Connect with us

POLITICS

हुने नै भयो भक्तपुरको बिस्का जात्रा

Avatar

Published

on

बिस्का जात्रा गर्न नदिने निर्णयविरुद्ध पाँचतले मन्दिरमा मैनबत्ती बालेर विरोध गर्दै स्थानीय । तस्बिर : राजेश दिदिया

भक्तपुर । व्यापक जनदबाबपछि भक्तपुर नगरपालिकाले बिस्का जात्राअन्तर्गत भैरवनाथ र भद्रकालीको रथ तान्ने, योसिङ (लिंगो) ठड्याउने तथा ढाल्ने जात्रा नरोक्ने भएको छ ।
भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवाल र प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको उपस्थितिमा बुधबार भएको भक्तपुर नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले बिस्का जात्रा गर्न दिने निर्णय गरेको हो ।
यसअघि चैत २२ गते बसेको प्रमुख जिल्ला अधिकारी भट्टराई नेतृत्वको जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी) को बैठकले बिस्का जात्राअन्तर्गत रथ तान्ने तथा योसिङ ठड्याउने जात्रा रोक्ने निर्णय गरेको थियो । भक्तपुर नगरस्तरीय विपद् व्यवस्थापन समितिको चैत २३ गतेको बैठकले पनि डीसीसीएमसीकै निर्णयलाई सदर गर्दै बिस्का जात्राअन्तर्गत रथ तान्ने तथा योसिङ ठड्याउने जात्रा रोक्ने निर्णय गरेको थियो ।
डीसीसीएमसी र भक्तपुर नगरपालिकाले बिस्का जात्रा रोक्ने निर्णय गरेलगत्तै बिस्का जात्रा सञ्चालन गर्नुपर्ने माग गर्दै भक्तपुरमा स्वःस्फुर्त प्रदर्शन हुँदै आएको छ । राजनीतिक सभा सम्मेलन, मेला नरोक्ने तर कोभिड १९ देखाएर जात्रामात्रै रोक्ने निर्णय फिर्ता लिन स्थानीयले व्यापक जनदबाब दिँदै आएका थिए । स्थानीयले जनदबाबस्वरुप बिस्का जात्रा रोक्न नपाइने भन्दै भक्तपुरको जिल्ला प्रशासन कार्यालय र भक्तपुर नगरपालिका कार्यालय घेराउसमेत गरेका थिए ।
त्यस्तै उनीहरुले प्रमुख जिल्ला अधिकारी भट्टराई र भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिलाई भेटेर जात्रा कुनै पनि हालतमा नरोक्ने चेतावनीसमेत दिएका थिए । सोही आधारमा भक्तपुर नगरस्तरीय विपद् व्यवस्थापन समितिले दुई दिनअघि गरेको आफ्नै निर्णयलाई उल्ट्याउँदैे बुधबार बिस्का जात्राअन्तर्गत भैरवनाथको रथ तान्ने र योसिङ ठड्याउने जात्रा गर्ने निर्णय गरेको हो ।

बिस्का जात्राअन्तर्गत योसिङ ठड्याउनको लागि व्यवस्था गरिएका दुई लिंगो काठ ।

बैठकले ती जात्रा कोभिड १९ रोगको संक्रमणको जोमिखलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरेको छ ।
जात्रा सञ्चालनको प्रत्यक्ष प्रशारण टेलिभिजन, रेडियो एफएम र सामाजिक सञ्जालमार्फत गर्ने निर्णयसमेत गरिएको छ ।
बैठकले जात्रा अवधिमा शान्ति सुरक्षाको सबै बन्दोबस्त जिल्लास्थित सुरक्षा निकायमार्फत गर्ने बताएको छ ।

भैरवनाथको रथ ।

आठ दिन नौरातसम्म चल्ने भक्तपुरको बिस्का जात्रा यस वर्ष यहीं चैत २८ गतेदेखि सुरु हुँदैछ । त्यसको लागि भक्तपुर नपा ५ टौमढीमा भैरवनाथ तथा भद्रकालीको रथ निर्माण पूरा गरिसकिएको छ ।
त्यस्तै भक्तपुर नपा ५ कै योसिंखेलमा योसिङको लागि ५५ हात लामा दुई लिंगो काठको व्यवस्था भइसकेको छ ।

भद्रकालीको रथ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!