Connect with us

SOCIAL

मल्ल राजकुमार बसेको भक्तपुरको माधवनारायण ब्रतलाई उपेक्षा

Avatar

Published

on

भक्तपुर टौैमढीस्थित तीलमाधवनारायणमा पूजाआजा गर्दै माधवनारायणका व्रतालु । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । एक महिनासम्म बस्ने भक्तपुरको श्रीस्वस्थानी एवं माधवनारायणको व्रत ओझेलमा पर्दै आएको छ । मल्ल राजकुमारसमेत बसेको भक्तपुरको माधवनारायणको व्रतले चर्चा पाउन नसकेको हो ।
भक्तपुरको माधवनारायण व्रत काठमाडौंको साँखुस्थित शाली नदीमा बस्ने व्रतभन्दा पुरानो मानिन्छ । तर यहाँ व्रत बस्नेहरुको संख्या दिनानुदिन घटिरहेको छ । शाली नदीमा भने व्रतालुसँगै मेला भर्न पुग्ने भक्तजन निरन्तर बढिरहेको छ । तर भक्तपुरमा पनि श्रीस्वस्थानी एवं माधवनारायणको व्रत बस्नेबारे धेरैलाई जानकारी छैन ।
हिन्दू परम्पराअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हिन्दू नारीहरु माधवनारायणको एक महिना लामो कठिन व्रत बस्ने गर्छन् । जसअनुसार भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक हनुमानघाट तीर्थस्थलमा यो एकमहिने कठिन व्रत बस्ने प्रचलन रहँदै आएको छ । भक्तपुरको मूलबस्ती उत्तरतर्फ खासाङखुसुङ खोला र दक्षिणतर्फ हनुमन्ते खोलाले घेरिएर बीचमा शंख आकारमा बसेको छ । यसमध्ये हनुमन्ते खोला दक्षिण पूर्वबाट भद्रा र उत्तर पूर्वबाट बीरा (तब्या खुसी) नामका दुई खोला बग्दै हनुमानघाट पुगेपछि जमिन मुनिबाट उत्पत्ति भएको तमसा नदीसँग मेल भई त्रिवेणीको रुप लिई पश्चिमतर्फ बग्दछ ।
यही पवित्र धार्मिक, साँस्कृतिक तीर्थको रुपमा रहेको त्रिवेणीमा करिब ६ सय वर्षअघि माधवनारायणको व्रत बस्न थालिएको संस्कृतिविद्हरु बताउँछन् । उनीहरुको अनुसार माधवनारायण व्रतबारे मल्ल राजा जयस्थिति मल्लपछि उनका छोराहरु धर्म मल्ल, ज्योति मल्लको संयुक्त शासनकालमा ने.स. ५२८ मा भक्तपुर वाकुपति नारायणको गरुडस्तम्भमा स्पष्टसँग उल्लेख गरिएको छ ।
उक्त स्तम्भमा उल्लेखित ‘माघ व्रत गोष्ठी’ तत्कालीन समयमा माघ महिनाभरि माधवनारायणको व्रत बस्ने, भजन गर्ने जस्ता विविध सांस्कृतिक मेला भएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन् । उनका अनुसार त्यसबेला माघ व्रत गोष्ठी सञ्चालन गर्न गुठीको व्यवस्था गरिएको थियो ।
संस्कृतिकर्मी धौभडेलले ने.सं ७२२ देखि हनुमानघाटमा अझ व्यवस्थित रुपमा माधवनारायण व्रत चलेको देखिएको जानकारी दिए ।
उक्त समयमा भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लको पालामा उनका छोरा अजितसिंह मल्लको अगुवाइमा हनुमानघाटमा माधवनारायण व्रत सञ्चालन भएको इतिहास पाइएको उनले स्पष्ट पारे ।
‘मल्ल कालमा राजकीय तहबाटै हनुमानघाटमा हुने माधवनारायण व्रतको तयारी हुन्थ्यो’, उनले भने, ‘तर अहिले यसबारे थोरैले मात्रै चासो लिएको पाइन्छ ।’
व्रत व्यवस्थापन गर्न भने माधवनारायण व्रत व्यवस्थापन समिति बनाइएको छ । हालसम्म सोही समितिको पहलमा व्रत निरन्तर चल्दै आएको छ । समितिका अनुसार यस वर्ष २० पुरुष र पाँच महिला गरी २५ जना व्रत बसेका छन् ।
संस्कृतिकर्मी धौभडेलका अनुसार साँखुको माधवनारायण व्रतभन्दा भक्तपुर हनुमानघाटको व्रत अत्यन्त कठोर मानिन्छ । यहाँ व्रत बस्नेहरुले व्रतअवधिभर अरुलाई छुन नहुने जनविश्वास रहेको छ । त्यस्तै बाटोमा हिँड्दासमेत व्रतालुले अरुको छायाँ पर्न दिन नहुने प्रचलन रहेको उनले बताए ।
‘हनुमानघाटमा व्रत बस्नेहरुलाई कुनै चिजबिच दान दिनुपरे उक्त व्यक्तिले समेत त्रिवेणीमा स्नान गरी नङ्ग छुवाउनुपर्ने कठोर नियम रहेको छ’, संस्कृतिकर्मी धौभडेलले भने, ‘त्यसैले यहाँ व्रत बस्नेहरुको आकर्षण घट्दै गएको छ । अन्य भक्तजन पनि कम पुग्ने गरेका छन् ।’
साँखुका व्रतालुले जस्तै यहाँका व्रतालुले पनि भक्तपुर नगरका विशेष गरी नारायण मन्दिरमा गई पूजाआजा गर्नुपर्छ । यहाँका व्रतालु परदेश यात्राको लागि काठमाडौंको पशुपति र काभ्रेको पनौतीसम्म पुग्छन् । त्यस्तै भक्तपुर दरबार क्षेत्रस्थित तलेजुकहाँ पनि परदेश यात्रा गर्छन् ।
साँखुको शालीनदीमा व्रत बस्नेहरु पनि परदेश यात्राको क्रममा पशुपतिनाथ, फर्पिङ, काभ्रेको पनौती र भक्तपुरको चाँगुनारायण पुग्छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM