भक्तपुर । समुदाय प्रहरी साझेदारीअन्तर्गत जिल्लाको मध्यपुर थिमि नगरपालिका ६ स्थित कुन्डोलमा प्रहरी परिवार आवास भवन भन्ने भएको छ ।
महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले उक्त आवास भवन समुदाय प्रहरी साझेदारीअन्तर्गत बन्ने देशकै पहिलो भएको दावी गरे ।
उक्त आवास प्रहरी संगठनका हबल्दार तथा सिपाहीका परिवारहरुको लागि बनाउन लागिएको उनले बताए ।
वृत्तअन्तर्गत सञ्चालन हुने उक्त भवनमा पहिलो चरणमा १० प्रहरी परिवारले आवास पाउने प्रहरी नायब उपरीक्षक कोइराला बताउँछन् ।
उनका अनुसार उक्त आवासमा एक परिवारलाई एउटा कोठा र अर्को भान्छा गरी दुइटा कोठा उपलब्ध गराइनेछ । त्यस्तै उक्त आवासमा करिब ८० जना क्षमताको मनोरञ्जन एवं बैठक कक्ष र एउटा बालमैत्री कोठासमेत हुनेछ ।
प्रहरी संगठनमा उच्च पदस्थ अधिकृतहरुको लागि प्रहरी संगठनकै आवासको व्यवस्था छन् तर तल्लो तहका कर्मचारीहरुलाई आवास सुविधा उपलब्ध छैन । जसले गर्दा उनीहरु भाडामा बस्न बाध्य छन् । निजी घरमा भाडा लिएर बस्दा एक प्रहरी हबल्दार तथा सिपाहीको मासिक तलबको ३० देखि ४० प्रतिशत रकम भाडामा खर्च हुन्छ । जसले गर्दा उनीहरुले आफ्नो घरपरिवारको आवश्यकतालाई कटौती गर्नुपर्ने बाध्यता छ ।
‘तल्लो तहका प्रहरी कर्मचारीहरुको त्यहीं समस्यालाई निराकरण गर्न समुदाय प्रहरी साझेदारीअन्तर्गत प्रहरी परिवार आवास भवन बनाउन लागेका हौं’, प्रहरी नायब उपरीक्षक कोइरालाले भने, ‘प्रहरीकै आवासमा बस्न घर भाडाको रकम छोराछोरीको शिक्षा तथा स्वास्थ्य एवं जिविकोपार्जनमा खर्च गर्न पाइन्छ । यसले गर्दा उनीहरुले उच्च मनोबलका साथ काम गर्ने विश्वास लिएका छौं ।’
उनले उक्त आवासलाई २५ प्रहरी परिवार क्षमतासम्मको पु¥याउने जानाकारी दिए ।
‘प्रहरी संगठनकै लागि यो नयाँ सोच हो’, प्रहरी नायब उपरीक्षक कोइरालाले थपे, ‘त्यसैले नमुना योजनाको रुपमा पहिलो चरणमा दस प्रहरी परिवारको लागि आवास निर्माण गर्न गर्छाैं ।’
उक्त प्रहरी परिवार आवास निर्माणको लागि मध्यपुर थिमि नगरपालिकाले करिब आठ आना जग्गासँगै एक करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ ।
मध्यपुर थिमि नपा ६ कुन्डोलस्थित करिब सात रोपनी पर्ती जग्गामध्ये प्रहरी परिवार आवासको लागि करिब आठ आना जग्गा उपलब्ध गराइने नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।
उनले बिहीबार एक कार्यक्रमबीच उक्त प्रहरी परिवार आवासको जग शिलान्याससमेत गरेका छन् ।
उक्त अवसरमा प्रमुख श्रेष्ठले आवास गृहको लागि विनियोजन गरिएको रकम नपुग भए थप उपलब्ध गराइने आश्वासन दिए ।
नपाले स्थानीय दिनेशकुमार श्रेष्ठको अध्यक्षतामा प्रहरी परिवार आवास निर्माण उपभोक्ता समिति बनाएको छ । उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले तीनदेखि पाँच महिनाभित्र उक्त आवास निर्माण सम्पन्न गर्ने जानकारी दिए ।
नमुना योजना भएकाले समयमै उक्त भवन निर्माण पूरा गर्न समुदाय क्रियाशील हुने उनले बताए ।