Connect with us

SOCIAL

२१ करोड ६५ लाख लागतमा जिल्ला अदालतको आधुनिक भवन बन्ने

Published

on

भक्तपुर नपा ९ तुमचो दुगुरे जग्गा एकीकरण आयोजनाभित्र बन्ने भक्तपुर जिल्ला अदालतको नयाँ भवनको डिजाइन । डिजाइन : भक्तपुर जिल्ला अदालत

भक्तपुर । भक्तपुर जिल्ला अदालतको नयाँ आधुनिक भवन बन्ने भएको छ । सर्वोच्च अदालतले भवनको नक्सा स्वीकृत गरिसकेको जिल्ला अदालतका स्रेस्तेदार धनेन्द्र अधिकारीले जानकारी दिए ।
उनका अनुसार आधुनिक भवन निर्माणको लागि सर्वोच्चबाट २१ करोड ६५ लाख रुपैयाँ बजेटसमेत उपलब्ध गराएको छ ।
तीन हजार पाँचसय १२ स्क्वायर फिटभित्र बन्ने उक्त भवन पाँच तलाको हुनेछ । भवनमसनि पर्याप्त पार्किङको व्यवस्था गरिएको छ ।
भक्तपुर दरबार क्षेत्रस्थित पुरानो भवन साँघुरो भएपछि भक्तपुर नगरपालिका ९ स्थित तुमचो दुगुरे जग्गा एकीकरण आयोजनाभित्रको करिब ११ रोपनी क्षेत्रफलमा नयाँ भवन बन्न लागेको हो ।
भक्तपुर दरबार क्षेत्र विश्व सम्पदास्थल हो । त्यसैले त्यहाँ नयाँ निर्माणलाई रोक लगाइएको छ । त्यस्तै भक्तपुर नगरपालिकाले विश्व सम्पदास्थल भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोक उत्खनन् गर्ने बताउँदै आएको छ । जिल्ला अदालतको हालको भवन दरबार क्षेत्रको ९९ चोकभित्रै पर्छ । त्यसैले त्यहाँ नयाँ संरचनासमेत थप्न नपाइने भएपछि जिल्ला अदालतले करिब तीन वर्षअघि तुमचो दुगुरे जग्गा एकीकरण आयोजनाभित्रको करिब ११ रोपनी क्षेत्रफलको दुई कित्ता जग्गा खरिद गरेको थियो ।
सोही जग्गामा अहिले पहिलो चरणमा जिल्ला अदालतको आधुनिक भवन बन्न लागेको स्रेस्तेदार अधिकारीले जानकारी दिए ।
‘पहिलो चरणमा अदालतको मुख्य भवन बनाउँछौं’, उनले भने, ‘दोस्रो चरणमा अदालतका न्यायाधीशलगायतको क्वार्टर निर्माण हुनेछ ।’
उनका अनुसार नयाँ भवनमा एकदर्जनभन्दा बढी इजलासको व्यवस्था हुनेछ । हाल जिल्ला अदालतमा पाँचवटा इजलास रहेका छन् । जसले गर्दा न्यायाधीशहरुलाई मुद्दाको चाप रहेको स्रेस्तेदार अधिकारी बताउँछन् ।
उनका अनुसार नयाँ बन्ने भवनको भुई तलामा सूचना प्रविधि अधिकृत कक्ष, आईटी सर्भर कक्ष, बैंक काउन्टर, बाल सुधार केन्द्र, स्रेस्तेदारको कार्यकक्ष र हेल्प डेक्स रहनेछन् । त्यस्तै म्याद तामेली, सरकारी वकिल कक्ष, दोषारोपी राख्ने कक्ष, पुस्तकालय, मुद्दा दर्ता, चलानी कक्षसमेत भुई तलामा रहनेछन् ।
पहिलो तलामा इजलास, बेन्च, च्याम्बर, मध्यस्थकर्ता कक्ष र बैठक कक्ष रहने स्रेस्तेदार अधिकारीले बताए ।
उनका अनुसार दोस्रो तलामा पनि इजलास, बेन्च, च्याम्बर, बाल इजलास र मनोसामाजिक परामर्श कक्षको व्यवस्था गरिएको छ । त्यसैगरी तेस्रो तलामा पनि इजलास, बेन्च, च्याम्बरसँगै मुद्दा शाखा रहेन व्यवस्था गरिएको छ । चौथो तलामा समेत इजलास, बेन्च र च्याम्बरसँगै ७० जना क्षमताको तालिम हल र दुई सय जना क्षमताको सभाहल बन्ने उनले जानकारी दिए ।
भवनभित्रको बीचमा भागमा पर्याप्त ठाउँको व्यवस्था गरिएको नक्साअनुसार भवन अपांगमैत्रीसमेत हुनेछ । जसअनुसार भवनमा दुई ठाउँमा लिफ्टको व्यवस्था गरिएको छ ।
त्यस्तै आवश्यकताअनुसार कार्य कक्ष थप्ने गरी केही थलामा खुला ठाउँ राखिएको स्रेस्तेदार अधिकारीले बताए । उनका अनुसार नक्सा पासको लागि भक्तपुर नपामा पेस गरिसकिएको छ । भक्तपुर नपाबाट नक्सापास भएपछि भवन निर्माण प्रक्रिया अघि बढ्ने उनले सुनाए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!