Connect with us

HEALTH

एचआईभी संक्रमितलाई स्वास्थ्य बीमाबारे अभिमुखीकरण

Published

on

अभिमुखीकरणमा स्वास्थ्य बीमाबारे जानकारी दिँदै एनएपीएनका अध्यक्ष राजेश दिदिया । तस्बिर तथा भिडियो : ईश्वरकाजी खाइजू

सौराहा (चितवन) । राष्ट्रिय एचआईभी एड्स महासंघ नेपाल (एनएपीएन) ले एचआईभी संक्रमितहरुको लागि सरकारले व्यवस्था गरेको निःशुल्क स्वास्थ्य बीमाबारे एकदिने अभिमुखीकरण गरेको छ ।
यूएसएडको लिन्केज परियोजनाको सहयोगमा भएको उक्त अभिमुखीकरणमा एनएपीएनका अध्यक्ष राजेश दिदियाले एचआईभी संक्रमितहरुको लागि व्यवस्था भएको निःशुल्क स्वास्थ्य बीमाबारे विस्तृत जानकारी दिए ।
उनले एचआईभी संक्रमितसँगै अन्य तीन सदस्यको पनि निःशुल्क स्वास्थ्य बीमा हुने स्पष्ट पारे ।
सरकारको स्वास्थ्य बीमा गरिँदा एक वर्षको लागि एक लाख रुपैयाँ बराबरको औषधोपचार गर्न पाइन्छ । स्वास्थ्य बीमा गर्न साधारण नागरिकले वार्षिक तीन हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ तर एचआईभी संक्रमितले चार जनाको परिवारको स्वास्थ्य बीमा गर्दा कुनै शुल्क तिर्न नपर्ने अध्यक्ष दिदियाले बताए ।
‘हाल यो सुविधा ५१ जिल्लामा उपलब्ध छ’, उनले भने, ‘क्रमशः ७७ वटै जिल्लामा निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउन एनएपीएन लागिपर्नेछ ।’
अध्यक्ष दिदियाले एनएपीएनले एचआईभी संक्रमितको लागि जीवन बीमाको समेत व्यवस्था गरेको जानकारी दिए । जीवन बीमा गरेवापत पाइने कमिसन एचआईभी संक्रमित स्वयम्ले बोनसको रुपमा पाउने गरी एनएपीएनले व्यवस्था गरेको उनले सुनाए ।
‘नेपाली एचआईभी संक्रमितको लागि दुई जीवन बीमाको व्यवस्थापछि एक संक्रमित एक उद्यमशीलताको लागि एनएपीएन लागिपरेको छ’, अध्यक्ष दिदियाले भने, ‘एचआईभी लागेपछि जीवन सकिएको मानिन्छ । त्यसैले अन्य देशमा एचआईभी संक्रमितको बीमा गरिएको पाइँदैन तर नेपालमा बीमाको व्यवस्था गर्न हामी सफल भएका छौं । यो नेपाली संक्रमितहरुको लागि ठूलो उपलब्धि हो ।’
स्वास्थ्य बीमाको लागि एचआईभी संक्रमितले नियमित रुपमा एआरभी औषधि सेवन गरेको हुनुपर्छ । एआरटी सेन्टरमा गएर नियमित एआरभी औषधि सेवन नगरे उनको बीमा नवीकरण नहुने एनएपीएनका राष्ट्रिय संयोजक राजन केसीले सुनाए ।
उनका अनुसार जीवन बीमा व्यवस्थाले संक्रमितको तर्फबाट सन्ततीको लागि योगदान हुनेछ ।

Orientation on Health Insurance for PLHIV

Posted by ईश्वरकाजी खाइजू on Monday, January 6, 2020

कार्यक्रमका सहभागीहरुले स्वास्थ्य बीमा निःशुल्क भए पनि जीवन बीमाको प्रिमियम तिर्न संक्रमितहरुलाई उद्यमशीलतामार्फत स्वरोजगार बनाउनुपर्ने माग गरे ।
‘जीवन बीमाको लागि प्रिमियम तिर्न सक्षम बनाउन गरिब एचआईभी संक्रमितहरुलाई उद्यमशील बनाउनुपर्छ’, उनीहरुको भनाइ थियो, ‘उद्यमशील भएर आयआर्जन गर्न सके बढीभन्दा बढी रकमको जीवन बीमा गर्न सकिन्छ । जसले संक्रमितका प्रभावित परिवारको जीवनमा आर्थिक योगदान गर्न सकिन्छ ।’
कार्यक्रममा एक संक्रमित एक उद्यमशीलताको लागि एनएपीएनले केन्द्र, प्रदेश र स्थानीय सरकारसँगै निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्ने जानकारी दिइएको थियो ।
नेपाल सीआरएस कम्पनीमा एचआईभी संक्रमित १४ महिलाले रोजगार पाइरहेका छन् । त्यसरी नै अन्य निजी तथा सरकारी सेवामा एचआईभी संक्रमितलाई रोजगारी दिलाउन एनएपीएनले पहल गर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।
एनएपीएनले आयआर्जन कार्यक्रम सञ्चालन गर्न सन् २०१९ मा एक सय एक जना अति गरिब महिलालाई जनही पन्ध्र हजार रुपैयाँ आर्थिक सहयोग गरेको संस्थाका वरिष्ठ फिल्ड अफिसर प्रकाश योगीले जानकारी दिए ।
उनले एचआईभी संक्रमितलाई एनएपीएनले सीपमूलक तथा आयमूलक तालिम दिएर स्वरोजगार बनाउने कार्यक्रमको तयारी गरिरहेको बताए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!