भक्तपुर । भक्तपुर जिल्लालाई बेवारिसे सडक मानवमुक्त जिल्ला घोषणा गर्न सरोकारवालाहरुले माग गरेका छन् ।
जिल्लास्थित चाँगुनारायण नगरपालिकाले आयोजना गरेको बेवारिसे सडक मानव व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा उनीहरुले कुनै व्यक्ति बेवारिसे भई सडकमा आए तत्काल सम्बन्धित नगरपालिकाले उद्धार गर्न सके भक्तपुर बेवारिसे सडक मानव मुक्त हुने दावी गरेका हुन् ।
सडकमा बेवारिसे मानव छाड्ने व्यक्ति एवं परिवारलाई सम्बन्धित नगरपालिकाले दिने सेवासुविधाबाट बञ्चित गर्नुपर्ने उनीहरुको माग थियो ।
‘सडकमा आएका बेवारिसेको उद्धार र पुनस्थार्पना सँगसँगै सडकमा आउनै नदिने वातावरण निर्माण गर्नुपर्छ’, उनीहरुको भनाइ थियो ।
संविधानमै बेवारिसे सडक मानवको उद्धार तथा पुनस्र्थापनाको जिम्मा स्थानीय तहलाई दिइएको उनीहरुको जोड थियो । उनीहरुले नगरपालिका आफैले त्यस्तो व्यवस्थापन गर्न नसके काम गर्दै आएका संघसंस्थालाई सहयोग गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले बेवारिसे सडक मानवको व्यवस्थापन गर्न भक्तपुरका चारवटै नपाहरुले संयुक्त रुपमा काम गर्नुपर्ने सुझाव दिए ।
चाँगुनारायण नपाका प्रमुख सोमप्रसाद मिश्र र सूर्यविनायक नपाकी उपप्रमुख जूना बस्नेतले नपाको नगरसभाबाट बेवारिसे सडक मानवको व्यवस्थापनसम्बन्धी नीति तथा कार्यक्रम ल्याउन पहल गर्ने बताए ।
चाँगुनारायण नपा ७ खरिपाटीस्थित मानव कल्याण समाजको समन्वयमा भएको कार्यक्रममा समाजकी अध्यक्ष सुमित्रा चौलागाईंले ३५ जना बेवारिसे सडक मानवहरुको उद्धार गरी हेरचाह तथा व्यवस्थापन गर्दै आएको जानकारी दिइन् ।
समाजको सेवाघरमा बस्दै आएकाहरु जन्मदर्ता प्रमाणपत्र, नागरिकतालगायतका कानुनी कागजातको अभावमा राज्यबाट दिने सेवासुविधाबाट बञ्चित हुँदै आएको उनी बताउँछन् ।
समाजको सेवाघरमा दुई महिने शिशुदेखि ७० वर्षका ज्येष्ठ नागरिकसम्मको हेरचाह गरिएको छ । त्यस्तै अपांगता भएका व्यक्तिहरुसमेत सेवाघरमा छन् । ‘तर नागरिकता नहुँदा राज्यले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ताबाट तिनीहरु बञ्चित हुँदै आएका छन्’ समाजकी अध्यक्ष चौलागाईंले भनिन्, ‘त्यसैले नगरपालिकाले उनीहरुलाई जन्मदर्ता, नागरिकताको व्यवस्था गरी सामाजिक सुरक्षाभत्ता पाउने व्यवस्था गर्नुपर्छ ।’
उनले सेवाघर सञ्चालनको लागि घरभाडा र औषधापचारको लागि आर्थिक समस्या हुँदै आएको सुनाइन् ।
कार्यक्रमका गैसस महासंघका केन्द्रीय सदस्य बालमुकुन्द सुवालले नगरपालिकाले जग्गा उपलब्ध गराए सेवाघरको लागि भवन बनाइदिने सहयोगीहरु धेरै रहेको जानकारी दिए ।