Connect with us

SOCIAL

घरबाट हिँडेकी महिला पोखरीमा मृत फेला

Avatar

Published

on

भक्तपुर नपा २ ठूलो व्यासीस्थित पोखरीबाट झिकिएकी महिलाको लास । तस्बिर : इन डेप्थ

भक्तपुर । घरमा खाना पकाएर नखाइकनै हिँडेकी एक महिला शुक्रबार बिहानै जिल्लाको भक्तपुर नगरपालिका २ ठूलो व्यासीस्थित पोखरीमा मृत फेला परेकी छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नपा ३ बहताल बस्ने ४९ वर्षीया गंगा छुकां पोखरीमा मृत अवस्थामा भेटिएका हुन् । पोखरी रहेको ठूलो व्यासी गंगाको माइती हो । माइतीघर नपुग्दै उनी माइती बाटो पर्ने पोखरीमा मृत फेला परेपछि घटना शंकास्पद हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रेवतीरमण पोखरेलका अनुसार बिहीबार साँझ घरपरिवारको लागि खाना पकाएका गंगा आफू खाना नखाइकनै घरबाट हिँडेकी थिइन् ।
पकाएको खाना नखाइकन हिँडेकी उनलाई बिहीबार साँझै नै सबैतिर खोजतलास खाए नभेटिएको घरपरिवारले जानकारी दिएको डीएसपी पोखरेलले बताए ।
उनका अनुसार घरपरिवारमा झगडा भएकोले गंगा घरबाट हिँडेको हुनसक्छ ।
‘घरपरिवारले दिएको जानकारीअनुसार बिहीबार साँझ खाना पकाइसकेपछि नखाइकन गंगा घरबाट हिँडेकी थिइन्’, उनले भने, ‘घरबाट निस्केपछि घरपरिवारले उनलाई खोज्न गएको बताएका छन् । खोज्न पनि सिद्धपोखरी, भाजु पोखरी, नःपुखु (गुह्य पोखरी) तिर गएको बताएका छन् । यस हिसाबले घरमा झगडा भएको हुनसक्ने हाम्रो अनुमान छ ।’
उनले आत्महत्या हो कि हत्या हो, त्यससम्बन्धमा अनुसन्धान तीव्र बनाइएको जानकारी दिए ।
डीएसपी पोखरेलका अनुसार शुक्रबार बिहान ठूलो व्यासीका स्थानीयले पोखरीमा एक महिला घोप्टो परी मृत अवस्थामा रहेको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेका थिए । पोखरीबाट लास निकालिई पोस्टमार्टमको लागि भक्तपुर अस्पताल पठाइएको छ ।
पोस्टमार्टमको रिपोर्ट आएपछि मात्रै घटनाबारे यथार्थ विवरण दिन सकिने भक्तपुर प्रहरीले जनाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!