Connect with us

SOCIAL

भक्तपुरमा संगीत प्रवीण स्व. ढकालको सम्झना

Avatar

Published

on

संगीत प्रवीण स्व. नरराज ढकालको सम्झनामा आयोजित कार्यक्रममा आफ्नो प्रस्तुति प्रस्तुत गर्दै सौम्य कक्षपति । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुरमा संगीत प्रवीण स्व. नरराज ढकालको सम्झना गरिएको छ ।
शास्त्रीय संगीतज्ञ स्व. ढकालको सम्झनामा शनिबार भक्तपुरमा शास्त्रीय संगीत प्रस्तुत गरिएको हो ।
आराधना समूह र संगीत ग्राम गुरुकुल नेपालले आयोजना गरेको कार्यक्रममा आठ वर्षीया सौम्य कक्षपतिले गणेश बन्दना प्रस्तुत गरेकी थिइन् । उनलाई तबलामा महेन्द्र सिंख्वाल र हार्मोनियममा सुनिल लोहलाले साथ दिएका थिए ।
सितारबादक अनिल धितालले राग बृन्दावनी सारंगमा आधारित सुर बहार प्रस्तुत गरे । अनिललाई भक्तपुरकै चर्चित तबलाबादक अनन्त प्रजापतिले तबलामा साथ दिए ।
नेपाली शास्त्रीय संगीतका पर्याय संगीतज्ञ स्व. ढकालले नेपाली संगीतमा अद्वितीय योगदान दिएका छन् । उनको योगदानको कदरस्वरुप उनलाई संगीत प्रवीणको उपाधि दिइएको छ ।

Posted by Albert Bajracharya on Saturday, February 8, 2020

कार्यक्रममा स्व. ढकालका सुपुत्रद्वय प्रभुराज ढकाल र प्रतीकराज ढकालले समेत राग भीमपलासीमा आधारित शास्त्रीय गायन प्रस्तुत गरेका थिए । प्रभुराज र प्रतीकराजलाई तानपुरामा महेन्द्र सिंख्वाल, तबलामा अनन्त प्रजापति र हार्माेनियममा सुनिल लोहलाले साथ दिएका थिए ।
कार्यक्रम स्व. ढकालका छोरा प्रभुराजले यस्ता स्रष्टाहरुको सम्मानमा गरिने कार्यक्रमले भक्तपुरमा शास्त्रीय संगीतको विकास र प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।
उनले शास्त्रीय संगीतको क्षेत्रमा नयाँ पुस्तालाई अघि बढाउनु अग्रज स्रष्टाहरुप्रतिको साँचो सम्मान र श्रद्धाञ्जली हुनेसमेत बताए ।
कार्यक्रम संयोजक शम्भोचरण राजभण्डारीले यस्ता कार्यक्रम त्रैमासिक रुपमा निरन्तर अगाडि बढाउने जानकारी दिए ।
शास्त्रीय संगीतको उत्थान गर्न यस्ता कार्यक्रम गरिरहने संगीत ग्राम गुरुकुलका प्रमुख सुनिल लोहलाले बताए ।
भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रवीण शाहीले संगीतको मुख्य आधार शास्त्रीय संगीत रहेकोले यसको महत्व सदैव रहने स्पष्ट पारे ।
संगीत ग्राम गुरुकुल नेपाल र आराधना संगीत समूहले यसअघि वरिष्ठ तबलाबादक स्व. रविनलाल श्रेष्ठको सम्झनामा समेत शास्त्रीय बादन र गायन कार्यक्रम आयोजना गरेको थियो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM