Connect with us

SOCIAL

छिन्नमस्ता द्योछें बन्न सकेन अमात्य सत्तल

Avatar

Published

on

भक्तपुरको चाँगुनारायण मन्दिर परिसरस्थित पुनर्निर्माण भइरहेको अमात्य सत्तल । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । पुरातत्व विभागले २० वर्षको लागि निजी प्रयोगमा दिएको चाँगुनारायण मन्दिरको चौघेरा सत्तलमध्ये एक अमात्य सत्तललाई छिन्नमस्ता देवीको द्योछें बनाउन माग गरिएको छ ।
स्थानीय गुठीयार एवं छिनमस्ता मन्दिरका पुजारीले विभागमा निवेदन दिँदै परापूर्वकालदेखि नै उक्त सत्तल द्योछेंको रुपमा प्रयोग हुँदै आएकोले अहिले पनि द्योछें नै हुनुपर्ने माग गरेका हुन् ।
२०७२ साल बैशाख १२ को भूकम्पमा भत्किएको उक्त सत्तलको अहिले पुनर्निर्माण भइरहेको छ । भूकम्पअघि नै विभागसँगको सम्झौताअनुसार उक्त सत्तलमा निजी तवरमा लिभिङ टे«डिसन म्युजियम सञ्चालन थियो । हाल सम्पदा तथा वातावरण संरक्षण फाउन्डेसनले दातृ निकायको सहयोगमा उक्त सत्तल पुननिर्माण गरिरहेको हो । भूकम्पमा भत्किएको करिब तीनवर्षपछि पुनर्निर्माण सुरु गरिएको थियो तर बजेट अभाव भन्दै करिब १० महिना रोकिएको सत्तल पुनर्निर्माण अहिले पुनः अघि बढिरहेको छ । निजी प्रयोजनको लागि पुनर्निर्माण गरिएको उक्त सत्तलको लागि चाँगुनारायण नपाले १८ लाख रुपैयाँ सहयोग गरेपछि स्थानीय गुठियार तथा छिन्नमस्ता मन्दिरका पुजारीले उक्त सत्तल पहिलेकै अवस्थामा छिन्नमस्ता मन्दिरको द्योछेंको रुपमा प्रयोगमा आउनुपर्ने माग गरेका हुन् ।
‘अमात्य सत्तल परापूर्वकालदेखि नै छिन्नमस्ता देवीको द्योछेंको रुपमा प्रयोग हुँदै आएको हो’, मन्दिरका पुजारी प्रचण्ड कर्माचार्यले भने, ‘तर २०५७÷५८ सालमा विभाग र लिभिङ ट्रेडिस्नल म्युजियमबीच सम्झौता गरेर पुनर्निर्माण गरिएपछि छिन्नमस्ता देवी राख्न दिइएन् ।’
त्यसबेला धेरै संघर्ष गरेपछि सत्तलको एउटा कोठामा छिन्नमस्ता देवी राख्न दिइए पनि पछि म्युजियम सञ्चालकहरुले विवाद गर्न थालेपछि देवी नै सार्न बाध्य भएको पुजारी कर्माचार्य बताउँछन् ।
उनका अनुसार उक्त सत्तलमा छिन्नमस्ता देवी विराजमानमात्रै हुँदैनन्, पुजारीसमेत उक्त सत्तलमै बसेर दैनिक पूजाआजालगायत व्यवस्थापन गर्दै आएका थिए ।
‘छिन्नमस्ता देवीका द्योछें नै भएकाले अमात्य सत्तलमै दसैंको जमरा राख्ने, पूजाआजासमेत त्यहीं हुन्छ । छिन्नमस्ता देवीको जात्रासमेत यहीं द्योछेंबाट हुँदै आएको थियो’, स्थानीय जनार्दनभक्त श्रेष्ठ भन्छन्, ‘तर विभागले निजी क्षेत्रलाई अमात्य सत्तल दिइएपछि ती कार्यहरु त्यहाँबाट हुन सकेका छैनन् । त्यसैले पुनर्निर्माण सकिएपछि अमात्य सत्तल छिन्नमस्ता देवीको द्योछेंकै रुपमा प्रयोग हुनुपर्छ ।’
पुस्तौंदेखि छिन्नमस्ता देवीको पूजाआजा, जात्रा सञ्चालन गरिँदै आएकोले उक्त सत्तल निजी क्षेत्रलाई दिन नहुने उनको जोड थियो ।
मन्दिरका पुजारी कर्माचार्यले सत्तलको दक्षिणको जग्गा आफूहरुको नाउँमा रहेकै आधारमा पनि अमात्य सत्तल छिन्नमस्ता देवीकै द्योछें भएको प्रमाणित हुने जिकिर गर्छन् ।
‘एक कवलको अमात्य सत्तल २०५८ सालमा सत्तल पुनर्निर्माण गरिँदा हाम्रै जग्गामा अर्को एक कवल थपेर दुई कवल बनाइएको थियो’, उनले भने ।
उनका अनुसार त्यसबेला छिन्नमस्ताका पुजारी रहेका उनका पिता सोभितमान कर्माचार्यलाई विभागअन्तर्गत भक्तपुरमा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका तत्कालीन प्रमुख अरुणा नकर्मीले अमात्य सत्तल छिन्नमस्ता देवीकै द्योछें भएकाले पुनर्निर्माणपछि पुजारीहरुलाई नै हस्तान्तरण गर्ने मौखिक बचन दिएकी थिइन् । तर उक्त वचनविपरीत म्युजियम चलाउन दिइएको पुजारी कर्माचार्यको भनाइ छ ।
तर उक्त मौखिक वचनलाई आधार मान्न नसकिने कार्यालयका प्रमुख मोहनसिं लामा बताउँछन् । २०५७÷५८ सालमै विभागले लिभिङ ट्रेडिसनलाई २० वर्षको लागि भोगाधिकार दिइसकेकाले तत्काल उक्त सत्तलबारे अरु निर्णय हुन नसकिने उनले स्पष्ट पारे ।
तर छिन्नमस्ता देवी राख्न तथा पूजाआजा र जात्रा व्यवस्थापन गर्न सत्तलको भुईतलाको दुइटा कोठा भने दिन सकिने उनले सुनाए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!