Connect with us

SOCIAL

मध्यपुर क्षेत्रका नाचको मानव तथा समाजशास्त्रीय आयाम

Published

on

मध्यपुरको नगदेशमा चार दिनसम्म हुने महाकाली नाचमा सहभागी देवगण । तस्बिरहरु : ईश्वरकाजी खाइजू

ईश्वरकाजी खाइजू
भक्तपुर । काठमाडौं उपत्यकामा गाईजात्रा सुरु भएको भोलिपल्टदेखि चार दिन हुने मध्यपुर थिमि नगरपालिकाका तीन छुट्टाछुट्टै स्थानमा हुने तीनथरि नाच मंगलबार रातिबाट सकिएका छन् । मध्यपुर थिमिको केन्द्र लायकूमा लायकू भैल प्याखँ (लायकू भैरव नाच), नगदेशमा महाकाली गँः प्याखँ (महाकाली गणनाच) र बोडेमा नीलबाराही गँः प्याखँ (नीलबाराही गणनाच) सकिएका हुन् ।
यी तीनै नाच प्रदर्शन हुने आआफ्नै क्षेत्र छन् । त्यस्तै यी तीनवटै नाचका आआफ्ना विधिविधान र नियम छन् । नाचका ताल, वाद्यवादन र हाउभाउ फरक छन् । लायकू भैलमा भैरव प्रमुख हुन् । महाकाली र नीलबाराही नाचमा शक्तिकी देवीहरु क्रमशः महाकाली र नीलबाराही स्वयम् प्रमुख पात्र हुन् । लायकू भैरवमा नारी शक्तिको रुपमा कुमारी छिन् । त्यस्तै ज्यापुङगःचा एक गरी यस नाचमा पाँच जना प्रत्यक्ष सहभागी हुन्छन् ।
महाकाली र नीलवाराहीमा पुरुष शक्तिको रुपमा भैरव सम्मिलित हुन्छन् ।
महाकाली नाचमा महाकालीलाई महालक्ष्मी र कुमारीले पनि साथ दिन्छन् । नीलबाराही नाचमा पनि कुमारी सहभागी हुन्छन् । यसमा पुरुष शक्तिको रुपमा गणेश र नृसिंह सहभागी हुन्छन् । त्यस्तै क्षेत्रपाल, द्वारपाल गरी १९ जना देवगण यस नाचमा प्रत्यक्ष सहभागी हुन्छन् ।
यी तीन नाचमध्ये महाकाली नाचमा मात्रै महिसासुरको रुपमा राक्षस पात्रको उपस्थिति रहेको छ । यस नाचमा बेताल, ख्याक, सिंह, बाँदर, मयूर र कवाङचा (कंकाल) गरी १८ जना देवगण प्रत्यक्ष सहभागी हुन्छन् ।
नाचका गुरुहरुका अनुसार लायकू भैल ३२, महाकाली २१ र नीलबाराही नाच चार वटा तालमा नचाइन्छ ।
किम्बदन्तीअनुसार यी तिनै नाचको उद्देश्य भने समान छ । प्राचीन कालमा मध्यपुर थिमि, नगदेश र बोडेमा भूतप्रेत र पिचासहरुले सर्वसाधारणले दुःख दिएका थिए । ती भूतप्रेत र पिचासहरुको दुःखपीडाबाट मुक्ति पाउन ती राज्यका शासकहरुले आफ्ना ज्योतिष एवं तान्त्रिकहरुको मद्दतमा यी जात्राहरुको प्रचलनमा ल्याइएको जनविश्वास रहेको छ । त्यसैले रातभर यी जात्रा सञ्चालन गर्ने प्रचलनमा आएको उनीहरुको भनाइ रहेको छ ।
रात्रीको समयमा निस्कने यस नाचको प्रदर्शनले आआफ्नो क्षेत्र भूतप्रेत, पिचास, रोगव्याधी, विभिन्न प्राकृतिक प्रकोप एवं चोर आदिको भयबाट मुक्त हुने जनविश्वास रहँदै आएको छ ।

