Connect with us

POLITICS

बिस्का जात्रा नरोक्न माग गर्दै स्वस्फुर्त प्रदर्शन

Avatar

Published

on

भैरवनाथको रथको सुरक्षा चुनौतीपूर्ण : पछि हट्यो भक्तपुर नपा

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का जात्रा रोक्ने निर्णयको विरोधमा सोमबार भक्तपुरको टौमढी क्षेत्रमा स्वस्फुर्त सयौंले प्रदर्शन गरेका छन् । उनीहरुले कोभिड १९ को बहानामा नेपालभाषी समुदायको जात्रा, पर्वमात्रै रोक्न नपाइने भन्दै आक्रोश पोखेका छन् ।
बिस्का जात्राको लागि तयार गरिएको भैरवनाथ तथा भद्रकालीको रथलाई साक्षी राखेर उनीहरुले प्रहरी प्रशासनले जात्रा गर्न नदिए राम्रो नहुने चेतावनीसमेत दिएका छन् ।
प्रदर्शनका सहभागीहरुले भक्तपुरको प्रसिद्ध बिस्का जात्रा र जिब्रो छेड्ने जात्रा हुनैपर्ने माग गरेका छन् । उनीहरुले बिस्का जात्रा गर्नैपर्ने मागलगायतका प्लेकार्ड बोकेका छन् । त्यस्तै सभा, जुलुस र रंगशालामा कोरोना नसर्ने, हाम्रो जात्रामा कोरोना सर्ने भन्ने प्रश्न उठाएका छन् । कोरोनाको नाउँमा जात्रा पर्व रोक्नेहरुलाई खबरदारी गर्दै उनीहरुले जात्रा गर्ने निर्णय नगरिएसम्म शान्तिपूर्ण प्रदर्शनलाई जारी राख्ने बताएका छन् ।
प्रदर्शनमा सहभागी रमेश श्रेष्ठले के कसरी शान्तिपूर्ण र व्यवस्थित जात्रा सञ्चालन गर्न सकिन्छ भन्नेतर्फ कुनै छलफल र विचार विमर्श नगरी सीधै जात्रा रोक्ने प्रशासन र नगरपालिकाको निर्णय मान्न नसकिने बताए ।
भक्तपुरमै हजारौं सहभागी भएको व्यापार मेला निर्वाध चल्ने तर आफ्नै जात्रापर्व र परम्परा रोक्ने सरकारी कर्मचारी तथा जनप्रतिनिधिहरुको नियत सही नभएको उनको भनाइ थियो ।
भक्तपुर नपा ७ स्थित माहेश्वरी खेल मैदानमा एकसातादेखि व्यापार मेला सञ्चालन भइरहेको छ ।
‘राजनीतिक दलका विभिन्न सभा सम्मेलनसमेत निर्वाध चलिरहेको छ’, अर्का सन्तोष सुवालले भने, ‘तर बिस्का जात्रा मात्रै किन रोक्नुपर्ने ? यसलाई सुरक्षित सञ्चालन गर्ने उपाय छैन ?’
उनले विकल्प छँदाछँदै जात्रालाई निषेध गर्दा परिणाम राम्रो नआउने चेतावनी दिए ।
उनले भैरवनाथ र भद्रकालीको रथ निर्माण पूरा भइसकेको अवस्थामा बिस्का जात्रा रोकेर रोक्न नसकिने जिकिर गरे ।
‘बिस्का जात्राको मुख्य आकर्षण भैरवनाथको रथ तान्नु हो । जसअनुसार उक्त रथ निर्माण भइसकेकाले बिस्का जात्रा रोक्न सम्भव छैन’, सुवालले भने, ‘लिंगो पनि तयार नै छ । त्यसलाई ठडिनबाट रोक्न अब सजिलो छैन । प्रशासन र नपाले जात्रा रोक्ने निर्णय गरे पनि कार्यान्वयन गर्न सजिलो हुनेछैन ।’

भैरवनाथको रथको सुरक्षा चुनौतीपूर्ण : कर्माचार्य

यता गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले निर्माण पूरा भइसकेको भैरवनाथ र भद्रकालीको रथ पुनः बिगार्न अब सम्भव नभएको बताए । उनले बिस्का जात्रामा रथ तान्ने वा नतान्ने तथा लिंगो ठड्याउने वा नठड्याउने भन्नेबारे गुठी संस्थानले निर्णय नगर्ने स्पष्ट पारे ।

‘गुठी संस्थानको काम बिस्का जात्राको लागि आवश्यक रथ बनाउने र लिंगोको लागि काठको व्यवस्था गर्ने हो । जुन पूरा भइसक्यो’, प्रमुख कर्माचार्यले भने, ‘रथ तान्ने कि नतान्ने र लिंगो ठड्याउने कि नठड्याउने भन्ने निर्णय गुठीले गर्दैन ।’
उनले बिस्का जात्रा नगर्ने प्रशासन र नपाको निर्णयकै आधारमा अब भैरवनाथको रथको सुरक्षा चुनौतीपूर्ण बताए ।
उनले जिल्ला प्रशासन र भक्तपुर नगरपालिकामा भएका बैठकमा बिस्का जात्राको सम्पूर्ण तयारी भइसकेकाले जात्रा रोक्न चुनौतीपूर्ण हुने अवगत गराउँदा पनि सुनुवाइ नभएको जानकारी दिए ।
त्यसैले बिस्का जात्रा रोक्ने निर्णय गरिएको आधारमा भैरवनाथको रथ र लिंगोको सुरक्षा गर्न प्रशासन र नपाले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

भक्तपुर नपा पनि पछि हट्यो !

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी) ले बिस्का जात्रा रोक्ने निर्णय गरे पनि भक्तपुर नपाको नगरस्तरीय संकट व्यवस्थापन समितिले बिस्का जात्रालाई निरन्तरता दिने धेरैको अपेक्षा थियो । तर भक्तपुर नपाले पनि डीसीसीएमसीकै निर्णयलाई सदर गर्दै बिस्का जात्रालाई औपचारिकतामै सीमित गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले बिस्का जात्राअन्तर्गत भक्तपुरका टोलटोलमा हुने सहायक जात्रा भने सञ्चालन गर्ने निर्णय गरेको छ ।
आठ दिन नौरातसम्म चल्ने भक्तपुरको बिस्का जात्रा यस वर्ष यहीं चैत २८ गतेदेखि सुरु हुँदैछ । त्यसको लागि भक्तपुर नपा ५ टौमढीमा भैरवनाथ तथा भद्रकालीको रथ निर्माण पूरा गरिसकिएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!