरिक संक्रमण भएको अहिलेसम्म पुष्टि भएको छैन । चीनमा जनवरी १० मा पहिलो दिन कोभिड १९ को संक्रमण पुष्टि भएको थियो । कोभिड १९ चीनमा अनियन्त्रित भएपछि छिमेकी मुलुकहरुमा समेत फैलिएको थियो । कोभिड १९ सम्बन्धी विश्व स्वास्थ्य संगठनको पहिलो प्रतिवेदन जनवरी २१ मा प्रकाशित भएको थियो । जसमा जनवरी २० सम्ममा विश्वभरि कोभिड १९ संक्रमितको संख्या जापान र कोरियामा १÷१, थाइल्याण्डमा २ र चीनमा २७८ गरी जम्मा २८२ जना थियो । संगठनको जनवरी २९ मा प्रकाशित प्रतिवेदनअनुसार यो संख्या बढेर ९० दिनमा विश्वभरका १९९ देश÷प्रशाशित क्षेत्रमा फैलिएर ६,३४,८३५ जना पुगेको थियो । जसमा अन्तिम एकदिनमा ६३,१५९ संक्रमित थपियो । यसबाट मृत्यु हुनको संख्या दिनानुदिन बढिरहेको छ । यो संक्रमण नेपालसँगै नयाँ ९ देशमा देखापरेर १,३२० जनालाई प्रभावित पारेको छ । संक्रमण पुष्टि भएको दुई महिना (२५ मार्च) भित्र यो संख्या बढेर १९६ देश÷प्रशाशित क्षेत्रका ४,१३,४६७ जना संक्रमित भैसकेका छन् । यस अर्थमा कोभिड १९ को संक्रमणको फैलावटको प्रकृति गणितीय प्रारुपमा चेसबोर्डको दुगुना प्रकृति (1x2x4x16x256x65536) मा भइरहेको प्रमाणित भएको छ । यस अर्थमा कोभिड १९ को संक्रमणको गम्भीरता आंकलन गर्न पनि कठिन हुन पुगेको छ । यसको साथै कोभिड १९ भाइरसको आनुवांसिक बनावट र यसको प्रकृति पनि यसको नियन्त्रणको लागि गम्भीर समस्याको कारण बन्न पुगेको छ । यो कोभिड १९ भाइरसको आयु मानव शरीरमा दुई हप्तापछि सक्रिय हुँदैन भनिएको छ तर यसबीचमा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण भइसकेपछि सो भाइरसले पुनर्जीवन पाई थप दुई हप्ताको आयु पाएको हुने अवस्था जनस्वास्थ्यको लागि गम्भीर विषय हो । जसले गर्दा कोभिड १९ भाइरस संक्रमणको निरन्तरता रोकथाम अत्यन्त कठिन भएको देखिन्छ । यही निरन्तरता अर्थात कोभिड १९ भाइरस चेनलाई ‘ब्रेक’ गर्नु, चिर्नु अपरिहार्य भएको छ । यसको लागि अहिले नेपाल र नेपालीले ‘लकडाउन’ सहिरहेका छौं ।
मुलुक ‘लकडाउन’ मा भए पनि देशमा आर्थिक, सामाजिक तथा साँस्कृतिक कारणले गर्दा यो शतप्रतिशत प्रभावकारी रुपमा अवलम्वन गर्न सकिएको छैन । यस अवस्थामा अस्पताल तथा स्वास्थ्यकर्मीले संक्रमित भै वा संक्रमणको आशंकामा रहेका व्यक्तिको रेखदेख गर्ने र थप संक्रमण फैलन नदिन अहम् भूमिका निभाइरहेका छन् । सुरक्षा निकायको भूमिका जनतालाई समूचित संयमित गर्ने कुरामा सीमित भएको छ । यस विषम परिस्थितिमा विगत एक महिनामा मात्र पनि लाखौंको संख्यामा नेपाली नागरिक विदेशबाट नेपालमा फर्केका थिए । अझै फर्कने क्रम जारी नै रहेको छ । विदेशबाट फर्केका व्यक्तिहरुको हालसम्म सरकारले व्यवस्थित निगरानी गर्न सकेको छैन । यस विषयमा जनताले सरकारको आलोचना गरिरहेका छन् । यस्ता केही महत्वपूर्ण पक्षमा सरकार चुकेकोमा दुईमत छैन । तर ढिलै भए पनि तुलनात्मक