Connect with us

SOCIAL

‘सामाजिक सञ्जालमाथि नियन्त्रण किन हुँदैन ?’

Avatar

Published

on

समुदाय प्रहरी साझेदारीअन्तर्गत राजश्री गुरुकुलमा भएको प्रशिक्षण कार्यक्रमका सहभागी । तस्बिर तथा भिडियो : ईश्वरकाजी खाइजू

भक्तपुर । पछिल्लो समय अत्यधिक प्रयोग हुन थालेको सामाजिक सञ्जालमाथि नियन्त्रण वा नियमन गर्न सरोकारवालाहरुले माग गरेका छन् । यसको दुरुपयोगबाट समाजमा आपराधिक कृयाकलाप, लैंगिक हिंसा, शोषण, साइबर अपराध बढेको उनीहरुको तर्क थियो । त्यस्तै सामाजिक सञ्जाल आपराधिक समूहहरुको अपराध गर्ने दरिलो माध्यम भएकाले पनि यसलाई राज्यले नियन्त्रण गर्नुपर्नेमा उनीहरुले जोड दिए ।
समुदाय प्रहरी साझेदारीअन्तर्गत आइतबार भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकुल विद्यालयका विद्यार्थी तथा अभिभावकहरुलाई दिइएको प्रशिक्षणका सहभागीहरुले चीन सरकारले जस्तै नेपाल सरकारले सामाजिक सञ्जालमा नियन्त्रण गर्नुपर्ने माग गरे ।
‘सामाजिक सञ्जालमा सबैको सजिलै पहुँच छ । त्यसैले त्यसको दुरुपयोग अत्यधिक बढेको छ’, विद्यार्थीहरुले भने, ‘यसकै कारण समाजमा दिनानुदिन अपराध बढिरहेको छ । के सरकारले यसलाई चीनमा जस्तो नियन्त्रण गर्न सकिँदैन ?’
विद्यार्थी तथा अभिभावकहरुको जिज्ञासा मेटाउने क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजनीति राम्रो नभएसम्म व्यवस्था राम्रो नहुने सुनाए ।
पूर्वसंविधानसभा सदस्यसमेत रहेका प्रमुख प्रजापतिले प्रमुख, उपप्रमुख सांसद र मन्त्रीहरु नै आपराधिक गतिविधिमा लाग्ने नेपाल जस्तो देशमा सामाजिक सञ्जाललगायतका नियन्त्रण कल्पनाबाहिर भएको स्पष्ट पारे ।
उनले देश र समाजलाई छाडेर आफूमात्रै सुरक्षित हुन्छु, राम्रो हुन्छु भनेर नहुँदै बताउँदै बरु देश र समाज सुरक्षित र राम्रो भए आफू पनि सुरक्षित र राम्रो हुने स्पष्ट पारे ।
‘समयअनुसार अपराधका प्रकृति बढेका छन्’, प्रमुख प्रजापतिले भने, ‘तर अपराध हुन नदिनु हाम्रो पनि दायित्व हो । हामी बर्दीविनाका प्रहरी हौं ।’
उनले भक्तपुर नगरलाई अपराधमुक्त नगर बनाउने उद्देश्यले जनप्रतिनिधिहरुले काम गरिरहेको जानकारी दिए ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले समुदाय प्रहरी साझेदारी कार्यक्रमबारे विस्तृत जानकारी दिँदै समाज, विद्यालय, घरलगायतमा हुनसक्ने अपराधबारे जानकारी दिए ।

किन समुदाय प्रहरी साझेदारी ?यसो भन्नुहुन्छ महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधान ।

Posted by ईश्वरकाजी खाइजू on Sunday, June 16, 2019

उनले बलात्कारका घटनामध्ये ६४ प्रतिशत पीडित १८ वर्षमुनिका बालिका रहेको बताए ।
‘त्यसमाथि बलात्कारका पीडकमध्ये ७१ प्रतिशत पीडितका चिनेजानेकै व्यक्ति छन्’, प्रहरी उपरीक्षक प्रधानले भने, ‘घटनाले समाज, घर, विद्यालय कुनै पनि सुरक्षित नभएको देखाउँछन् ।’
प्रहरीमात्रै लागेर अपराध नियन्त्रण गर्न नसकिने भएकाले समुदाय पहिलो भन्ने अवधारणअनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम अघि बढेको उनको भनाइ थियो ।
गुरुकुलका प्रधानाध्यापक लियोन श्रेष्ठले गुरुकुलले किताबी ज्ञानमात्रै नभई व्यवहारिक र नैतिक शिक्षा दिँदै आएको बताए ।
समुदाय, अभिभावकप्रति विद्यालयको दायित्व हुने र सोही दायित्व पूरा गर्ने क्रममा समुदाय प्रहरी साझेदारीमा स्कुल आवद्ध भएको उनको भनाइ थियो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!