Connect with us

SOCIAL

महाशिवरात्री मान्न डोलेश्वरमा साधुसन्तको ओइरो

Published

on

महाशिवरात्री पर्व मनाउन भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर पुगेका साधुसन्त । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । महाशिवरात्री पर्व मनाउन भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा पुग्ने साधुसन्तको क्रमा बढेको छ ।
यहीं सोमबार परेको महाशिवरात्री पर्व मान्न शनिबारसम्म दुई सय आठ जना साधुसन्त मन्दिर पुगेको डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले जनाएको छ ।
समितिले शनिबार पत्रकार सम्मेलन गरी गएको वर्षजस्तै यस वर्ष पनि डोलेश्वर मन्दिर पुगेका साधुसन्तहरुको लागि सबै व्यवस्था गरिएको बताएको हो ।
समितिका सचिव विश्वराम थापाले यस वर्ष महाशिवरात्री पर्व मान्न करिब तीनसय नागा बाबा तथा साधुसन्त डोलेश्वर मन्दिर पुग्ने अनुमान गरिएको बताए ।
‘शनिबारसम्म दुई सय आठ जना नागाबाबा तथा साधुसन्त डोलेश्वर पुगिसकेका छन्’, उनले भने, ‘महाशिवरात्रीको दिनसम्म तीनसय नागाबाबा तथा साधुसन्त पुग्ने अनुमान गरेका छौं । सोहीअनुसार हामीले मन्दिर परिसरमा व्यवस्था गरेका छौं ।’
समितिले मन्दिर पुगेका नागाबाबा तथा साधुसन्तहरुलाई भोजन, कम्बल तथा धोती उपलब्ध गराएको छ । त्यस्तै धुनी जगाएर बस्न पर्याप्त काठ तथा दाउरा उपलब्ध गराइएको समितिका अध्यक्ष बालहरि चालिसेले जानकारी दिए ।
उनले महाशिवरात्रीको भोलिपल्ट मन्दिर पुगेका नागाबाबा तथा साधुसन्तहरुलाई दक्षिणा दिएर बिदाई गरिने सुनाए । जसअनुसार क वर्गको साधुसन्तलाई एक हजार एकसय एघार, ख वर्गकालाई सात सय ७७ र ग वर्गकालाई पाँचसय ५५ रुपैयाँ दक्षिण दिइने उनको भनाइ थियो ।
समितिका अनुसार अघिल्लो वर्ष दुई सय २० जना नागाबाबा तथा साधुसन्तलाई दक्षिणा दिएर बिदाई गरिएको थियो । त्यस्तै गत वर्ष दुई सय ६३ जनालाई दक्षिणा उपलब्ध गराइएको थियो ।
महाशिवरात्री पर्व मनाउन करिब ६ लाख रुपैयाँ खर्च हुने समितिका उपकोषाध्यक्ष हरिसरण बस्नेतले जानकारी दिए । उनका अनुसार भोजन, कम्बल, धोती, दक्षिणालगायत गरी मन्दिर पुगेका एकजना साधुसन्तलाई दुई हजार पाँच सय रुपैयाँ खर्च हुने गर्दै आएको छ ।

मन्दिर सर्वसाधारणलाई खुला

महाशिवरात्रीको दिन डोलेश्वर महादेव मन्दिर सर्वसाधारणको लागि पूर्ण रुपमा खुला हुने समितिले जनाएको छ । अरु दिन सर्वसाधारण पूजाको लागि गर्भगृह प्रवेश गर्न पाउँदैनन् ।
समितिले महाशिवरात्री, अक्षय तृतीया र भाद्र ६ गते गरी तीन दिनमात्रै सर्वसाधारणलाई मन्दिरको गर्भगृहसम्म प्रवेश गरेर पूजा गर्न पाउने व्यवस्था गरेको हो ।
महाशिवरात्रीको दिन चार प्रहरको विशेष पूजा हुने मन्दिरका मुख्य पुजारी बच्चुराम जंगमले जानकारी दिए ।
‘महाशिवरात्रीको दिन साँझपख चार प्रहरको विशेष पूजा हुन्छ’, उनले भने, ‘अरु पूजामा बिहान दैनिक नित्यपूजा’ अपरान्ह पूजा, साँझ आरतीपूजा हुन्छ ।’
मन्दिरभित्र यी पूजा हुँदा सर्वसाधारणको पूजा भने रोकिने मुख्य पुजारी जंगमले बताए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!