Connect with us

POLITICS

भक्तपुरका चारवटै नपामा पाँच दलको संयुक्त संयन्त्र

Published

on

संसद विघटनविरुद्ध भक्तपुर नगर क्षेत्रमा कालोझण्डा फहराइँदै ।

भक्तपुर । प्रतिनिधिसभा विघटनविरुद्ध एकजुट भएका पाँच दलले भक्तपुरका ४ वटै नपामा संयन्त्र गठन गरेका छन् । जिल्लास्तरीय संयन्त्र गठन गर्दैै आन्दोलनसमेत घोषणा गरिसकेका नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको माधव नेपाल समूह र जनमोर्चा नेपालले नगरस्तरीय संयन्त्र गठन गरेका हुन् ।
असंवैधानिक प्रतिनिधिसभा विघटनविरुद्ध नगर र नगरका वडा तहसम्म आन्दोलन गर्न नगरस्तरीय संयन्त्र बनाइएको नेपाली कांग्रेस भक्तपुरका उपसभापति हरिप्रसाद नेपालले जानकारी दिए ।
उनका अनुसार संसद विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको असंवैधानिक कदमको विरोध गर्न प्रत्येक दलबाट २–२ जना प्रतिनिधि रहने गरी भक्तपुरमा जिल्लास्तरीय संयन्त्र निर्माण गरिसकिएको छ । सोही संयन्त्रको बैठकले भक्तपुरका ४ वटै नपामा समेत नगरस्तरीय संयन्त्र विस्तार गरिएको उपसभापति नेपालले बताए ।
उनकाअनुसार भक्तपुर नगरमा कांग्रेसका रामप्रसाद कासुला, माओवादी केन्द्रका सुनिल गोथे, जनमोर्चाका दिनेश गोसाई, जनता समाजवादीका सुरेन्द्रविक्रम ध्वान्जू र एमाले माधव नेपाल समूहका रामगोपाल चगुठी रहेको संयन्त्र बनाइएको छ ।
मध्यपुर थिमि नपामा गठन गरिएको संयन्त्रमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ, माओवादी केन्द्रका कृष्णलाल गोजा श्रेष्ठ, जनमोर्चाका भीम श्रेष्ठ, जनता समाजवादीका सरोज घजू र एमाले माधव नेपाल समूहका प्रेमानन्द श्रेष्ठ रहेका छन् ।
चाँगुनारायण नपामा कांग्रेसका शिवहरि केसी, माओवादी केन्द्रका रामशरण दाहाल, जनता समाजवादीका सरोज फुयाल र एमाले माधव नेपाल समूहका वासुदेव खड्का रहेको संयन्त्र गठन गरिएको छ ।
त्यस्तै सूर्यविनायक नपामा कांग्रेसका बालकृष्ण थापा, माओवादी केन्द्रका जीवन तज, जनमोर्चाका उत्तम सापकोटा, जनता समाजवादीका रमेश बञ्जाडे र एमाले माधव नेपाल समूहका दीपक बिसुन्के रहेको संयन्त्र गठन गरिएको छ ।
पाँचदलीय संयन्त्रले संसद विघटनविरुद्ध बिहीबार बेलुका ७ बजे आआफ्नो घरको कौसी वा झ्यालबाट रितो थाल बजाउने आन्दोलनसमेत घोषणा गरिसकेका छन् ।
नगरस्तरमा गठन भएका संयन्त्रले बिहीबार आआफ्नो नगरका वडा वडामा प्रतिगमन २ विरुद्ध कालो झन्डा फहराएका छन् । भक्तपुरमा गठित संयन्त्रका प्रतिनिधि एवं नेपाली कांग्रेस भक्तपुर नगरका सभापति रामप्रसाद कासुलाले भक्तपुर नपाका १० वटै वडामा कालो झण्डा फहराइएको जानकारी दिए ।
उनले कालोझण्डासँगै पाँचदलको संयुक्त प्रेसविज्ञप्तिसमेत टाँस गरिएको बताए ।
संयन्त्रमा सहभागी पाँचदलका नगरस्तरीय नेता तथा कार्यकर्ताहरु बिहीबार बिहानै वर्षामा रुझेरै वडाका मुख्यमुख्य ठाउँमा कालो झण्डा फहराएका छन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!