Connect with us

SOCIAL

सकिमना पूर्णिमा : भुटेका अन्न एवं गेडागुडीको कला प्रदर्शन

Published

on

भुटेको अन्न तथा गेडागुडीबाट बनाइएको ब्रह्मायणी मन्दिरको चित्र र भजनकीर्तिनमा मग्न स्थानीय । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । मंगलबार सकिमना पूर्णिमा । प्रत्येक वर्षको कार्तिक शुक्ल पक्ष पूर्णिमालाई नेपालभाषी समुदायले सकिमना पूर्णिमा मान्छन् । त्यसैले मंगलबार साँझ भक्तपुर नगर क्षेत्रका टोलटोलमा एक किसिमको प्रतिस्पर्धा नै चल्यो । साना बच्चादेखि ज्येष्ठ नागरिकसम्म उक्त स्पर्धामा सक्रिय सहभागिता जनाइरहेका थिए ।
नेपालीहरुको चलन नै हो, प्रतियोगीभन्दा रमिते बढी हुने । सोहीअनुसार उक्त स्पर्धामा सहभागी हुनेभन्दा हेर्ने रमितेहरुको घुइँचो बढी थियो । फेरि रमितेहरु एकै ठाउँमा बसिरहने प्रवृत्तिका पनि थिएनन् । भ्याएसम्म सबै प्रतिस्पर्धा भएको ठाउँमा पुग्नैपर्ने । त्यसैले स्पर्धा हेर्ने रमितेहरु पनि फेरिइरहेका हुन्थे ।
तर प्रतिस्पर्धा भने कुनै पुरस्कार पाइने थिएन । कला–संस्कृति जगेर्ना गर्ने प्रतियोगिता थियो । भुटेका गेडागुडी र मिठाई एवं रोटीका परिकारबाट कलाकारिता प्रदर्शन गर्ने अनौठो प्रतिस्पर्धा थियो ।
हिन्दू धर्मावलम्बीहरुले मान्ने प्रमुख एकादशीमध्ये ठूलो एकादशी मानिने हरिबोधनी एकादशीको पाँच दिनपछिको पूर्णिमा नेपालभाषीहरुको लागि अति महत्वपूर्ण छ । यस पूर्णिमालाई नेपालभाषी समुदाय सकिमना पुन्ही (पिडालु उसिन्ने पूर्णिमा) भन्छन् ।
यस दिन राती नेपालभाषी समुदायको देवगुठी, दाफाभजनले आ–आफ्नो टोलमा रहेको देवदेवीको मन्दिर अगाडि भजनकीर्तन गर्छन् । त्यस भजनकीर्तनको क्रममा भुटेका गेडागुडी तथा मिठाई र रोटीबाट उक्त देवदेवीको पूर्ण कदको मूर्ति वा प्रतीक चिन्ह बनाउनु यस पर्वको प्रमुख विशेषता हो । भुटेको गेडागुडीमा यस दिन विशेषतः मकै, कालो भटमास, गहँु, केराउ, चना, बकुला र मिठाई तथा रोटीतर्फ माल्पुवा र स्वारीको प्रयोग गरेर स्थानीय कलाकारले आफ्नो कलाकारिता प्रदर्शन गर्छन् ।
यही प्रदर्शन कुनै प्रतियोगिताभन्दा कम भएको थिएन । त्यसैले एकले बनाएको भन्दा बढी राम्रो चित्र बनाउन कलाकारहरु तँछाडमछाड नै गर्छन् । स्थानीय टोलका साना बालकदेखि ज्येष्ठ नागरिकसम्म यसमा लाग्ने भएकाले यस पर्व कलाकारिता प्रस्फुटन गर्ने सशक्त माध्यम भएको संस्कृतिविद्हरु बताउँछन् । उनीहरुका अनुसार यस पर्वमा कलाकारिता सिकेका तथा जानेका युवाहरु नै बढी अग्रसर हुन्छन् । त्यसैले उनीहरुले आफूलाई अरु कलाकारसँग दाज्ने तथा आफू बढी सक्षम भएको सावित गर्न बढी मेहनत गर्ने संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन् ।
‘यस दिन बिस्केट जात्रामा सगुन चढाउने भक्तपुर नगरभित्र रहेका अष्टमातृकासँगै सम्पूर्ण देवदेवीहरुको मन्दिर अगाडि यस प्रकारको चित्र तथा प्रतीक बनाइन्छ’, उनी भन्छन्, ‘जसमध्ये भक्तपुर टौमढीस्थित पाँचतले एवं भैरव मन्दिर अगाडि स्थानीय आकाश भैरव गुठीले भुटेको गेडागुडीबाट बिस्केट जात्रामा उभ्याइने लिंगो र भैरवनाथको रथको आकृति बनाउनु प्रमुख हो ।’
भक्तपुर नगरमा मात्र होइन नेवार बस्ती भएका ग्रामीण क्षेत्रमा पनि यस किसिमले आआफ्नो क्षेत्रमा रहेको देवताको भुटेका गेडागुडीको प्रतिमूर्ति बनाइने उनले जानकारी दिए ।
यी देवदेवीका प्रतिमूर्ति प्रदर्शन गर्दै दाफाभजन तथा गुठीयारहरु राती अबेरसम्म भजनकीर्तन गर्छन् । यसरी भजनकीर्तन गर्दै गर्दा अन्य भक्तजनले आफ्ना घरमा भुटेका गेडागुडी तथा पिडालु, सखरखण्डलगायत देवतालाई चढाउने तथा बाँड्ने गर्छन् ।
यसबेला धान भित्र्याइसक्ने भएकाले किसानहरु पनि फुर्सदमै हुन्छन् । दसैं र तिहारपछि हुने यस पर्वमा सबैभन्दा बढी मानिस भेला हुने मानिन्छ ।

ऊर्जा प्राप्त गर्ने पर्व

संस्कृतिकर्मी धौभडेलका अनुसार दसैंतिहारपछि काठमाडौं उपत्यकामा जाडो याम सुरु हुने र शरीरलाई चिसोबाट बचाउन खेतमा त्यसै खेर गइरहेको पिडालु उसिनेर खाँदा शरीरमा ताप तथा ऊर्जा प्राप्त हुने मानिन्छ । त्यसैले यस दिनको पूर्णिमालाई नेपालभाषामा सकिमना पुन्ही (पिंडालु उसिनेर खाने पूर्णिमा) भनिन्छ ।
यस पर्वको आफ्नै विशेषता र महत्व रहेको उनी स्पष्ट पार्छन् । जाडो मौसममा गेडागुडी चपाउँदा शरीरमा एकप्रकारको शक्ति प्रवाह हुने र यसले शरीरमा ऊर्जा प्राप्त भई मानिसलाई नयाँ जोश र जाँगरसहित काम गर्न यस पर्वले उत्साहित गर्ने उनी बताउँछन् ।
उनका अनुसार यो पर्व मल्लकालदेखि अद्यापि निरन्तर चल्दै आएको छ । त्यसबेला काठमाडौं उपत्यकामा पिंडालुमात्र उपलब्ध भएको र उक्त पिंडालुको सेवन गर्दा कुनै स्वाद नभएपछि समय बित्दै गएर गुलियोपनाको लागि सखरखण्डको पनि प्रयोग हुन थालेको उनी बताउँछन् ।
चिनी र सखर उपलब्ध नभएको बेला यहाँका बासिन्दाले सखरखण्ड र पिंडालुको सेवन गरेर शरीरलाई आवश्यक पर्ने ग्लुकोज पूर्ति गर्ने भएकोले पनि यस पर्वमा वैज्ञानिकता रहेको उनी दाबी गर्छन् ।

कृषिमा आधारित पर्व

त्यस्तै अर्का संस्कृतिकर्मी विनोदराज शर्माले सकिमना पूर्णिमा कृषिमा आधारित पर्व भएको बताउँछन् । उनका अनुसार यस बेला किसानहरुले घरको ढुकुटीमा धान भित्र्याइसकेका हुँदैनन् । तर उनीहरुको ढुकुटीमा गहुँ भने बाँकी रहेको हुन्छ । त्यहीं गहुँ भुटेर देवतालाई सगुनको रुपमा चढाएर यस पर्व मनाइन्छ । भुटेको गहुँसँगै तेलमा मोलिएको कालो भटमास, फुलेका मकै र लावा प्रयोग गरेर कलाकारिता प्रदर्शन गर्नु यस पर्वको आकर्षण भएको उनी बताउँछन् । यसरी कलाकारिता प्रदर्शन गर्नुलाई स्थानीय नेपालभाषामा ‘नसा ब्वयेगु’ भनिन्छ ।
‘गहुँ यस्तो अन्न हो, जुन भुटेर पनि खाइन्छ र पीठो बनाएर रोटी पनि खाइन्छ’, संस्कृतिकर्मी शर्मा भन्छन्, ‘त्यसैले सकिमना पूर्णिमामा गहुँको बढी महत्व छ । भुटेको गहुँसँगै गहुँकै पीठोको रोटी देवतालाई चढाइन्छ ।’
सकिमना पूर्णिमामा गहुँको महत्व भएजस्तै मंसिर शुक्ल पूर्णिमा एवं धान्य पूर्णिमाको दिन नेपालभाषीहरुले मनाउने योमरी पूर्णिमामा धानको महत्व छ । त्यसदिन धानलाई चामल बनाएपछि त्यसको पीठोबाट योमरी पकाएर खाइन्छ । योमरीमा चाकु, खुवा राखेर पकाइने हुनाले चिसो याममा यसबाट पनि मानव शरीरलाई ऊर्जा प्राप्त हुने गर्छ ।

बीटीडीसीको सम्पदा पदयात्रा

सकिमना पूर्णिमाकै दिन मंगलबार साँझ भक्तपुर नगरमा सम्पदा पदयात्रा गरिएको छ । भक्तपुर पर्यटन विकास समिति (बीटीडीसी) ले भक्तपुरका स्थानीय पथप्रदर्शकहरुको लागि उक्त यात्रा गरिएको हो ।
भक्तपुरको च्याम्हासिंहदेखि प्रत्येक चोक र टोलमा गरिएको पदयात्राका क्रममा उनीहरुले स्थानीय गुठीयारहरुले प्रदर्शन गरेको भुटेको अन्न र गेडागुडी तथा रोटीको कलाकृति अवलोकन गरेका थिए ।
स्थानीय पदप्रदर्शकहरुलाई सकिमना पूर्णिमा र यसको महत्वका बारेमा संस्कृतिकर्मी विनोदराज शर्माले जानकारी दिएको बीटीडीसीका अध्यक्ष रामसुन्दर भेलेले जानकारी दिए ।
भक्तपुरमा रात्रीकालीन पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त पदयात्रा गराइएको उनको भनाइ थियो ।
भिजिट २०२० को लागि नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा समितिले भक्तपुरमा रात्रीकालीन पदयात्रा विकासको लागि कार्य भइरहेको अध्यक्ष भेलेले सुनाए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!