Connect with us

SOCIAL

गाडीका ब्याट्री चोर्ने चारजना पक्राउ

Published

on

प्रहरीले बरामद गरेको गाडीका ब्याट्री । तस्बिर : इन डेप्थ

भक्तपुर । पार्किङ गरिराखिएका चार पांग्रे गाडी तथा वर्कसपहरुमा रहेका ब्याट्री चोर्न गिरोह नै सक्रिय रहेको तथ्य खुलासा भएको छ । गिरोहमा ब्याट्री कम्पनीका व्यक्तिसँगै वर्कसप र कवाडी व्यवसायी संलग्न रहेको पाइएको छ ।
महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले पार्किङमा राखिएको गाडीको ब्याट्री चोर्ने एकजनालाई नियन्त्रणमा लिएपछि उक्त गिरोह प्रकाशमा आएको हो ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले पार्किङमा राखिएका गाडीको ब्याट्री चोर्ने सुनसरीको इटहरी उपमहानगरपालिका १ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नपा ९ राधेराधे बस्ने २२ वर्षीय मनोज सापकोटालाई नियन्त्रणमा लिएपछि ब्याट्री चोर्ने गिरोहको लहरो भेटिएको जानकारी दिए ।
वृत्तले सापकोटालाई भक्तपुरको सूर्यविनायक नपा ८ सिपाडोलको आदर्शबाट शनिबार राति नियन्त्रणमा लिएको उनले बताए ।
‘शनिबार राती आदर्शस्थित सडकमा पार्किङमा राखिएका विभिन्न ६ वटा गाडीबाट एकैपटक १० वटा ब्याट्री चोरी भएको थाहा पाए’, प्रनाउ जोशीले भने, ‘लगत्तै खोजतलास गर्दा स्थानीयले शंकास्पद रुपमा हिँड्दै गरेका मनोजलाई औजारसहित फेला पारेर नियन्त्रणमा लिएर हामीलाई खबर गरे । अनि हामीले नियन्त्रणमा लियौं ।’
नियन्त्रणमा लिएका सापकोटासँग केरकार गर्दा उनले दोलखाको वैदेश्वर घर भई हाल सूर्यविनायक नपा ३ बस्ने ३१ वर्षीय विमल श्रेष्ठसँग मिलेर रातको समयमा ब्याट्री चोर्ने गरेको खुल्न आएको उनले बताए ।
यसरी मनोज र विमलले चोरेका ब्याट्री भारतको मोतीहारी जिल्लाको पताही थाना घर भई हाल भक्तपुरको ठिमी बस्ने २१ वर्षीय चन्दनकुमारलाई बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुल्न आएको जगाती वृत्तले जनाएको छ । चन्दनकुमारले पनि भारतको मुजफरपुर पूर्वी चम्पारण घर भई हाल ललितपुरको ललितपुर महानगरपालिका ३ धोबीघाटमा कवाडी पसल सञ्चालन गर्दै आएको सुरेन्द्र चौधरीलाई बिक्री वितरण गर्ने गरेको भेटिएको वृत्तका प्रमुख प्रनाउ जोशी बताउँछन् ।
उनका अनुसार सुरेन्द्र एक्साइड ब्याट्रीका आधिकारिक व्यक्तिसमेत भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनै सुरेन्द्रले चन्दनकुमारलाई ब्याट्रीहरुको जोहो गर्न अ¥हाएको आफूहरुको अनुसन्धानबाट खुलेको उनले सुनाए ।
प्रहरीले ब्याट्री चोर्न प्रयोग गर्ने ना २ च ४३५४ नम्बरको टाटामोबाइल र प्रदेश नं. ३ ०१–०२२ च २१६६ नम्बरको कारसमेत बरामद गरेको छ । कार विमल श्रेष्ठको निजी गाडी हो । जुन मनोजले चोरेको ब्याट्री ओसार्न प्रयोग हुने गरेको जगाती वृत्तले जनाएको छ । त्यस्तै प्रहरीले टाटामोबाइलमा लोड गरिएको अवस्थामा २० वटा ब्याट्रीसमेत बरामद गरेको छ ।
मनोज पक्राउ परेलगत्तै प्रहरीले शनिबार नै विमललाई मध्यपुर थिमीको राधेरोधबाट र चन्दनकुमार तथा सुरेन्द्रलाई ललितपुरको धोबीघाटबाट नियन्त्रणमा लिएको थियो ।
प्रहरीले धोबीघाटस्थित सुरेन्द्रको कवाडी पसलमा लुकाईछिपाइ राखेको विभिन्न कम्पनीका थप एकसय ६४ वटा ब्याट्री नियन्त्रणमा लिएको छ ।
‘यो गिरोहमा अरु पनि संलग्न हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाएका छौं’, प्रनाउ जोशीले भने, ‘यो गिरोहले भक्तपुरमा मात्रै होइन काठमाडौं र ललितपुरका धेरै ठाउँमा पार्किङ गरिराखिएका गाडी र वर्कसपहरुबाट ब्याट्री चोर्ने गरेको खुलेको छ ।’
उनका अनुसार मनोज दिनभर गाडीहरुको पार्किङ हुने ठाउँहरुको खोजीमा निस्कन्थे । ती ठाउँहरुको जानकारी मिलेपछि रातको समयमा ती ठाउँमा गई गाडीका ब्याट्री चोर्थे । गाडीबाट ब्याट्री चोरिसकेपछि विमललाई सम्पर्क गर्थे र विमल आफ्नो निजी कार लिएर चोरीको ब्याट्री ओसार्न सहयोग गर्थे ।
उनीहरुले भक्तपुरसँगै ठिमीको राधेराधे, कौशलटार, काठमाडौंको बौद्ध, साँखु, थानकोट र चोभारलगायतका ठाउँबाट स्क्याभेटर, टिपर र बसलगायतका ब्याट्री चोरी गर्ने बयान दिएको जगाती प्रहरीले जनाएको छ ।
प्रनाउ जोशीले वृत्तमा गाडीबाट ब्याट्री चोरी भएको धेरैको निवेदन परपछि निगरानी बढाइएको समेत जानकारी दिए । उनका अनुसार जगातीमा मात्रै करिब दुईसय जनाले आफ्नो गाडीको ब्याट्री चोरी भएको निवेदन दिएका छन् ।
निवेदन दिनेहरुलाई प्रमाणको आधारमा गिरोहबाट प्राप्त ब्याट्री फिर्ता दिने उनले जानकारी दिए ।
यसैबीच जगाती प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएको तीनसय पचास लिटर अवैध घरेलु मदिरा आइतबार नालीमा फ्याकेर नष्ट गरेको छ ।
वृत्तको कार्य क्षेत्रभित्र पर्ने जगाती, पलासें र नैचाल नाकाबाट काठमाडौं तथा ललितपुरमा बिक्री वितरणको लागि लाँदै गरेको अवस्थामा उक्त परिमाणको अवैध मदिरा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!