Connect with us

POLITICS

उपभोक्ता समितिमाथि सूर्यविनायक नपा कठोर बन्दै

Published

on

सूर्यविनायक नपाको तेस्रो नगरसभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनका सहभागी ।

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले पाँच लाख रुपैयाँभन्दा बढीका योजना प्रतिस्पर्धाबाट गराइने भएको छ ।
स्थानीय उपभोक्ता समितिले लगेका योजनाहरुसमेत धमाधम निर्माण व्यवसायीमार्फत हुन थालेपछि नपाले आर्थिक वर्ष २०७५/७६ देखि यस्तो व्यवस्था गर्न लागेको हो ।
नपाको तेस्रो नगरसभाबाट पारित आर्थिक वर्ष २०७५/७६ को बजेट, नीति तथा कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख वासुदेव थापाले उपभोक्ता समितिलाई दिएको योजना पनि निर्माण व्यवसायीले गर्ने भएकाले सीधै निर्माण व्यवसायीलाई दिने गरी पाँच लाखभन्दा बढीका योजना प्रतिस्पर्धामा लाने नीति लिइएको जानकारी दिए ।
प्रतिस्पर्धामा जाँदा काम पनि गुणस्तरीय हुने र बजेट पनि बच्ने उनको दावी थियो ।
‘प्रतिस्पर्धामा जाँदा योजनाको काम पनि गुणस्तरीय हुन्छ’, नगर प्रमुख थापाले भने, ‘बजेट पनि उब्रिन्छ । उब्रिएको बजेटले थप योजना सञ्चालन गर्न पाइन्छ ।’
चालू आवमा उपभोक्ता समितिले लगेका अधिकांश योजना निर्माण व्यवसायीमार्फत गरिएका थिए । नपास्थित योजना अनुगमन तथा मूल्यांकन समितिले नै यस्तो अवस्था देखेपछि उपभोक्ता समितिमार्फत निर्माण व्यवसायीबाट विकास निर्माण गर्नुभन्दा नपाले नै सीधै निर्माण व्यवसायीमार्फत विकास निर्माणका योजना सम्पन्न गर्ने भएको आर्थिक पूर्वाधार विकास समितिका संयोजक एवं वडा नं ७ का अध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए ।
उपभोक्ता समितिले नै निर्माण व्यवसायीमार्फत काम गराउँछ भने विकास निर्माणमा दुईतीन तह आवश्यक नभएको उनको भनाइ थियो ।
उपभोक्ता समितिलाई विकास निर्माणका योजनाको रकम दिनुअघि अभिमुखीकरण कार्यक्रम गर्ने नपाको नीति भए पनि त्यो कार्यान्वयन नहुँदा समस्या देखिएको उनको भनाइ थियो ।
कार्यक्रममा नपाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले सहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा सूर्यविनायक नपाको १५ वर्षे एकीकृत सहरी विकास योजना निर्माण प्रक्रिया अघि बढेको जानकारी ीदए ।
उक्त योजनाले भूउपयोग नीतिलाई सम्बोधन गर्दै नगरको समग्र विकासको खाका समेट्ने उनको भनाइ थियो ।
कार्यक्रममा सञ्चारकर्मीहरुले सूर्यविनायकमा विभिन्न मन्त्रालय र योजना आयोगमार्फत नगरपालिकाको बजेटसँगै समानान्तर बजेटमार्फत विकास निर्माणका काम भइरहेकोबारे नगरपालिका जानकार भए नभएकोबारे ध्यानाकर्षण गरेका थिए ।
सूर्यविनायकमा पहँुचको भरमा विभिन्न मन्त्रालय र योजना आयोगबाट सीधै विभिन्न योजनाका काम भइरहेको सञ्चारकर्मीहरुको भनाइ थियो ।
उक्त सम्बन्धनमा नगर प्रमुख थापाले सूर्यविनायक नपामा विभिन्न मन्त्रालय तथा योजना आयोगबाट सीधै योजना सञ्चालन भए पनि दोहोरिन नदिन नपा सचेत रहेको जानकारी दिए ।
उनले सूर्यविनायकमा विकास निर्माणका योजना ल्याइँदा सबैलाई नपासँग समन्वय गर्न ध्यानाकर्षण गरेको स्पष्ट पारे । त्यस्तै नपाको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमसँगै बजेट बनाउँदासमेत विकास साझेदार व्यक्ति तथा संघसंस्थासँग समन्वय गरिएको उनको भनाइ थियो ।
तेस्रो नगरसभाले नपालाई अत्यावश्यक पाँच वटा ऐनकानुन तर्जुमा गरेको छ । उसले शिक्षा, नगर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, न्यायिक समिति, सहकारीसम्बन्धी ऐनकानुन पारित गरेको हो ।
त्यस्तै भवन निर्माण मापदण्ड, स्थानीय ऊर्जा विकास, योजना अनुगमन तथा सञ्चालन, नगर प्रहरी, पूर्वाधार मर्मत सम्भार, सार्वजनिक जग्गा संरक्षण तथा उपयोग, सम्पत्ति कर व्यवस्थापन, नपाको स्थानीय सेवा सञ्चालन र घ वर्गको निर्माण व्यवसाय नियमन गर्ने जस्ता नौ वटा कार्यविधि एवं निर्देशिका तर्जुमा गरी नगरसभाबाट पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत तिम्सिनाले जानकारी दिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!