Connect with us

HEALTH

बुटवलमा बिहीबार अन्तर्राष्ट्रिय कण्डम दिवस मनाइने

Avatar

Published

on

पत्रकार सम्मेलनका सहभागी । तस्बिर : इन डेप्थ

साउण्ड वेभ ब्याण्डको साथमा बृहत सांस्कृतिक कार्यक्रम

बुटवल । अन्तराष्ट्रिय कण्डम दिवसका अवसरमा बिहीबार बुटवलमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । बुटवलको ट्राफिक चोकमा उक्त बृहत सांस्कृतिक कार्यक्रम हुने भएको हो । बिहीबार फेब्रुअरी १३ अर्थात् अन्तर्राष्ट्रिय कन्डम दिवस परेको छ ।
बुटवलस्थित आस्था समूह र सहयोगी संस्था एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपालले बुधबार पत्रकार सम्मेलन गरी उक्त कार्यक्रम हुनेबारे जानकारी गराएका हुन् ।
कार्यक्रममा आस्था समूहका अध्यक्ष केशव पुनमगरले कण्डम दिवसको अवसर पारेर एचआइभी एड्सबाट जोगिन कण्डमको भूमिका महत्वपूर्ण हुुन्छ भन्ने बुझाउन र कण्डमको प्रयोगबारे सन्देश दिन सांस्कृतिक कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
एएचएफनेपालका क्षेत्रीय कार्यक्रम संयोजक धर्मराज भट्टराईले एड्सबाट बच्न कण्डमको अहम् भूमिका रहने स्पष्ट पारे । एड्स रोग र यसको यस क्षेत्रको अवस्थाबारे जानकारी दिँदै संयोजक भट्टराईले सन् २०१२ बाट एएचएफ नेपालले तत्कालीन लुम्बिनी अञ्चल अस्पताल (हाल लुम्बिनी प्रादेशिक अस्पताल) मा निरन्तर एचआईभी एड्स परीक्षण र उपचार सेवा प्रदान गर्दै आएको बताए ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट १ हजार २ सय २० जनाले एड्स रोगसम्बन्धी उपचारको सेवा लिइरहेको उनको भनाइ छ । जसमध्ये गतवर्ष सेवा लिनेमा रुपन्देहीका ९१३ जना र नयाँ ६९ जना रहेका छन् । त्यसैगरी गतवर्ष एड्स रोगबाट मृत्यु हुनेको संख्या ३४ रहेको छ ।
९ जना एड्स पीडित आमाबाट एचआइभी सक्रमणरहित शिशुु जन्माउन सफल भएको उनले बताए । उनका अनुसार एचआइभी एड्सको रोकथामका लागि गत वर्ष एएचएफ नेपालले ५० हजार कण्डम वितरण गरेको थियो ।
संयोजक भट्टराईले विशेषगरी यौनकर्मी र आप्रवासी कामदारका श्रीमतीहरुमा यस रोगको जोखिम बढी रहेको बताए ।
कण्डम दिवसका अवसरमा एड्स र कण्डमबारे सचेतना जगाउन आयोजना गरिएको कार्यक्रममा आस्था समूहद्वारा नाटक, बुटवलकै साउण्ड वेभ ब्याण्डद्वारा सांगीतिक प्रस्तुति र तेस्रो लिङ्गीहरुको पनि प्रस्तुति रहने आस्था समूहका अध्यक्ष पुनले जानकारी दिए ।
दिउँसो एकबजेदेखि राती ८ बजेसम्म चल्ने कार्यक्रममा एकघण्टा सामाजिक विकास मन्त्रालय प्रदेश ५ को औपचारिक कार्यक्रमसँगै एड्स र कण्डमसँग सम्बन्धित विभिन्न प्रस्तुतिहरु रहने पुनको भनाइ छ । सोही कार्यक्रममा कण्डमको प्रयोगसम्बन्धी जानकारी गराउँदै निःशुल्क कण्डम वितरण गरिने बताइएको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसी, इन्सेक प्रतिनिधि रीमा बीसीलगायतको सहभागिता रहेको पत्रकार सम्मेलनमा संयोजक भट्टराईले कण्डमको प्रयोगबारे जानकारीमूलक प्रदर्शन गरेका थिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM