Connect with us

SOCIAL

महायज्ञबाट एक करोड १४ लाख संकलन

Published

on

चाँगुनारायण माविमा भएको सप्ताहव्यापी ज्ञान महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै स्वामी कमल नयनाचार्य । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका १ स्थित चाँगुनारायण माध्यमिक विद्यालयमा आयोजित सप्ताहव्यापी ज्ञान महायज्ञबाट एक करोड १४ लाख रुपैयाँ संकलन भएको छ । जसमध्ये ६६ लाख रुपैयाँ नगद र ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता व्यक्त भएको हो ।
चाँगुनारायण माविमा प्राविधिक शिक्षाको अध्यापन गर्न गराउन आर्थिक संकलन गर्ने उद्देश्यले उक्त महायज्ञ गरिएको थियो । जसअनुसार एकहप्ते महायज्ञबाट उक्त आर्थिक सहयोग संकलन भएको महायज्ञका संयोजक उद्धव खड्काले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका खड्काले महायज्ञ सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च भएको बताए ।
उनले अपेक्षाकृत आर्थिक संकलनबाट विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन सुनिश्चित भएको सुनाए ।
‘महायज्ञबाट अपेक्षाकृत आर्थिक सहयोग संकलन भएको छ’, अध्यक्ष खड्काले भने, ‘विद्यालयमा अब प्राविधिक शिक्षा सञ्चालन सुनिश्चित भयो ।’
महायज्ञ मूल समारोह समितिका कोषाध्यक्ष विष्णुहरि थापाले महायज्ञमा उपस्थित प्रदेश सांसद कृष्णलाल भँडेलले आफ्नो संसद विकास कोषबाट १० लाख रुपैयाँको योजना उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् ।
त्यस्तै जिल्ला समन्वय समिति भक्तपुर प्रमुख नवराज गेलालले १० लाख, चाँगुनारायण नपा वडा नं. १ का अध्यक्ष राजेश खड्काले १५ लाख, वडा नं. ३ का अध्यक्ष श्यामसुन्दर धिमालले १२ लाख र वडा नं. ४ का अध्यक्ष बुद्धिलाल महर्जनले १० लाख रुपैयाँ बराबरको योजना सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको कोषाध्यक्ष थापाले जानकारी दिए ।
त्यस्तै विद्यालयका पूर्वविद्यार्थी प्रकाश सापकोटाले एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । दुवाकोटस्थित नेपाल इञ्जिनियरिङ कलेजले एक लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सप्ताहव्यापी महायज्ञको आइतबार समापन गर्दै मुक्तिनाथ बाबा आश्रमका सञ्चालक कमल नयनाचार्यले अहिले भागवतलाई मागिखाने भाँडो बनाउन थालेको भन्दै आपत्ति जनाए ।
सत्कर्म तथा राम्रो उद्देश्यको लागि भन्दा पनि पैसा कमाउनकै लागि भागवत आयोजना गर्ने प्रवृत्ति बढेको उनको भनाइ थियो ।
त्यसैले सबै ठाउँमा हुने भागवतमा जानसमेत डराउनुपर्ने अवस्था आएको उनले स्पष्ट पारे ।
‘भागवत मागिखाने भाँडो बन्न थालेको छ’, स्वामी कमल नयनाचार्यले भने, ‘जेल बसेकाहरुले समेत भागवत चलाउन थालेका छन् । त्यसैले सबै भागवतमा जान डराउनुपर्ने स्थिति आएको छ ।’
उनले विद्यालयमा आधुनिक शिक्षामात्रै नदिई नैतिक शिक्षा तथा अध्यात्म एवं ब्रह्म शिक्षा दिनसमेत आह्वान गरे ।
नैतिक शिक्षासँगै अध्यात्म एवं ब्रह्म शिक्षाको लागि आफूहरु तयार रहेको उनले सुनाए ।
‘आधुनिक शिक्षाले घरपरिवार र समाज बिग्रन थालेको छ । शिक्षा विकृत हुन् थालेको छ’, उनले थपे, ‘त्यसैले शिक्षामा सुधार आवश्यक छ । शिक्षा सुध्रिए सबै क्षेत्र सुध्रिन्छ ।’
कार्यक्रममा भवन विभागका महानिर्देशक वरिष्ठ इञ्जिनियर मणिराम गेलाल, जिल्ला समन्वय समिति भक्तपुर प्रमुख नवराज गेलाल, चाँगुनारायण नपाकी उपप्रमुख वीणा बाँस्तोला, विद्यालयका प्रअ दधिराम गेलाललगायतले शिक्षा विकासमा महायज्ञ सफल भएको धारणा राखे ।
समापन समारोहमा स्वामी कमल नयनाचार्यले महायज्ञ सञ्चालन गर्न उल्लेखनीय योगदान तथा सहयोग गर्ने पुराण वाचक माधवप्रसाद कुइँकेल र उनको समूहका सदस्यलगायतका महानुभावहरुलाई सम्मान गरेका थिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!