नाच कम युद्धकौशलको प्रदर्शन बढी

तर समाजशास्त्रीहरु भने लायकू वा अन्य प्रकारको भैरव नाच, महाकाली र नीलबाराही नाच वास्तवमा नाचमात्रै नभएको तर्क गर्छन् । उनीहरुको अनुसारमा नाचमा सहभागी हुने कलाकारहरुले प्रयोग गर्ने आयुध (हतियार) र नाचका क्रममा उनीहरुले प्रदर्शन गर्ने हाउभाउले यी नाच मनोरञ्जन या भूतप्रेत भगाउने नियतले मात्रै प्रदर्शन गरिएको हैन । यो तत्कालीन समयमा एक राज्यबाट अर्को राज्यमा हुनसक्ने युद्धको निम्ति सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले युद्ध कौशल प्रदर्शन गरिएको तर्क गर्छन् नगदेशका संस्कृति एवं समाजसम्बन्धी अध्ययेता रामकृष्ण दुवाल ।
‘नभए भैरव नाचमा सहभागी हुने भैरव र कुमारी तथा महाकाली नाचमा सहभागी हुने महाकाली, महालक्ष्मी, भैरवलगायतले हतियार प्रदर्शन गर्नुपर्ने के कारण हुनसक्छ ?’, उनी भन्छन्, ‘महाकाली नाचमा त देवदेवी र महिसासुरबीचको युद्ध नै देखाइन्छ । युद्धको क्रममा कोही घाइते हुन्छ र ती घाइतेको केकसरी उपचार गर्ने भनेर महाकाली नाचमा सहभागी कवाङचा –कंकाल) ले नाचेरै देखाउँन्छन् ।’
उनका अनुसार प्राचीनकालमा मात्रै होइन, मल्लकाल र शाहवंशकै बेलामा नेपाल एकीकरण नभएसम्म ससाना राज्यहरुबीच आफसी लडाइँ, झगडा भइरहन्थ्यो ।
‘त्यसैले आफ्नो राज्यमाथि कहींकतैबाट युद्ध वा लडाइँ भइहालेमा तत्काल जनतालाई युद्धमा सहभागी हुने वा युद्धका घाइतेलाई कसरी उपचार गर्ने भन्नेबारे जानकारी दिन यी नाचको विकास भएको हुनुपर्छ’, उनले थपे, ‘राज्यका शत्रुहरु भूतप्रेत र पिचासजस्तै नकारात्मक चरित्र हुन् । त्यसबेला धर्ममा बढी विश्वास भएकाले त्यसलाई धार्मिक रुपमात्रै दिइएको हो ।’
महाकाली नाचमा महाकाली भएर नाचिसकेका कलाकार विनोद कोजू नाचमा युद्ध गर्ने कला र युद्धका क्रममा घाइते भएकालाई उपचार गर्ने विधिलाई वाद्यवादनको तालमार्फत नाच्नुपर्ने बताउँछन् ।
‘त्यसैले परम्परादेखि चल्दै आएका यी नाचलाई अहिलेको वैज्ञानिक युगमा पनि त्यहीं भूतप्रेत भगाउन, पिचास तर्साउन भनेर व्याख्या गर्न छोडौं’, प्राध्यापकसमेत रहेका दुवाल थप्छन्, ‘यसलाई मानवशास्त्र एवं समाजशास्त्रसम्मत व्याख्या गरौं ।’

नीलबाराही विजयोत्सवको नाच

उनले भैरव नाच र महाकाली नाच युद्धकौशल सिकाउन नाच भए जस्तै बोडेको नीलबाराही नाच भने जीतको नाच एवं विजयोत्सवको नाच भएको सुनाए ।
‘भैरव र महाकाली नाचका कलाकारहरुले हतियार बोकेका हुन्छन्’, उनले थपे, ‘तर नीलबाराही नाचका कुनै पनि कलाकारले हतियार बोक्दैनन् । यसमा विशुद्ध हातको हाउभाउमात्रै छ । साथै यस नाचको अघिअघि एउटा ध्वजा फहराइन्छ । चिराग बालिन्छ ।’
त्यस्तै यस नाचको विधिविधानअनुसार नाचको अघिअघि राजाको प्रतीकस्वरुप राजदण्डसमेत बोकिन्छ । यसमा नाच नाच्नेसँगै कलाकारहरुलाई सहयोग गर्ने ज्वकालूहरुको समेत लस्कर हुने गर्छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!