Connect with us

SOCIAL

आज गाथामोग चतुर्दशी

Avatar

Published

on

सेलाउन लगिँदै छ्वाली र नर्कटलगायतले बनाइएको गाथामोग । फाइल तस्बिर

गाथामोग पिचास होइनन् : संस्कृतिविद्

भक्तपुर । आज (मंगलबार) साउन कृष्ण चतुर्दशी । प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन हिन्दू परम्परामा गाथामोग एवं घन्टाकर्ण पर्व मनाइँदै आएको छ । यस पवएअन्तर्गत नगरका टोलटोल तथा गाउँका चौबाटो, तीनदोबाटो तथा दोबाटोमा छ्वाली तथा नर्कटले बनाइएका गाथामोगलाई जलाइन्छ । यसरी जलाइने गाथामोगलाई पिचासको संज्ञा दिने भ्रम व्याप्त छ ।
त्यस्तै गाथामोगलाई बालबालिका मारेर खाने राक्षसकोे रुपमा बढी चित्रण गरिएको पाइन्छ । समाजलाई दुःख दिने पात्रको रुपमा रहेको गठामुगलाई सोहीअनुसार दोबाटो र चौबाटोमा लगी जलाउने गरिन्छ । यसलाई जलाइसकेपछि बालबालिकालाई उसको खरानीको टीका लगाइदिने तथा त्यसलाई नाघ्न लगाइन्छ । यसो गर्दा बालबालिकामा रहेको डर भाग्ने तथा रुन्चे लागेको हट्ने जनविश्वास रहेको छ ।
तर संस्कृतिविद्हरु गाथामोग कुनै पिचास वा राक्षस नभई स्थानीय क्षेत्रमा रहेका भैरव तथा अन्य देवताको प्रतीक भएको बताउँछन् ।
उनीहरुका अनुसार गाथामोग अन्य देवीदेवताको नाम सुन्न नचाहने नास्तिक, सुनलाई भन्दा फलामलाई महत्व दिने व्यक्ति र भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने पात्र हुन् ।
‘विशेष गरी देवदेवीको नाम सुन्नुपर्ला भनी हरहमेशा आफ्ना कानमा ठूलाठूला घण्टा झुण्डाइराख्ने भएर उनको नाम घण्टाकर्ण भएको हो’, संस्कृतिकर्मी ओमप्रसाद धौभडेल भन्छन् ।
संस्कृतिकर्मी धौभडेलका अनुसार अहिलेसम्म भेटिएको प्रमाणमध्ये सबैभन्दा पुरानो गोपाल राजवंशावलीमा उल्लेख भएको गण्ठकर्ण चवदशबाट घण्टाकर्ण भएको हो ।
त्यस्तै ने.स. ६९१ मा लेखिएको हितोपदेश ग्रन्थमा पनि गण्ठकर्ण चवदश र ने.स. ७९२ को नेपालभाषाको एउटा गीतमा पनि स्पष्टसँग छ्वालीको घण्टासुर बनाई सेलाउने उल्लेख रहेको उनी बताउँछन् ।
ने.स. ८१८ मा भक्तपुर तलेजुस्थित मालती चोकमा भेटिएको एउटा शिलापत्रमा साउन शुक्ल चतुर्दशीलाई स्पष्टसँग गाथामोगल चवदश भनिएको पाइएको उनले बताए ।
गाथामोग च¥हेको दिन भक्तपुरको नवदुर्गा गणभित्र महादेवको उत्पत्ति हुने जनविश्वाससमेत रहेको छ । यसैलाई आधार मानी गाथा (नवदुर्गा गण बन्ने जाति) बाट शिवलिङ्ग स्थापना हुने भएकोले यस दिनलाई गाथामोग च¥हे भनिएको संस्कृतिकर्मीहरुको मत रहेको छ ।
यस हिसाबले गाथामोग कुनै राक्षस वा पिचास नभई महादेव भएको संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठको तर्क रहेको छ ।
‘हाम्रो संस्कृतिमा मार्ग कृष्ण चतुर्दशीलाई बाला चतुदर्शीले चिनिन्छ । जसका प्रमुख नायक बालासुर जो शिवकै एक रुप हो’, उनी भन्छन्, ‘चैत कृष्ण चतुदर्शी पिशाच चतुर्दशी हो, जसका अधिपति भूतप्रेत पिचास शिवकै गण हो । यता फागुन कृष्ण चुतर्दशी शिवरात्री त भगवान शिवकै पूजा आराधना गर्ने दिन हो । त्यसैले श्रावण कृष्ण चतुर्दशीको दिनका नायक गाथामोग पनि शिवकै रुप भएकोमा दुईमत हुन सक्दैन ।’
उनका अनुसार गाथामोगको आकृति हेर्दा उन्मक्त भैरवसँग मिल्दोजुल्दो छ । ‘उन्मक्त भैरव पनि महादेव नै हुन्’, उनी थप्छन् ।
यस दिन स्थानीय वासिन्दासँग मागेर ल्याइएको छ्वाली र नर्कटको सहायताले बनाइएको गाथामोगलाई नांग्लोमा लेखिएको विशाल डरलाग्दो मुखाकृति, कपडाबाट बनाइएका पुतलीहरुको माला, भोगटेलगायतले सिंगारिएर साँझको बेला स्थानीय दोबाटो र चौबाटोमा दहन गरेर गाथामोग पर्व मनाइन्छ ।
यस दिन नेवार बस्ती भएका भक्तपुरसँगै ललितपुर, काठमाडौं, काभ्रे, मकवानपुर, धनकुटालगायतका गाउँठाउँका एउटै दोबाटो दर्जनौं गाथामोग दहन गरिन्छ ।
यसरी भीमकाय परालबाट बनेको गाथामोग सेलाउन जाँदा गुठी तथा दाफाभजनका सदस्यहरुले बाजागाजा बजाउने तथा अन्यले छ्याली बालेर सँगसँगै गई विभिन्न अश्लील गालीहरु गर्ने गरिन्छ ।
पराल र नर्कटबाट बनेको गाथामोगलाई अश्लील र भद्दा देखाउन दुइटा ठूल्ठूला हरिया भोगटे र परालको डोरी बेरेर बनाएको डल्लो झुन्ड्याइन्छ । जसलाई पुरुषको जनेन्द्रीय अंगको प्रतीक मानिन्छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!