रुपमा समयमै सरकारले पूर्व सावधानी अपनाएर ‘लकडाउन’ को घोषणा गरेको छ । सरकारको आलोचनाकै बीच केही राहतका कार्यक्रम पनि तय गरिएको छ । समग्रमा नेपाल सरकार, सुरक्षा संयन्त्र तथा स्वास्थ्य क्षेत्र आ–आफ्नो क्षमताअनुसार कोभिड १९ को संक्रमण नियन्त्रण गर्न प्रयासरत छन् । नेपाली जनता कोभिड १९ को सिथिलता अर्थात कोरोना फर्कने प्रतिक्षामा छन् तर वास्तवमा कोरोना फर्कने वा आउने नभई तपाई हामीले नै लिएर जाने आउने हो । त्यसैले सर्वसाधारणको आवतजावत रोकिएको हो । यस्तो अवस्थामा कोभिड १९ भाइरस पनि स्थिर रहने भएको हुँदा तपाई हामी पनि स्थिर भै घरमै बस्नुको विकल्प छैन ।
तर के यति भन्दैमा जनताले आफू सुरक्षित भएको महसुस गर्लान् ? के नेपाल सरकार, सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीको प्रयासले मात्रै लक्ष्य प्राप्त होला ? यो प्रश्नको जवाफ सधैं नकारात्मक हुने निश्चित छ किनभने कोभिड १९ हाम्रै वरिपरि रहेको छ । हामी जानी नजानी सोको सम्पर्कमा निरन्तर अगाडि बढिरहेका छौं चाहेर, नचाहेर वा जानेर, नजानेर । अतः अहिलेसम्मको सुरक्षाका पूर्वसावधानी र अवलम्बन गरिएको उपायमा सुरक्षा निकाय र स्वास्थ्यकर्मीमा सीमित भएको अवस्थामा जनता भने सरकारको प्रतिक्षा गरिरहेका छन् । जबकि हामी कतिलाई थाहा छ, कतिलाई थाहा छैन कि सरकारले मात्र यो चुनौती सामना गर्न सक्ने अवस्था छैन । यो चुनौती अब राष्ट्रको भइसकेको छ । राष्ट्र निर्माणमा लागिपरेका राजनैतिक दलको भूमिका अहिलेको परिस्थितिमा अपरिहार्य भएको छ । नेपाल जस्तो मुलुकमा जनताको घरदैलोसम्म सरकार होइन बरु राजनैतिक दलको पहुँच पुगेको हुन्छ । सरकारले हैन राजनैतिक दल र यसका प्रणाली र संरचनाले जनताका घरदैला चहारेका हुन्छन् (कम्तिमा पनि चुनावको बेलामा) । जनताको वर्तमान वास्तविक तथ्याङ्क २०७८ सालको जनगणनामा मात्र अद्यावधिक गर्न सकिने अवस्था छ । सरकारको पहुँच स्वास्थ्यकर्मी तथा सुरक्षा निकायको माध्यमबाट जनताको घरदैलोमा सीमित छ । सुरक्षा निकायको पहुँच मूलबाटोको चोकमा सीमित रहँदै आएको छ । स्वास्थ्यकर्मीको पहुँच अस्पतालको चौघेरामा । यस अवस्थामा घरघरमा रहेको सम्भावित संक्रमित व्यक्तिको बारेमा सूचना संकलन, निजको पृथकीकरण, रेखदेख, उत्प्रेरणा, चेतना अभिवृद्धिलगायत संक्रमणको सम्भावित खतराको व्यवस्थापन तथा नियन्त्रण गर्ने कार्यमा वास्तविक रुपमा सरकारको पहुँच नरहेको प्रस्ट छ ।
यसरी सरकारको वास्तविक पहुँच नै नरहेको अवस्थामा स्थानीय सरकारले यो जिम्मेवारी बहन गर्नुपर्छ । केही स्थानीय सरकारले यो कुराको थालनी पनि गरिसकेको देखिन्छ । जुन सराहनीय छ । फेरि पनि देशको लक्ष्य पूरा हुन विविध कारणले सकेको छैन । यस अवस्थामा कोभिड १९ को संक्रमित व्यक्तिको सम्भावित पहिचान, निजको सूचना संकलन, पृथकीकरण, रेखदेख, उत्प्रेरणा, चेतना अभिवृद्धिलगायतको