Connect with us

HEALTH

रेडक्रसमार्फत सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आँखा जाँच हुने

Published

on

Web Picture

ईश्वरकाजी खाइजू

भक्तपुर । नेपाल रेडक्रस सोसाइटीले ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा ‘सहपाठीद्वारा दृष्टि’ जाँच कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
बीपी नेत्र प्रतिष्ठानसँगको सहकार्यमा रेडक्रसले काठमाडौं उपत्यकाका तीन जिल्लासँगै काभ्रे, मकवानपुर र धादिङका सामुदायिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
अनौपचारिक रुपमा सुरुवात भइसकेको उक्त कार्यक्रम भाद्र पहिलो हप्ताबाट औपचारिक रुपमा सुरु हुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको जुनियर तथा युवा विभागका निर्देशक सुदर्शन अधिकारीले कार्यक्रमअन्तर्गत सम्बन्धित विद्यालयका विद्यार्थीहरुमार्फत नै अन्य विद्यार्थीहरुको आँखा जाँच गरिने जानकारी दिए ।
यसको लागि उक्त स्कुलमा पाँच जना विद्यार्थी, एकजना शिक्षक नायक, विद्यालय व्यवस्थापन समितिको प्रतिनिधि एकजना र नजिकैको स्वास्थ्य चौकीका एक जना प्रतिनिधिलाई आँखा जाँच गर्नेबारे तालिम दिइसकेको उनको भनाइ थियो ।
‘उक्त तालिमपछि उनीहरुलाई आँखा जाँच गर्न आवश्यक उपकरण रेडक्रसले उपलब्ध गराउनेछ’, निर्देशक अधिकारीले भने, ‘उक्त उपकरणले एउटा विद्यालयका करिब तीन विद्यार्थीको आँखा जाँच गर्न सकिने छ ।’
उनका अनुसार पाइलट प्रोजेक्टको रुपमा ६ जिल्लामा सञ्चालन गरिने उक्त कार्यक्रम परिणाममुखी भए देशभर विस्तार गरिनेछ ।
‘पहिलो चरणमा एउटा जिल्लाका २० वटा सामुदायिक विद्यालयका २४ हजार विद्यार्थीहरुलाई उक्त कार्यक्रमले समेट्छौं’, उनले थपे, ‘विद्यालयमा आँखा जाँचसँगै समुदायस्तरमा समेत आँखा, नाक, कान र घाँटीसमेतको शिविर गर्छौं ।’
उक्त कार्यक्रम सञ्चालनको लागि भक्तपुरको मध्यपुर थिमी नपा १ मनहरास्थित वीपी नेत्र प्रतिष्ठानसँग सम्झौता भएको नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्लाका सभापति मनोजकुमार थापाले जानकारी दिए ।
उक्त सम्झौताअनुसार आँखा जाँचपछि कुनै विद्यार्थीहरुलाई चस्मा आवश्यक परे कम्तीमा नौसय रुपैयाँ कार्यक्रममार्फत सहयोग गरिने उनले स्पष्ट पारे ।

‘२५ प्रतिशत बालबालिकामा दृष्टिदोष’

नेपाल सरकारले पछिल्लो समय गरेको एक अनुसन्धानको तथ्यांकमा २० देखि २५ प्रतिशत बालबालिकामा आँखाको दृष्टिदोषसम्बन्धी समस्या रहेको उल्लेख छ । सोही तथ्यांकको आधारमा नेपाल रेडक्रस सोसाइटीले बीपी नेत्र प्रतिष्ठानसँग सहकार्य गरेर उक्त कार्यक्रम अघि बढाएको निर्देशक अधिकारीले स्पष्ट पारे ।
उनका अनुसार उक्त कार्यक्रम आवश्यक भए नभएकोबारे रेडक्रस आफैले केही जिल्लामा नमुना अध्ययन गरेको थियो । जसमा बालबालिकामा आँखा टेढो हुने समस्या बढी देखिएको छ । त्यस्तै आँखाको ज्योति कम हुँदै पछि आँखै नदेख्ने बालबालिकासमेत भेटिएको उनी बताउँछन् ।
‘बालबालिकामा हुने आँखासम्बन्धी समस्या अभिभावक र शिक्षकहरुलाई समेत थाहा हुँदैन’, निर्देशक अधिकारी थप्छन्, ‘बच्चाहरुले पनि त्यति ख्याल गरेका हुँदैनन् । सुरुमा अलि अलि धमिलो देखियो भन्छन् । पछि उपचारमा ढिलो भएपछि आँखाको ज्योति नै गुमिसकेको हुन्छ ।’
उनले यसरी ‘सहपाठीद्वारा आँखा जाँच’ कार्यक्रमका क्रममा जटिल किसिमका आँखाका बिरामी देखापरे उनीहरुलाई कहाँ र कसरी रिफर गर्ने अथवा थप उपचारको के कस्तो बन्दोबस्त गर्ने भन्ने संयन्त्र निर्माणको लागि गृहकार्य भइरहेको जानकारी दिए ।
‘सोही संयन्त्रले आँखाको थप उपचारको लागि सम्बन्धित स्वास्थ्य संस्था वा अस्पतालमा सिफारिस गर्छ’, उनले थपे ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!