Connect with us

SOCIAL

‘नेपालको औपचारिक शिक्षामा सुधार खाँचो’

Published

on

सोलिडारिटी ट्राक्सको ‘एस क्लव : युवा उद्यमी सामाजिक क्लव’ सुभारभ्म कार्यक्रमका सहभागी । तस्बिरहरु : इन डेप्थ

भक्तपुर । नेपालसहित आठ देशका सामाजिक उद्यमशीलताका अभियन्ताहरुले नेपालको औपचारिक शिक्षामा सुधारको खाँचो औल्याएका छन् ।
नेपालसहित भारत, भियतनाम, स्पेन, ग्रीस, रोमानिया, फ्रान्स र अर्जेन्टिनाका अभियन्ताहरुले नेपालको शिक्षामा सामाजिक उद्यमशीलतालाई समावेश गर्नसमेत माग गरेका छन् ।
सामाजिक संस्था सोलिडारिटी ट्राक्सको पहलमा भक्तपुरमा भएको ‘एस क्लव : युवा उद्यमी सामाजिक क्लव’ कार्यक्रमको सुभारम्भमा उनीहरुले नेपालको औपचारिक शिक्षाले आफ्नै समाजका समस्या पहिचान तथा समाधानमा कुनै योगदान नगरेको निष्कर्ष निकालेका हुन् ।
भक्तपुरस्थित टोइट (टीओआइटी) को संयोजनमा भएको उक्त कार्यक्रममा ट्राक्सका अध्यक्ष मोहम्मद चाबौनीले शिक्षामात्रै पाउनु ठूलो कुरा नभएको तर लिएको शिक्षाले आफू बस्ने समाजका समस्या पहिचान गर्दै समाधानतर्फ अग्रसर गराउनुपर्नेमा जोड दिए ।
‘सामाजिक उद्यमशीलतासहितको शिक्षाले युवाहरुलाई स्वरोजगार बनाउँछ’, उनले भने, ‘यसले आफू बसेको समाजका समस्या पहिचान गर्न सघाउँछ । त्यसलाई समाधान गर्न आफ्नो योगदान गर्न उत्साहित र उत्प्रेरित गर्छ ।’
अध्यक्ष चाबौनीले संस्थाले आठ देशका युवाहरुलाई अनलाइनमार्फत सामाजिक उद्यमशील बनाउने जानकारी दिए । जसको लागि एस क्लव कार्यक्रम अघि सारिएको उनले स्पष्ट पारे ।


उक्त कार्यक्रममा कम्तीमा पाँचजना युवाहरुको समूह आवश्यक पर्छ । जसले अनलाइनमार्फत आफू बसेको समाजका समस्या पहिचान गर्छ । समस्यासँगै समाधान गर्न समुदायमा उपलब्ध स्रोतसाधनको पहिचानपछि त्यसलाई समुदायस्तरबाटै के कसरी समाधान गर्नेबारे उक्त समूहलाई टुल्ससहित (उपाय) स्पष्ट गरिने ट्राक्सका स्रोत व्यक्ति सिडिकले बताए ।

‘युवाहरुलाई आफ्नो समुदायको समस्या पहिचानपछि त्यसको समाधान समुदायस्तरबाटै गर्ने उपायबारे संस्थाले सहयोग गर्छ’, उनले भने, ‘समुदायमा छिटो प्रतिफल प्राप्त हुने योजनामा समेत संस्थाले आवश्यकताअनुसार आर्थिक सहयोग गर्छ ।’
संस्थाका नेपाल प्रतिनिधि एवं टोइटका संयोजक इन्द्रप्रसाद खाइतूले उक्त कार्यक्रममा नेपालका दुईसय ३७ जना युवाहरु आवद्ध भइसकेको जानकारी दिए ।
उनका अनुसार कार्यक्रमबाट एकपटक आर्थिक सहयोग भएपछि उक्त परियोजना दोस्रो वर्षपछि आत्मनिर्भर भई निरन्तर चल्नुपर्छ र त्यसले आयआर्जन अभिवृद्धिसमेत गर्नुपर्छ ।
‘कार्यक्रमले सधैं आर्थिक सहयोग गरिरहँदैन’, संयोजक खाइतूले भने, ‘अर्को वर्षदेखि परियोजना आत्मनिर्भर हुनुपर्छ । फेरि त्यसले समाजमा सकारात्मक प्रभाव पर्नुपर्छ ।’
कार्यक्रममा आवद्ध नेपाली युवाहरुले आफू बसेको समाजभन्दा देशकै समस्यालाई बढी औंल्याएको उनी बताउँछन् ।
‘कार्यक्रमले स्थानीय समस्या, जुन समुदायस्तरमै समाधान हुने खालका परियोजनाको प्रस्ताव आह्वान गरेको थियो’, उनले भने, ‘तर हाम्रा युवाहरुले देशमा व्याप्त भ्रष्टाचार, वातावरण प्रदूषणलाई बढी समस्याको रुपमा देखे ।’
यसले नेपालकै शिक्षामा समस्या रहेको आफूहरुको निष्कर्ष रहेको उनको भनाइ थियो । त्यसैले नेपालको औपचारिक शिक्षामा सामाजिक उद्यमशीलताको विषय पनि समेट्नुपर्नेमा जोड दिइएको उनी बताउँछन् ।
ट्राक्सको कार्यक्रममा हाल विश्वका दुई हजार चारसय २० युवाहरु सहभागी भएका छन् । युथइक्लवडटईयूमा गएर जुनसुकै देशका युवाले खुला रुपमा सामाजिक उद्यमशीलता नेटवर्कमा सहभागी हुन सकिने ट्राक्सका अध्यक्ष चाबौनी बताउँछन् ।

 

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!