कार्य गर्न जनताको घरदैलोसम्मको वास्तविक पहुँच स्थानीय सरकारको तुलनामा स्थानीय राजनैतिक दलको हुने प्रस्ट छ । यस अर्थमा अबको दिनमा सरकारको एकतर्फी आलोचनामा समय नष्ट गर्नुको सट्टा हरेक राजनैतिक दलले यसको दायित्व र कर्तव्यबोध गरी अघि बढ्नुको अर्को प्रभावकारी उपाय छैन । मुलुकभर गाउँगाउँ, गल्लीगल्ली, लेकवेंसी, घरदैलोमा फैलिएर आफ्नो राजनैतिक उद्देश्य पूर्तिका लागि गरिने मेहनतलाई नवस्फुर्ति दिँदै पुनः हरेक राजनैतिक दल र त्यसका नेता तथा कार्यकर्ताले आ–आफ्नो स्थानबाट घरदैलोे गरी जनवरी १० पछि विदेशबाट घर फर्केका नेपालीको विस्तृत तथ्याङ्क संकलन गर्न ढिलो भइसकेको छ । यसरी संक्रमणको सम्भावित व्यक्ति, निजको परिवार, निजको विगतको दैनिकी, निजको सम्पर्कमा आएका व्यक्तिहरुलगायतको विस्तृत तथ्याङ्क संकलन गर्ने कार्य गर्न राजनीतिक दल र त्यसका नेता तथा कार्यकर्ता परिचालन हुनु अत्यन्त जरुरी भएको छ । तथ्याङ्क संकलनमा स्थानीय सरकारको सक्रिय पहुँच भएको स्थानमा स्थानीय सरकारलाई सहयोग गर्नु उनीहरुको जिम्मेवारी एवं दायित्वभित्र पर्छ । स्थानीय सरकारको सक्रिय पहुँच नरहेको स्थानमा स्थानीय राजनैतिक दल र नेता तथा कार्यकर्ताले आ–आफ्नो स्थानबाट सो कार्य गर्न ढिलाइ गर्नु हुन्न । तथ्याङ्क संकलनपछि संक्रमित, संक्रमितको परिवार, निजको दैनिक सम्पर्कमा आएका व्यक्ति र निजहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान अहिलेको प्रमुख आवश्यकता हो । ती व्यक्तिहरुको पहिचान र वर्गीकरणपछि निजहरुलाई आवश्यक रुपमा पृथकीकरण, रेखदेख, उत्प्रेरणा, चेतना अभिवृद्धिलगायत संक्रमणको सम्भावित खतराको व्यवस्थापन तथा नियन्त्रण गर्ने कार्यमा राजनीतिक दल र त्यसको नेता तथा कार्यकर्ता चुक्नु हुन्न । यस कार्यमा देशको जिम्मेवार राजनैतिक दलको दायित्व र कर्तव्य तुलनात्मक रुपमा महत्वपूर्ण रहने भए तापनि मुलुकको समृद्धि र विकासको लागि प्रतिबद्ध अन्य राजनैतिक दलको भूमिका पनि गहन हुने कुरामा दुईमत नहोला । राष्ट्र सेवामा जुन राजनैतिक दल, नेता, कार्यकर्ताले अनिवार्य सहभागिता जनाउँछ, जनताले सोहीबमोजिम भविष्यमा सही मूल्याङ्कन गर्ने निश्चित छ । यस विषम घडीमा आफ्नो मुलुक र जनताको रक्षा र समृद्धिको लागि राजनैतिक दल कुनै द्वेष र संकोच नराखी उल्लेखित कार्य गर्न तदारुक बन्नु अहिले अवस्थामा बाञ्छनीय छ । उनीहरुलाई स्थानीय सरकार, सुरक्षा निकाय, स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थासँग सहकार्य गरी जनता र देशको वास्तविक सेवा गर्ने र आफ्नो आकार जनतासामु चिनाउने सुवर्ण अवसर यही हो । यसलाई चुक्न नदिने दायित्व सबै राजनैतिक दलको रहेको छ । यो नै राजनैतिक दल र तिनका नेता तथा कार्यकर्ताको सम्पूर्ण रुपमा निःस्वार्थ राजनीति सिद्ध हुनेछ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!