Connect with us

SOCIAL

भक्तपुरमा गाईजात्राको रौनक सुरु (फोटो फिचरसहित)

Published

on

परालले बनाएको भैरवनाथलगायतका गाई भक्तपुर दरबार क्षेत्रमा परिक्रमा गराइँदै । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । प्रत्येक वर्षको भाद्र शुक्ल प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म भक्तपुरमा मनाइने नौदिने गाईजात्राको रौनक शुक्रबार सुरु भएको छ । भक्तपुरमा भाद्र कृष्ण प्रतिपदाको दिन सांस्कृतिक गाईजात्रा निकालिन्छ । दोस्रो दिन दिकू भनेर कुनै जात्रा निस्किँदैन तर तेस्रो दिनदेखि लगातार एक हप्ता विभिन्न मौलिक नाचसहितको गाईजात्रा निकालिन्छ ।
नेपालभाषी समुदायमा यो जात्रा मृत्यु संस्कारसँग सम्बन्धित छ । यस दिन वर्षभरिमा दिवंंगतहरूको सम्मान तथा सम्झनामा गाईको प्रतीक बनाई त्यसलाई नगर परिक्रमा गराइन्छ ।


धार्मिक परम्पराअनुसार भाद्र प्रतिपदाको एकदिनमात्र यमलोकको ढोका खुला हुने जनश्रुति छ । त्यसैले यस दिन गाईको प्रदर्शनले मृतकको आत्मालाई गाईको मद्दतबाट यमलोकमा प्रवेश हुने जनविश्वास रहँदै आएको छ ।
त्यही विश्वासको आधारमा नेपालभाषी समुदायले गाईको प्रतीक वा जिउँदो गाईलाई नै नगर परिक्रमा गराउँछन् । धार्मिक ग्रन्थ तथा किवंदन्तीहरूका अनुसार गाईजात्राको दिन गाई प्रदर्शन गर्ने क्रममा उक्त गाईले हालेको एक पाइला एक अश्वमेघ यज्ञ गरे बराबरको फल प्राप्त हुन्छ ।

भक्तपुरमा पहिले जिउँदै साँढे छाडिन्थ्यो

इतिहासविद् तथा संस्कृतिविद्हरुका अनुसार भक्तपुरमा गाईजात्राको प्रारम्भिक कालमा मृतकको सम्झनामा जिउँदै साँढे छाडिने गर्दथ्यो तर यसरी छाडिएका साँढेहरुले किसानका बालीनालीमा क्षति पु¥याउन थालेपछि माटोको साँढेको प्रतीक बनाएर नगर परिक्रमा गराउने प्रचलन आएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन् ।
‘माटोले बनाएको साँढेको प्रतीक सेलाउनलाई भनेरै भक्तपुरमा थुसाचा भन्ने छुट्टै ठाउँको व्यवस्थासमेत गरिएको थियो’, उनले भने, ‘कालान्तरमा माटोको साँढेको प्रतीक बनाउन खर्चालु भएपछि बाँसको गाई बनाउने प्रचलन आएको हो ।’
आर्थिक क्षमता बढी भएकाहरुले अहिले पनि माटोको साँढेको प्रतीक बनाएर नगर परिक्रमा गराउने प्रचलन भने अद्यापि चल्दै आएको छ । अहिले विशेष गरेर प्रजापति समुदायले आफ्नो सीपअनुसार माटोको साँढेको प्रतीक बनाएर नगर परिक्रमा गराउँदै आएका छन् ।
ताहा सा बनाउन पनि नसक्नेले डोक सा बनाउने संस्कृतिकर्मी धौभडेलले जानकारी दिए । डोकोमा लिंगअनुसारका कपडाले सिंगारेर ताहा सामा जस्तै गाईको मुखाकृति परालले बनाएको एकजोडा सिङ तथा कागजका अन्य सजावटका सामग्री राखेर गाईको प्रतीक बनाइन्छ ।
‘ताहा सा बोक्नलाई कम्तीमा चार जना र अगाडि र पछाडि लामो पटुका डोरी बनाएर समाउने थप दुई जना आवश्यक पर्छ’, उनले भने, ‘गाई बोक्ने आफन्त नभएकाले ज्यालामा मजदुर व्यवस्था गर्न सक्दैन । त्यसैले एकजनाले बोक्न मिल्ने डोक सा बनाएर नगर परिक्रमा गराइन्छ ।’
त्यसैले गाईजात्रामा परिक्रमा गराइने गाईको प्रतीकको आधारमा उक्त परिवारको आर्थिक अवस्थाको आँकलन गर्न सकिने उनको भनाइ थियो ।

एकै परिवारको दुईभन्दा बढीको एउटै गाई

जुन परिवारको सदस्यको निधन हुन्छ, उक्त परिवारबाट गाई निकालिन्छ । एक व्यक्ति एउटा गाई निकालिन्छ तर एउटै परिवारको एकभन्दा बढी सदस्य एकै वर्ष बिते र एकैपटक गाई लानुपर्ने भए एउटै गाईको प्रतीक बनाइन्छ ।
तर उक्त गाईमा गाईको मुखाकृति, परालले बनाइएको एकजोडा सिङ, चवर र अन्य सजावटका वस्तु सोही गाईको कम्मरमा गाँसिन्छ ।
‘गर्भवती महिलाको गाईमा पनि गर्भमा रहेको बच्चा प्रतीक स्वरुपा आमाकै गाईमा यसरी अर्को गाईं गाँसेर नगर परिक्रमा गराइन्छ’, संस्कृतिकर्मी धौभडेलले भने, ‘आर्थिक तिव्ययिताको लागि यस्तो गरिएको हो । साथै गाईसँगै घिन्ताङघिसी नाच लगिए उक्त नाचमा सहभागी कलाकार, वाद्यवादक सबैलाई जात्रा सकिएपछि भोज खुवाउनुपर्छ ।’

मध्यपुर थिमीमा नयाँ घर बनाएपछि निकालिन्छ गाई

काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका गाईजात्रा फरकफरक छन् । नामले एउटै गाईजात्रा भए पनि स्थानअनुसार फरक फरक छन् । काठमाडौंकै दरबार क्षेत्र, कीर्तिपुर, टोखाको गाईजात्रा फरक फरक छ । त्यस्तै ललितपुरमा पनि पाटन, लुभु, थैबलगायतको गाई जात्रा फरकफरक छन् ।
भक्तपुरको भक्तपुर र मध्यपुर थिमीकै गाई जात्रासमेत फरकफरक छ । भक्तपुरमा मृतकको सम्मानमा गाईजात्रा निकालिन्छ भने मध्यपुर थिमीमा घर मर्मतसम्भार तथा नयाँ घर बनाएको घरबाट गाईजात्रा निकालिन्छ ।
स्थानीयका अनुसार पहिले घर बनाउनु त्यति सहज काम होइन त्यसैले घर बनाउने क्रममा कोही न कोहीको ज्यान जाने हुन्थ्यो ।
यसरी घर बनाउँदा मरेकाहरुको सम्मानस्वरुप मध्यपुर थिमीमा नयाँ घर बनाउने परिवारले गाईजात्रा निकाल्ने प्रचलन अहिलेसम्म चल्दै आएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!