Connect with us

SOCIAL

भक्तपुरबाट लागूऔषधसहित पाँच पक्राउ

Avatar

Published

on

Web Picture

भक्तपुर । प्रहरीले लागूऔषधसहित एक भारतीय र चार नेपालीलाई भक्तपुरका दुई ठाउँबाट पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट प्रतिबन्धित नाइट्रोपाम ३३० ट्याब्लेट र डाइजेपाम ३७ थान र फेनेरागन ३० थान बरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुरको मध्यपुर थिमि नपा ४ चारदोबाटोबाट तीन जना नेपाली र सूर्यविनायक नपा १ सिरुटारबाट एक भारतीय र अर्को नेपालीलाई नियन्त्रणमा लिइएको हो ।
काठमाडौंको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्युरो र भक्तपुर परिसरबाट खटिएको प्रहरी टोलीले चारदोबाटोबाट नाइट्रोपाम ३३० ट्याब्लेटसहित तीनजनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले सिन्धुपाल्चोकको यमुना डाँडा गापा ४ बस्ने २६ वर्षीय रामकुमार खड्का, भक्तपुरको सूर्यविनायक नपा ५ कटुन्जे बस्ने २५ वर्षीय राधे मग्राती र काभ्रेको नमोबुद्ध नपा ३ बस्ने १९ वर्षीय सुरेश भुजेललाई पक्राउ गरेको भक्तपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
त्यस्तै सूर्यविनायक नपा १ सिरुटारस्थित पुरुषोत्तम मिश्रको घर निर्माणको काम गर्दै आएका मोरङको कञ्चनबारी गापा ९ घर भई हाल काठमाडौं थानकोट बस्ने ३१ वर्षीय मनोज अधिकारी र भारत मोतिहारी जिल्ला घर भई हाल सिरुटारमै बस्ने ४३ वर्षीय मनेजर शर्मालाई डाइजेपाम ३७ थान र फेनेरागन ३० थानसहित नियन्त्रणमा लिएको उनले बताए ।
उनका अनुसार पाँचैजनालाई भक्तपुर जिल्ला अदालतमा पेश गरी लागूऔषधसम्बन्धी कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM